जिल्ला शिक्षा अधिकारीसहित ६ विरुद्ध मुद्दा
काठमाडौं : जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसहित ६ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल, लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमन प्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर बसन्त निधि र सवइन्जिनियर दिलिपकुमार जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा हालेको हो ।
बाराको बारागढी गाँउपालिका वडा नं ३ नयकाटोल, साविक खोपवा गाविस ८ को जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई भौतिक निर्माण उनीहरुले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
पोखरेलसमेतले आफूलाई प्राप्त पदीय अधिकार र दायित्व जिम्मेवारी पूर्ण तरिकाले पालन नगरेको, विद्यालय भवन निर्माण नहुँदै नापी किताव र कार्य सम्पन्न प्रतिवेदन विना नै निर्माणस्थलमा भए गरेको कार्यभन्दा एक लाख ३९ हजार भुक्तानी गरी नेपाल सरकारको रकम हिनामिना गरेको पुष्टि भएको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको मागदाबी गरिएको छ । नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको विगोमध्ये उजुरीपछि अनुसन्धानको क्रममा ३४ हजार रकम बराबरको थप निर्माण कार्य भएको र ८३ हजार बेरूजु खाता दाखिला गरेको देखिएकोले बाँकी रकम २२ हजार असुल उपर गर्न समेत मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।