कोही किन स्कुल जाओस् !
बालाजुस्थित एक स्कुलमा अभिभावक दिवस मनाइँदै थियो। मञ्चमा गत वर्ष एसईई परीक्षामा ‘ए प्लस’ ल्याउने विद्यार्थीका ठूला तस्बिर र त्योभन्दा कम ग्रेड ल्याउनेका साना तस्बिर टाँसिएका थिए। स्कुलका प्रिन्सिपल गत वर्ष हाम्रो स्कुलबाट यति जनाले ‘ए प्लस’ र यति जनाले ‘ए’ ग्रेड ल्याउन सफल रहे भन्दै अभिभावकको ध्यान खिच्न कोसिस गर्दै थिए। ‘अबको वर्ष राति ८ बजेसम्म विद्यार्थीलाई स्कुलमा राखेर भए पनि योभन्दा अझ राम्रो रिजल्ट ल्याउने हाम्रो प्रयत्न हुनेछ’, प्रिन्सिपल आश्वस्त पार्न खोज्दै थिए।
एक साँझ म माइक्रो चढेर बालाजु जाँदै थिएँ। सामाखुसीबाट कक्षा ९ मा पढ्दै गरेकी स्कुले छात्रा मसँगैको सिटमा बस्न आइन्। केही कुरा गर्छु भन्ने मनशायले मैले उनीसँग सोेधेँ, आजका लागि पढाइ पूरा भयो हैन ? निराशा मि िश्रत भावमा उनले ६ वटा विषयको होमवर्क केके थियो एकै सासमा सुनाउन भ्याइन्। उनको भावमा घरमा पुगेर होमवर्क सक्न भ्याइन्छ भ्याइन्न भन्ने हतारो र डर देखिन्थ्यो। मैले सोधेँ, ‘होमवर्क सकिएन भने के गर्नुहुन्छ सरहरू ? ’ उनले भनिन्, ‘कहिले लौरोले कुट्नुहुन्छ। कहिले कुखुरा बनाउनुहुन्छ। कहिले प्रिन्सिपल सरको कोठामा गएर गाली खाइन्छ।’ उनको बोलीमा बालकपनको कारुणिक गुनासो महसुस गर्न सकिन्थ्यो।
म आपैmं पनि आजकल केही घण्टा स्कुल÷कलेजका कक्षाकोठामा बिताउने गर्छु। त्यहाँभित्रको वातावरणबारे धेरथोर जानकारी राख्छु नै। शिक्षाप्रति बढी चासो पनि छ। ‘अभिभावक दिवस’ कार्यक्रमको एउटा कुनामा म बसिरहेको थिएँ। सोचेँ, प्रिन्सिपल आफ्नो कारखानाबाट उत्पादन भइरहेका ‘मेमोरी कार्ड’बारे बखान गरिरहेका छन्। र, अर्को वर्ष मेमोरी कार्डको ‘जीबी’ कुनै पनि हालतमा बढाउने घोषणा गरिरहेका छन्। हाम्रा शैक्षिक संस्था शिक्षाको नाममा ग्रेड ल्याइदिने प्रतिस्पर्धामा छन्। विद्यार्थीको सिर्जनात्मक दिमाग सूचना र तथ्यांकले भरिएको छ। अरू कूराको सरोकार नराखीकन विद्यार्थीलाई ‘ए प्लस’ ग्रेडमा उत्तीर्ण गराउनुलाई स्कुल, शिक्षक र स्वयं विद्यार्थीको सफलता मानिएको छ।
हाम्रा स्कुलभित्र कलिला विद्यार्थीमाथि सैनिक अनुशासन चल्छ। कैयौं यस्ता विषय छन् जसलाई अनिवार्य बनाउनुको कुनै अर्थ मात्र हैन विद्यार्थी र देशको विरुद्धमा समेत छन्। शिक्षाको अर्थ सिकाउनु हो। आदेश हैन, निर्देशन हैन। ‘यो काम गर, यो काम नगर। यो भाषा बोल, यो भाषा नबोल। यो पोसाक लगाऊ, यो पोसाक नलगाऊ। यो कलमले लेख, यो कलमले नलेख। यस्तो अक्षर लेख, यस्तो अक्षर नलेख। यस्तो रङको कापी ल्याऊ, यस्तो रङको नल्याऊ।’ शिक्षाका लागि यी सबै विषय काम नलाग्ने खालका छन्।
होमवर्क दिनुको उद्देश्य हुन्छ- विद्यार्थी पढाइबाट दायाँबायाँ लाग्न नपाओस्। होमवर्कमा अल्झिएपछि अभिभावकलाई पनि हाई सन्चो !
