उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि कात्तिक २१ गते मनोनयन दर्ताको समय तोकिएको छ। कार्यतालिकाअनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपराह्न पाँच बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ। त्यस्तै, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभा सदस्यतर्फ कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ र प्रदेशसभातर्फ भक्तपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभाको क्षेत्र नं. १, बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ र दाङ निर्वाचन क्षेत्र नं. ३ को २ मा उपनिर्वाचन हुँदै छ। कास्की–२ बाट नेकपातर्फबाट रवीन्द्र अधिकारी विजयी भएका थिए। संस्कृति, नागरिक उड्डयनमन्त्रीसमेत रहेका अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीमगरको मंसिर २७ गते दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। उनी वाममोर्चाको गठबन्धनतर्फबाट निर्वाचित जनमोर्चाका सांसद थिए।

त्यस्तै, भक्तपुरमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको वैशाख ३१ गते उपचारकै क्रममा काठमाडौंमा निधन भएको हो। उनी नेकपाका सांसद थिए भने दाङ निर्वाचन क्षेत्र नं. ३ को २ बाट निर्वाचित सांसद उत्तरकुमार ओलीको फागुन १० गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। माघ २४ गते दाङमा ओली सवार गाडी दुर्घटनामा परेका थियो।

स्थानीय तहतर्फ हुने उपनिर्वाचनका लागि कात्तिक २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने र कात्तिक ३० गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मंसिर १ गते चुनाव चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, संखुवासभा जिल्लाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ।

हुम्लाको खार्पुनाग गाउँपालिकाको उपाध्यक्ष र विभिन्न ३४ जिल्लाका ४० स्थानीय तहका ४३ वडाध्यक्ष गरी ४८ स्थानीय तहमा मंसिर १४ गते नै उपनिर्वाचन हुँदै छ। धरान उपमहानगर प्रमुख तारा सुब्बाको साउन १ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। उनी स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमाले तर्फबाट उपमहानगर प्रमुखमा निर्वाचित भएका थिए। माघ २६ गते फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको मृत्यु भएको थियो। कार्यक्रममा बोल्दाबोल्दै बेहोस भएपछि उनको निधन भएको थियो। उनी कांग्रेस पार्टीबाट निर्वाचित अध्यक्ष थिए।

मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ साल पुस ३० गते सवारी दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनामा उनीसहित ६ जनाको ज्यान गएको थियो। उनी नेकपाबाट निर्वाचित अध्यक्ष हुन्। पिपरा गाउँपालिकाको अध्यक्ष विनोदकुमार चौधरीको वैशाख ८ गते उपचारका क्रमाम काठमाडौंमा मृत्यु भएको हो। उनी राजपाबाट अध्यक्षमा निर्वाचित भएका थिए। हुम्लाको खार्पुनाग गाउँपालिका उपाध्यक्ष सिन्धु शाहीको कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा निधन भएको थियो। असार ३ गते कर्णालीमा जिप खस्दा उपाध्यक्ष शाहीसहित १० जना बेपत्ता भएका थिए। उपाध्यक्ष शाहीको शव २२ दिनपछि भेटिएको थियो।

निर्वाचन स्थल र केन्द्र तोकियो

पोखरा : जिल्ला निर्वाचन कार्यालय कास्कीले रिक्त रहेको कास्कीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारी तीव्र पारेको छ। निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते उपनिर्वाचनका लागि मिति तोकेपछि जिल्ला निर्वाचन कार्यालय कास्कीले अन्तिम नामावली प्रकाशन, निर्वाचन स्थल र केन्द्रसमेत तोकिसकेको बताएको छ।

कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथ संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको क्षेत्रमा निर्वाचनको तयारी गरिएको हो। कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ७१ हजार ८ सय ७१ जनाको अन्तिम नामावली प्रकाशन गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए।

उपनिर्वाचनमा १ हजार २ सय २० जना नयाँ मतदाता थपिएको उनले बताए। कास्की–२ मा अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए। कास्कीमा हुने उपनिर्वाचनका लागि २ मा ३२ निर्वाचन स्थल र ८२ वटा केन्द्र तोकिएको पनि उनले जानकारी दिए। उनका अनुसार निर्वाचनमा आवश्यक केन्द्रको सुरक्षा व्यवस्था मिलाउन, कर्मचारी तोक्ने र निर्वाचनका लागि आवश्यक सामग्री खरिद गर्ने काम भइरहेको छ।

कास्की–२ मा पोखरा महानगरका ११ वटा वडा पर्छन्। अघिल्लो निर्वाचनमा अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए। उपनिर्वाचनका लागि ठूला पार्टी नेकपा र कांग्रेस मात्र होइन साना पार्टी पनि तयारीमा जुटिसकेका छन्। अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतमा ४९ हजार ९ सय ६ मत खसेको थियो। त्यसमध्ये ४७ हजार ९ सय ८८ मत सदर भएको थियो।

१३ जना उम्मेदवारले विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका थिए। गण्डकी प्रदेशमा बागलुङ–२ ख बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएको थियो। बागलुङको पनि उपनिवार्चनको तयारी गरिएको छ। यसैगरी, गण्डकी प्रदेशमा तीन वडाध्यक्षको पनि निर्वाचन हुनेछ। नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार– २, बागलुङ बडीगाड गाउँपालिका २ मा उपनिर्वाचन हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.