माछा मार्दा जालमा पर्यो गोही
राजविराज : माछा मार्ने क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक पोखरीमा गोही फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका ८ योगिनियास्थित सार्वजनिक पोखरीमा करिब सात किलोको गोही फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
माझीहरूले माछा मार्ने क्रममा जालमा गोही फसेको थियो । फेला परेको गोहीलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।
नियन्त्रणमा लिइएको गोही कोसी टप्पु वन्यजन्तु आरक्षको जिम्मा लगाइने र उक्त गोही आरक्षकै संरक्षित क्षेत्रमा छोडिने उनले बताए। यसअघि साउन २१ गते सोही ठाउँमा पाँच फिटको गोही फेला परेको थियो । योगिनियाको वैष्णोदेवी मन्दिर र कोसीको पूर्वी तटबन्धभन्दा पूर्व रहेको पोखरीमा कोसीको बाढीसँगै गोही आएको अनुमान गरिएको छ ।
यस्तै ०७४ चैत २० गते पनि हनुमाननगर कंकालिनी नगरपालिका योगिनियास्थित बस्ति नजिकै रहेको पोखरीमा माछा मार्न हालिएको महाजालमा गोही फेला परेको थियो । उक्त गोहीको तौल ३२ किलो, लम्बाई पाँच फिट १० इन्च र मोटाई २७ इन्च रहेको थियो । बगिरहने पानीमा फेला पर्ने गोही बाढीको बेला कोशीबाट बगेर नजिकको पोखरीमा आउने गरेको छ ।
यसअवधिमा गाउँबाट हराउने गरेको हाँसकुखुरा, बाख्रापाठा गोहीले नै आहारा बनाउने गरेको गाउँलेले बताए । गत असोज १७ गते गोठाला गएका सप्तकोशी नगरपालिका ९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादवको गोहीको आक्रमणबाट मृत्यु भएको थियो ।
प्रहरी चौकी, फत्तेपुरका अनुसार पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको र खोजी गर्ने क्रममा शव फेला परेको थियो ।