अमेरिकी स्कुलहरूमा विद्यार्थीको निश्चित पोसाक हँदैन। पछिल्लो अध्ययनले सबैभन्दा खुसी देशको रूपमा परिचित फिनल्यान्डमा केही वर्षदेखि बस्दै आएका साथी नारायण भट्ट भन्छन्, ‘यहाँका विद्यार्थीका लागि औपचारिक परीक्षा भन्ने चीज नै हुँदैन। विद्यार्थीका लागि कुनै ‘होमवर्क’ हँदैन। विद्यार्थीमाथि शिक्षाको कुनै दबाब रहन्न। एक दिनमा दुईतीनवटा कक्षा पढे पुग्छ। सात वर्षको भएपछि मात्र बच्चालाई स्कुल भर्ना गरिन्छ। मनोरञ्जनात्मक गतिविधि बढी हुन्छन्। ‘रिसर्च बेस्ड’ शिक्षक तालिम हुन्छ।’ ‘वास्तविक विजेताले प्रतिस्पर्धा गर्दैनन्’ भनिएजस्तै त्यहाँको शिक्षा प्रतिस्पर्धामा हैन सहकार्यमा आधारित छ।
शिक्षाले देशको भाषा, संस्कृति र पहिचानको जगमा टेकेर विदेशीसँग टक्कर लिने जनशक्ति पैदा गर्नु पथ्र्याे। तर स्कुलमा अंगे्रजी भाषा अनिवार्य बनाएपछि नेपाली भाषा इतिहास बन्ने खतरा त छ नै, त्यसबाहेक नेपाली विद्यार्थी जहिले पनि विदेशी भन्दा पछाडि नै पारिने भए। किनकि अरूको भाषामा शिक्षा पाएको व्यक्ति मातृभाषा वा राष्ट्रिय भाषामा पढेको व्यक्तिभन्दा प्रायः कमजोर नै हुन्छ। चीन, जापान, कोरियाजस्ता देश आफ्नै भाषामा शिक्षा दिएर त्यो अवस्थामा पुग्न सक्छन् भने हामी किन नसक्ने ?
स्कुलभित्रको कडा नियमकै कारण विद्यार्थीको स्कुल छोड्ने दर बढेको हो। स्कुलमा विद्यार्थीलाई जाऊँजाऊँ बनाइराख्ने कार्यक्रम छैनन्। बरु स्कुलप्रति घृणा पैदा हुने नियम छन्। प्रतिभाशाली व्यक्ति सानैदेखि विद्रोही हुन्छ। नियम नमान्ने र घोक्न नसक्ने विद्यार्थी स्कुलको तारो बन्छ। ‘देशका लागि महान् मस्तिष्क कक्षाकोठाको अन्तिम बेन्चमा भेटिन सक्छ’, अब्दुल कलामले ठट्टामा यस्तो बोलेका हैनन्।
हामी आफैंले हरेक दिन भोग्ने गर्छौं, कुनै व्यक्ति १०÷१५ मिनेट मात्रै लगातार बोलेको सुन्नुपर्दा साह्रै उकुसमुकस र छटपटी हुन्छ। कक्षाकोठामा पढाइने सबै विषयमा सबै विद्यार्थीको रुचि हुन्छ भन्ने छैन, हुँदैन पनि। तर पनि फरक फरक स्वभाव, क्षमता र रुचि भएको विद्यार्थीलाई हामी एउटै कक्षामा हुलेर बिहानदेखि बेलुकासम्म शिक्षकको प्रवचन सुनाइरहेका छौं।
कक्षाकोठामा शिक्षक ४०÷४५ मिनेट एकोहोरो बोल्ने गर्छ। यसबाट विद्यार्थीलाई झर्को लाग्छ नै। विद्यार्थीले व्यक्त गरिरहेका हुन्छन्, अव्यक्त ढंगबाट। विद्यार्थीको मनोविज्ञानमा यस्तै चीजलाई शिक्षा भनिन्छ भन्ने पारिएको छ। हाम्रा कक्षाकोठा घोक्ने घोकाउने, सुन्ने सुनाउने संकुचनबाट बाहिर आउन सकेका छैनन्। यो आदिम खालको शिक्षा हो। आधुनिक शिक्षा प्रणालीमा नयाँ प्रविधिको प्रयोग हुन्छ। विद्यार्थी सक्रिय हुन्छ। प्रत्येक विद्यार्थीलाई क्षमतावान् सम्झिइन्छ। चमेली र तीतेपाती आआफ्ना ठाउँमा महत्वपूर्ण छन्।
शिक्षकले कक्षाकोठाभित्र विषयवस्तु यसरी खन्याइदिन्छ कि मानौं, विद्यार्थी भनेका रित्ता भाँडा हुन्। विद्यार्थीले शिक्षकले भनेका प्रत्येक कुरा हुबहु भन्न सक्ने भएमा ट्यालेन्ट भनिन्छ, नसकेमा लद्दु। विद्यार्थी ‘मेमोरी कार्ड’ भए सिर्जनात्मक व्यक्ति हैन।
माध्यमिक तहको विज्ञानमा विद्यार्थीले न्युटनको ‘ल अफ ग्राभिटेसन’, पिरियोडिक टेबल, आर्किमिडिजको सिद्धान्त पढ्छन्। विज्ञान किताबभरि आइन्स्टाइन, न्युटन, एडिसन र थोमसोनको चर्चा छ। यसबाट विद्यार्थीमा महान् आविष्कार गर्ने भनेको विदेशका मान्छेले पो हो त, नेपालीले के नै गर्न सकिन्छ र भन्ने मनोविज्ञानबाट हुर्केका छन्। नेपाली युवाले पनि विगतदेखि आजसम्म कसै न कसैले केही बनाएका छन्। सल्लोको खोटाबाट गाडी चल्ने तेल निकालेको, हेलिकप्टर, रोबोट बनाएका समाचार आइरहन्छन्। तर नेपाली युवाले गरेको प्रयासको थोरै पनि चर्चा छैन किताबहरूमा। नेपालीले नयाँ केही गर्न सक्दैनन् भन्ने कुरा विद्यार्थीको दिमागमा सानैदेखि पारिएको छ।
नेपाली परिवेशमा लुप्त विज्ञान जस्तै— तुलसीको बोटभित्रको विज्ञान, खेत जोत्ने यन्त्र हलोभित्रको विज्ञान, यार्सागुम्बा र तीतेपाती भित्रको औषधि विज्ञान दिनबाट विज्ञान विषय चुकेको छ। पाठ्यक्रम निर्माण गर्ने विज्ञ भनिएकाहरू पनि विज्ञान भनेको विदेशमा आविष्कार गरिएका सिद्धान्तको सूचना विद्यार्थीलाई दिन हो भन्ने भ्रममा छन्।
सामाजिक विषयमा नेपालको जिल्ला चिनेको छैन, अमेरिका र युरोपको नक्सा कण्ठ गरेर बस्नुपर्छ। गणितमा बीजगणित र ज्यामिति लगायतका भीमकाय हिसाब छन्। त्यो गणित कहाँ प्रयोग गर्ने हो शिक्षकलाई थाहा छैन। विद्यार्थीलाई थाहा हुने कुरै भएन। ‘फर्मुला’ लगाएर साधारण ब्याज र चक्रीय ब्याज निकाल्न सक्ने विद्यार्थीलाई कुनै वृद्धले यति पैसाको ब्याज कति हुन्छ निकाल्देऊ त बाबु भन्दा अल्मलिएको यत्रतत्र देखिन्छ।
माछापालनबारे चार पेज लेख्न सक्ने बनाउनुभन्दा विद्यार्थीलाई नजिकैको मत्स्यपालन केन्द्रमा एक हप्ता बिताउन दिनु सयौं गुणा उपलब्धिमूलक हुन्छ। तोरीको जीवनचक्रबारे मज्जाले लेख्न सक्ने विद्यार्थीले तोरीको बिरुवा देखेको हुन्न। नेपालका पर्यटकीय स्थल मुक्तिनाथ, पोखरा र लुम्बनीबारे बन्द कोठामा अलिअलि पढाउनुभन्दा ती एक दुई ठाउँ लगेर देखाउँदा नयाँ सोच र खोजको विकास हुन सक्ला।
शिक्षालाई व्यवहारसँग जोड्न सम्भव छ भन्ने उदाहरण त खोटाङको दिक्तेलमा सञ्चालित कृषिविज्ञ डा.मदन राईको स्कुलले पुष्टि गरिरहेको छ। विद्यार्थीलाई फिल्डमा उतारेर दिइने त्यो शिक्षा हाम्रा लागि एक नमुना हो। विद्यार्थीले खेतबारी, गाईबस्तुको गोठ, उत्पादन क्षेत्र, इन्जिनियरिङ, सिलाई, बुनाइ, कटाइ, खेल र संगीतको भरपूर प्रयोग गर्दै शिक्षा लिन्छन्।
तर आम रूपमा व्यवहारसँग नजोडिएको, विदेशीले टक्क मिलाएर ठिक्क पारिदिएको फर्मुलामुखी शिक्षाले विद्यार्थीको सिर्जनशीलतालाई निलिरहेको छ। देशका लागि कस्ता जनशक्ति कति मात्रामा चाहिने, शिक्षामार्फत के गर्न सक्ने नागरिक तयार पार्ने, आविष्कार गर्न सक्ने कल्पनाशील नागरिक कसरी तयार गर्ने भन्नेतर्पm नसोची दिइएको अनिवार्य शिक्षाले शिक्षित बेरोजार नै जन्माउने हो।
विद्यार्थीलाई होमवर्कको भूतले तर्साएको छ। जागिरे मान्छेका लागि ९ बजेदेखि ५ बजेसम्म काम गरे बाँकी समय आफ्नो तरिकाले बिताउन मिल्छ। तर विद्यार्थीले बिहानदेखि बेलुकासम्म स्कुलमा थुनिएर पनि कैयौं घण्टा होमवर्क बाँकी रहन्छ घरको लागि। रिजल्ट राम्रो देखाइदिनुपर्ने स्कुल र अभिभावको दबाबमा विद्यार्थी परेका छन्। शिक्षालाई हामीले भूत बनाइदिएका छौं जसलाई देखेर विद्यार्थी हरेक दिन तर्सिरहन्छ।
स्कुलमा सामाजिक शिक्षा पढाइन्छ तर दिनभरको स्कुले जीवन र घरमा गर्नुपर्ने होमवर्कको व्यस्ततामा आफ्नो समाज, संस्कृति, वातावरण र सामाजिक क्रियाकलापप्रति आजका विद्यार्थी निकै कम जानकार छन्। स्वतन्त्रमा रमाउन पाउने व्यक्तिको अधिकार पनि भविष्यको डर देखाएर खोसिएको छ। पढाइ पढाइले विद्यार्थी दिक्क बनेका छन्। स्कुलबाट होमवर्क दिनुको उद्देश्य हुन्छ विद्यार्थी पढाइबाट दायाँबायाँ लाग्न नपाओस्। होमवर्कमा अल्झिएपछि अभिभाकलाई पनि सास्ती कम हुने भयो। अभिभावकको अपेक्षा पनि त्यही हुन्छ।
अभिभावकलाई सम्झाइदिने कसले ? विद्यार्थी बनाउन हैन, अभिभावकको चाहना पूरा गरिदिन स्कुल प्रतिबद्ध छन्। स्कुलको योजना पूरा गरिदिन शिक्षक बाध्य छन्। अभिभावकको चाहना, स्कुलको व्यवसाय र शिक्षकको जागिरको सुरक्षा गर्ने गरी शैक्षिक कार्यक्रम अगाडि बढेका छन्। स्कुलबाट व्यक्तिले सिर्जनात्मक क्षमता गुमाउँछ र ग्रेड प्राप्त गरेर निस्कन्छ।