भाँचिएको हड्डी जोड्न साइन प्रविधि

भाँचिएको हड्डी जोड्न साइन प्रविधि

अछाम : डोटी–दिपायल सिलगढी नगरपालिका–४ का गणेश विकको बायाँ खुट्टा भाँचियो। उनले जसोतसो भारतमा गएर उपचार गरे तर निको भएन। आर्थिक अवस्था कमजोर उनी दुखाइ सहेर घरमै बस्न बाध्य भए। बयलपाटा अस्पतालमा हाडजोर्नीको उपचार हुन्छ भन्ने थाहा पाएपछि छिमेकीको सहारामा उनी जँचाउन पुगे।

अस्पतालमा उनको खुट्टाको सफल शल्यक्रिया भयो। आर्थिक अभावका कारण उपचार नपाएका उनको खुट्टाको निःशुल्क शल्यक्रिया गरियो। ३५ वर्षीय विकले भने, ‘९ वर्षको हुँदा खुट्टा भाँचियो। २÷३ पटक भारतमा गएर उपचार गरेँ तर निको भएन। बयलपाटा अस्पतालमा उपचार गराउँदा सजिलो भयो।’

साँफेबगर नगरपालिका–३ का मानबहादुर कुँवरको दुई महिनाअगाडि घरको भर्‍याङमा लडेर कम्मरमुनिको हड्डी भाँचियो। ६७ वर्षीय कुँवरले बुढेसकालमा हड्डी भाँचिँदा निको हुने आस मारिसकेका थिए। बयलपाटा अस्पतालमा उपचारपछि उनी निको हुने क्रममा छन्। अस्पतालका डाक्टरको १ घण्टाभन्दा बढी लामो प्रयासपछि उनको शल्यक्रिया सफल भएको हड्डी विशेषज्ञ डा. मन्दीप पाठकले बताए। उनले भने, ‘उहाँको शल्यक्रिया गर्न निकै जटिल अवस्था थियो, तैपनि लामो प्रयासपछि सफल भयौं। साइन प्रविधिबाट उहाँको शल्यक्रिया गरिएको हो।’

दिपायल सिलगढी नगरपालिका–१ की कृष्णा विष्टको ६ वर्षअघि लडेर दाहिने खुट्टा भाँचियो। धनगढी गएर उनले उपचार गरिन्। करिब एक लाख खर्च भयो। तर, हड्डी जोडिएन। दाहिने खुट्टा बांगो भई दुखाइसमेत बढ्न थाल्यो। कमजोर आर्थिक अवस्थाले थप उपचार गर्ने स्थिति रहेन। आफन्तको सहयोगमा उनी अस्पताल पुगेपछि उपचार सम्भव भयो। पहिलो पटक हड्डी प्रत्यारोपणमार्फत सफल शल्यक्रिया भयो। उनले भनिन्, ‘नयाँ जीवन पाएको छु।’

हड्डी भाँचिएको ठाउँमा रड प्रयोग गर्ने विधिलाई साइन प्रविधि भनिन्छ।

विक, कुँवर र विष्टको अमेरिकन साइन प्रविधिमार्फत उपचार गरिएको डा. विकास गौचनले बताए। अन्य ठूला अस्पतालमा यो उपचारमा ३ लाखसम्म खर्च हुने गर्छ। बयलपाटा अस्पतालमा निःशुल्क उपचार हुने गरेको गौचनले जानकारी दिए। उनले भने, ‘शरीरको जुन भागको अलि लामो हड्डी भाँचिएको छ सो ठाउँमा रड प्रयोग गर्ने विधिलाई साइन प्रविधि भनिन्छ।’ अमेरिकन हड्डी विशेषज्ञ डाक्टरहरूले एउटा संगठन बनाएर चन्दा संकलनमार्फत गुणस्तरीय रड खरिद गरी बयलपाटालगायत दुर्गमका अस्पताललाई उपलब्ध गराउँदै आएको छ। जहाँ धेरै महँगो मेसिन प्रयोग नगरी हड्डीको शल्यक्रिया गरिन्छ।

अछामको न्याय हेल्थ बयलपाटा अस्पतालमा हाडजोर्नीसम्बन्धी सेवा सुरु भएको ४ वर्ष भयो। यो अवधिमा २ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्। यसमध्ये ८१ जनाको साइन प्रविधिमार्फत भाँचिएका हड्डीको उपचार भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.