चराको बासस्थान बन्दै गुल्मी
गुल्मी : पछिल्लो समय जिल्लामा विभिन्न प्रजातिका चरा प्रशस्तै भेटिन थालेका छन्। नेपालमा पाइने आठ सय ८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्रै २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका हुन्।
जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल रेसुंगा क्षेत्रको जंगल र गुल्मीको पश्चिममा पर्ने अग्लो ठाउँमा रहेको मदाने क्षेत्रलाई उक्त प्रजातिका चराहरूले बासस्थान बनाएका छन्। जिल्लामा चराहरूको सर्वेक्षण गर्ने उद्देश्यले स्थापित नेपाल पन्छी संरक्षण संघ गुल्मीले विभिन्न प्रजातिका २३ प्रतिशत चरा फेला परेको जनाएको छ।
रेसुंगा र मदाने वन क्षेत्रमा जैविक विविधता र चरा संरक्षणअन्तर्गत रेसुंगा वन क्षेत्रमा दुई सय आठ र मदाने वन क्षेत्रमा दुई सय सात प्रजातिका चरा फेला परेको संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। पन्थीले विश्वमै दुर्लभ प्रजातिका रूपमा रहेका चराहरूसमेत गुल्मीमा भेटिएको बताए। विश्वमै दुर्लभ प्रजातिका चराहरूमध्ये रेसुंगा वन क्षेत्रमा गोमायुमहाचिल, सुन गिद्ध, सेतो गिद्ध र डंगर गिद्ध गरी चार प्रजातिका चरा भेटिएका हुन्।
यस्तै मदाने क्षेत्रमा पनि दुर्लभ चराहरूमध्ये लोभीपापी गुरुड, गोमायुमहाचिल, सुन गिद्ध, सेतो गिद्ध र कालिजलगायत पाँच प्रजातिका चरा छन्।
नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुंगा र मदाने दुवै वन क्षेत्रमा पाइने भएकाले अति संकटपूर्ण अवस्थामा रहेका चराहरूको बासस्थानलाई जोगाइराख्न स्थानीयवासीले आग्रह गरेका छन्। चराप्रेमीले उक्त क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायले चासो दिनुपर्ने बताएका छन्। गुल्मीमा चराहरूका लागि उपयुक्त स्थान र वातावरण बनाउन सके चराको संख्या वृद्धि हुने डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। चरा संरक्षण र संख्या वृद्धिका लागि जैविक विविधता संरक्षण हुनुपर्ने परियोजना अधिकृत पन्थीको भनाइ छ। उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका चराहरू संरक्षण गरी संख्या बढाउन सके पर्यटकहरू चरा अवलोकनका लागि जिल्लामा आउनेसमेत बताए।
विभिन्न प्रजातिका चरा संरक्षणमा जिल्लामा मुख्य चुनौतीका रूपमा बासस्थान विनाश, परिवर्तन र खानेपानीको अभाव देखिएको छ। छरपस्ट छरिएका विद्युतीय तार, वन डढेलो र अवैध सिकारले चरा संरक्षणमा समस्या देखिने गरेको छ। उक्त समस्या समाधान गर्न स्थानीयस्तरमा व्यापक जनचेतना जगाउनुपर्ने स्थानीयवासीले बताए। नेपाल पक्षी संरक्षण संघ गुल्मीले सन् २०१५ देखि जिल्लामा चरा तथा जैविक विविधताको क्षेत्रमा काम गर्दै आइरहेको छ।