‘लभरब्वाई’ बिनाको जिन्दगी

‘लभरब्वाई’ बिनाको जिन्दगी

दसैंको छेको पारेर रिलिज भएको थियो, फिल्म ‘रातो टीका निधारमा’। निर्माता-निर्देशक अशोक शर्माको ‘रातो टीका निधारमा’ फिल्ममा बुद्घि तामाङ ‘हैट’को जोडी भएर खेल्ने नायिका खुश्बु खड्कालाई धेरैले नोटिस गरे।

विगत एक दशकदेखि खुश्बु नेपाली फिल्म उद्योगमा छिन्। तर उनको चर्चा परिचर्चा खासै सुनिँदैन। खुबी भएर पनि ओझेलमा छिन् उनी। उनी अभिनीत पहिलो फिल्म ‘सुकुलगुण्डा’ रिलिज हुनै ढिलो भएपछि छुक लागेजस्तो भयो। खुश्बु भन्छिन्, ‘फिल्म उद्योगमा कसरी, कुन ब्यानरबाट इन्ट्री गरियो, कसरी डेब्यु गरियो ? त्यसले पनि चर्चा हुने, नहुने भर पर्दो रहेछ।’

ऋषि लामिछानेको ‘भूमि’ फिल्मको ‘हाम्रो माया जुनी जुनीलाई’ बोलको गीतमा नृत्य गरेर उनी कलिउडमा छिरेकी थिइन्। ‘उहिलेको बाजेको पालामा’, ‘भ्रम’, ‘दीपज्योति’ लगायत फिल्ममा अभिनय गरेकी खुश्बु खेलमा पनि रुचि राख्छिन्। उनी तेक्वान्डोमा ब्ल्याकबेल्ट हुन्। २०६६ सालमा राष्ट्रिय खेलकुदका लागि छनिएकी थिइन् उनी। तर, घुँडामा समस्या आएर खेल्न पाइनन्। रुचि अनुसारको एक्सन फिल्म भने उनको हातमा परेको छैन। रेखा थापाको एक्सन फिल्मबाट प्रेरित भएर उनकै प्रेरणाले आफू फिल्म उद्योगमा छिरेकी बताउँछिन् खुश्बु। भन्छिन्, ‘रेखा दिदी मेरो प्रेरक व्यक्तित्व हुन्। सायद आगामी फिल्म उनकै गर्छु होला।’

कुराकानीको सिलसिलामा बुधबार कमलपोखरीस्थित सिटी सेन्टरको जाभा रेस्टुरेन्टमा अमेरिकानो कफी आइपुगेको थियो। तर पिउँदै गरेको कफी छाडेर उनी जुरुक्क उठिन् र केही बेर हराइन्। एकजनासँग लेनदेनको कुराले अलमल भएकोमा ‘सरी’ भनिन्। खासमा खुश्बु आफ्नो रुचिका कारण मात्रै फिल्म नगरीमा छिन्। एड्भरटाइजिङ एजेन्सी, सहकारीलगायतको कामबाट समय निकालेरै उनी फिल्म सुटिङका लागि दौडन्छिन्।

विभिन्न कलाकारले अन्य क्षेत्रमा पनि लगानी गरेका छन्। तीमध्ये एक हुन् खुश्बु। भन्छिन्, ‘फिल्म मात्रै भनेर कुदेको भए म पनि व्यस्त कलाकारमा गनिन्थँे होला।’ धेरै अग्रज कलाकार साथीको अरू व्यवसाय पनि नछोड भन्ने सल्लाहले उनको ध्यान फिल्ममा मात्र छैन। उनको विचारमा नेपालमा हावामा पैसा उडिरहेको छ, युवाले समात्न सक्नु पर्‍यो। जति दुःख युवाले विदेशमा गर्छन्, त्यसको केही अंश दुःख स्वदेशमै गर्न सके पैसा जति भए पनि यही कमाउन सकिन्छ। नेताले देश बिगारे भनेर कराइरहनुभन्दा युवाले सार्थक काम गरेर देखाउनुपर्ने उनको विचार छ।

सुटिङ भए पनि नभए पनि कलाकार भन्नेबित्तिकै सहरबजारमा कामविशेषले निस्कने कलाकारहरू सजधजका साथ देखिनुपर्छ भन्ने आमदर्शकको चाहना हुन्छ। तर खुश्बुलाई अनावश्यक मेकअप गर्न मन लाग्दैन। भन्छिन्, ‘पहिरनमा सचेत छु। मलाई उत्ताउलो भएर हिँड्न भने कत्ति मन पर्दैन।’ उनी जुत्ता, ब्यागदेखि चस्मासम्म ‘अल्डो’ कम्पनीको मन पराउँछिन्। लुगा ‘एचएनम’ , ‘जारा’ ,‘कुल एन्ड बार’ लगायत कम्पनीको रोजाइमा पर्दो रहेछ।

फिल्ममा महिला कलाकारको कुनै न कुनै जोडी हुन्छ। कथाले त्यही माग्छ। खुश्बुको असली जिन्दगीमा पनि कथाले ‘जोडी’ मागिसकेकै हो त ? जवाफमा उनी फिस्स हाँस्छिन् र भन्छिन्, ‘हेर्नुस् म क्लियर मान्छे हुँ। ठेट कुरा गर्छु। मेरो कुनै ब्वाइफे्रन्ड छैन।’ २५ वर्षसम्म पनि बिना ब्वाइफ्रेन्ड ? त्यो पनि फिल्म क्षेत्रको मान्छे। यो कुरा अलि हजम हुँदैन। खुश्बुको प्रस्टीकरण छ, ‘एकोहोरो प्रेम भएर त भएन नि। फेरि प्रेम गर्न समय पनि हुनुपर्‍यो।’ आफ्नो व्यापार, व्यावसाय, फिल्म, पढाइलगायतको कामले खुश्बुलाई प्रेम गर्ने समय छैन रे। भन्छिन्, ‘जिन्दगी यात्रा हो। यसले कता पो डोर्‍याउने हो, थाहा छैन।’

सिन्धुपाल्चोक, साँगाचोक स्थायी घर भएकी खुश्बु किशोरी अवस्थाबाट काठमाडौं, मनमैजुमा परिवारका साथ बस्छिन्। नवोदित कलेज, सामाखुसीबाट पत्रकारितामा स्नातक सकाएकी उनलाई सोही विषयमा एमए पढ्न पनि मन छ। पत्रकारिता पढे पनि कलेजको प्राक्टिकल पेपरबाहेक कुनै लेखरचना भने लेखेकी छैनन्। भन्छिन्, ‘अझै धेरै अनुभव बटुल्न बाँकी छ। त्यसपछि लेख लेखम्ला नि।’

कलेज जाने सिलसिलामा एकदुईपटक उनी छेडछाडमा पनि परेकी छन्। केटाहरूलाई तेक्वान्दोको एक्सन देखाएपछि भागेको रमाइलो सम्झना छ उनीसँग। खुश्बु भन्छिन्, ‘कोरियामा प्रत्येकले आत्मरक्षाको तालिम लिएका हुन्छन्। मेरा लागि तेक्वान्दोको तालिम पनि त्यस्तै हो।’ यहाँ पनि सबैलाई यस्तो तालिम चाहिन्छ भन्ने उनको मत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.