सम्पत्ति शुद्धिकरणमा तीनजनाविरुद्ध मुद्दा
काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रौतहटको गढीमाई ७ धनाडीका अजमतुल्लाह अन्सारी, राजकुमार साह, रन्धिर शाहलाई सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा दायर गरेको हो ।
गौर नगरपालिका वीपी चोकमा चेकजाँच गर्ने क्रममा अन्सारीको साथमा रहेको झोलाबाट प्रहरीले २५ लाख रुपैयाँ बरामद गरेपछि अनुसन्धान हुँदा यो रकमको आयस्रोत नखुलेपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ।
अन्सारीसँग बरामद रकम तीनैजनाले योजनाबद्धरुपमा लुकाउने, छल्ने र बदल्ने प्रयास गरेको विभागको दाबी छ।उनीहरुविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।