खेल हेरेर फर्किदै गरेकामाथि हतियार प्रहार : एकको मृत्यु, एक गम्भीर
भोजपुर : षडानन्द नगरपालिका २ र ३ को सिमानामा पर्ने ओपंखास्थित धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । भलिबल खेल हेरी घर फर्कदै गरेकी खार्तम्छाकी २८ वर्षीया कल्पना राईको हत्या भएको हो । उनीसँगै रहेकी अर्की १८ वर्षीया नविना राई गम्भीर घाइते भएकी छन्।
नेपालेडाँडाबाट भलिबल हेरी शनिबार साँझ घर फर्कदै गर्दा उनीहरुमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए । हत्याको अभियोगमा खार्तम्छाकै २१ वर्षीय प्रदीप बस्नेतलाई नियन्त्रणमा लिएको छ।
आक्रमणबाट शरीरका विभिन्न अंगमा गहिरो चोट लागेकी कल्पनाको घटनास्थमै मृत्यु भएको डिएसपी मगरले बताए। घाइते नविनाको चिउँडोमा चोट लागेको छ। अभियुक्त बस्नेतलाई गिरफ्तार गरी जिल्ला प्रहरी ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानपछि घटनाको कारण खुल्ने डिएसपी मगरले बताए।