आर्मीलाई हराउँदै चितवन फाइनलमा
चितवन : चितवन—११ नारायणगढमा जारी जेसिज विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। चितवन—११ बुधबार सम्पन्न खेलमा बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २—१ गोलले हराउँदै फाइनलमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा तीनवटै गोल दोस्रो हाफमा भएको थियो।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता पनि चितवन—११ ले नै लिएको थियो। खेलको ६५औं मिनेटमा घरेलु टोली चितवन—११ का लागि अनिल रानाले पहिलो गोल गरेका थिए। पहिलो गोल गरेको आठ मिनेटपछि नै चितवन—११ ले बलियो आर्मीविरुद्घ अर्को गोल थपेको थियो। चितवन—११ का लागि रुमेश बर्तौलाले दोस्रो गोल गरेका थिए।
विभागीय टोली आर्मी क्लबले खेलको अन्त्यतिर एक गोल फर्काएको थियो। निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि आर्मी क्लबका लागि विमल पाण्डेले सान्त्वना गोल गरेका थिए। जारी प्रतियोगितामा आर्मी क्ल्बलाई उपाधिको बलियो दाबेदार मानिएको थियो। बिहीबार संकटा क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।
दोस्रो सेमिफाइनल खेलको विजेताले उपाधिका लागि चितवन—११ सँग भिडन्त गर्नेछ। असोज ३० गतेदेखी क्याम्पाचौरमा सञ्चालित प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगितामा पहिलो हुने टोलीले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र दोस्रो हुने टोलीले तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउनेछन्।