आम्दानीको स्रोत गाँजा प्रहरीले जलाएपछि थामिएनन् ठूलीका आँसु...
ललितपुर : दुई सय नेपाल प्रहरी र २५ सशस्त्र प्रहरीको समूह बुधबार बिहानै चापाखर्क, त्रिपिनी र लता गाउँ छिर्यो । यी गाउँ महालक्ष्मी र गोदावरी नगरपालिकाकोे सिमानामा पर्छन्। अवैध गाँजा खेती भएको सूचनाका आधारमा प्रहरी त्यहा पुगेको थियो।
प्रहरी, सुरुमा ठूली तामाङको बारीमा छिर्यो र धमाधम गाँजाका बोट काट्न थाल्यो। ठूली रिसले चूर भइन्। ‘किन काट्छौ अर्काको बाली ?’ उनी चिच्याइरहेकी थिइन्।
सयौँ प्रहरी उनको आवाज नसुनी गाँजा फाडिरहेका थिए। केहीले काटिएका गाँजाको बोट एकै ठाउँमा थुपारे। केहीले पेट्रोल छर्किए र आगो लगाइदिए। ठूलीको रिस बढ्दै जाँदा आवाज चर्को बन्दै थियो, ‘गाँजासँगै मलाई जलाइदेउ, बरु मलाई समातेर लैजाउ तर गाँजा नजलाउ।’
केही गाँजा बचाउने हेतुले ठुली हतार हतार गाँजा काट्दै अंगालोभरी हालेर आँगनमा थन्क्याउन लागिन्। प्रहरीले उनलाई रोक्न खोज्यो तर रोक्न सकेन। प्रहरीसँग नडराई उनी उनीहरुलाई गाली गरिरहेकी थिइन्। ‘बारीको तिरो तिर्नुपर्छ, छोराको क्याम्पसमा पैसा दिनुछ’, उनी कराइरहेकी थिइन्।
उनी बल्ल ३५ वर्षकी भइन्। बाआमाले १५ वर्षको उमेरमा विवाह गरिदिएका थिए उनको। तर श्रीमानले कान्छी विवाह गरेर छुट्टै बस्न थालेपछि घरपरिवार चलाउन, छोराको शैक्षिक खर्च जुटाउने जिम्मेवारी उनको भयो।
‘बारीमा कुनै बाली फल्दैन मकै बाहेक’, उनले गुनासो गर्दै भनिन्, ‘त्यो पनि बँदेलले खान दिँदैन।’ त्यसैले मकैबारीमा उम्रिएका गाँजा हुर्काएको उनको भनाइ छ।
यसैबाट आएको पैसाले नुन मसला किन्ने छोराको ‘फिस’ तिर्ने गरेको उनले सुनाइन्। यसो भनिरहँदा ठूलीका आँखाबाट आँसु खसिरहेको थियो।
उनी एकोहोरो कराइरहेको देखेर जिल्ला प्रशासन कार्यालयका प्रमुख भागिरथ पाण्डेय तथा महानगरीय प्रहरी परिसरका प्रमुख टेकप्रसाद राई गाँजा रोप्नु गैह्रकानुनी भन्दै सम्झाइरहेका देखिन्थे। जिल्ला प्रशासनका प्रमुख पाण्डेयले फेरि अर्को पटक खेती लगाएमा पक्राउ गर्ने चेतावनी दिए। तर उनले सीडीओेको कुरा ख्याल गरिनन्। उनलाई आफ्नो आम्दानीको स्रोत नष्ट गरेको आक्रोशमात्र थियो।
कान्छीमाया तामाङको गुनासो ठूलीको जस्तै थियो। प्रहरीले उनको बारीमा लगाएको गाँजा काटिरहँदा उनी रोइरहेकी थिइन्।
भित्राउने बेलामा गाँजा सखाप पारिदिएको भन्दै प्रहरीलाई गाली गर्दै भनिन्, ‘तिमीहरुको भलो नहोस्।’ घरैमा मुठाको डेढदेखि दुई सयमा बेच्दै आएको उनको गाँजा केहीछिनमा जलाइदिएपछिको आक्रोस थियो उनको। उनका श्रीमान भन्दै थिए, ‘यहाँ मात्र काटेर के गर्नु पुरै गाउँभरी गाँजा छ।’
आँगनमा रुँदै कान्छीमाया तामाङ । तस्बिर : नितु घले
पाँच सय रोपनीको गाँजा नष्ट
बुधबार लगभग पाँच सय रोपनीमा लगाएको गाँजा नष्ट गरिएको एसएसपी राईले बताए। त्रिपिनी, लता र चापाखर्कलगायतका गाउँको मुख्य आम्दानीको स्रोत नै गाँजा रहेको पनि उनले बताए। गाउँमा गाँजाको विकल्पमा के लगाउन सकिन्न भन्ने जानकारी नभएकाले यस्तो समस्या आएको उनको भनाइ छ।
प्रहरीले राज्यको कानुन कार्यान्वयन गराउने भएकाले यस्ता कामलाई प्रश्रय गर्न नसक्ने उनले सुनाए। ‘प्रहरीले मात्र यस्ता काम नियन्त्रण गर्न सक्दैन’, उनले भने। दुईचार जना प्रहरी मात्र पुग्न नसक्ने यस ठाउँमा ठूलो जत्था लिएर प्रहरी पुग्नुपर्ने समस्या रहेको उनले बताए। स्थानीय, नागरिक समाज, जनप्रतिनिधि, क्लबसँग मिलेर मात्र यस्ता कार्यमा नियन्त्रण गर्न सकिने उनले बताए।
नेपालमा गाँजा बेचबिखन गर्न कानुनले बर्जित गरेकाले कानुनस्वरुप चल्नुपर्ने सीडीओे पाण्डेयको भनाइ छ। ‘कानुनले बर्जित गरेको कामलाई प्रशासनले रोक लगाउनुको विकल्प छैन’, उनले भने। स्थानीयले भने निमुखाको खेती प्रशासनले सखाप पारेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
नष्ट गरिएका गाँजा जलाउँदै प्रहरी। तस्बिर : नितु घले