नेपालकै पहिलो नागढुंगा सुरुङमार्गको निर्माणकार्य सुरु (तस्बिर)
काठमाडौं : नागढुंगा सुरुङमार्गको निर्माण सुरु भएको छ। मुलुकको पहिलो सडक सुरुङमार्गको शिलन्यास सोमबार प्रधानमन्त्री केपी ओलीले गरेका छन्।
सुरुङमार्ग निर्माणको जिम्मा पाएको हाज्मा–आन्द्रो जेभीले क्याम राख्न जग्गा भाडा लिने र निर्माण गरिने स्थान सम्माउने काम सुरु गरेको छ। विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच असोज ६ गते सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएको थियो। जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो।
सम्झौता भएको मितिको ४२ महिनामा भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ। आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ। सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ।