वन अधिकृतसहित दुईविरुद्ध घुस मुद्दा
काठमाडौं : सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी बर्दघाट (सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरीसमेत दुईविरुद्ध घुस मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६५ हजार घुससहित पक्राउ भएका सहायक वन अधिकृत चौधरी र मनोजकुमार शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। शर्मा वन कार्यालय रहेको घरका मालिक हुन्।
घरधनी शर्माले डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए।
सहायक वन अधिकृत चौधरीले वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टर र ट्याक्टर चालकलाई छुटाई मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग पटकपटक घुस रिसवत माग गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरुविरुद्ध ६५ हजार विगो कायम गर्दै गभ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।