'आलोपालो' को सहमति भएको छैन : ईश्वर पोखरेल
विराटनगर : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुनै विवाद नरहेको दाबी गरेका छन् । पार्टी एकीकरणका बेला 'आलोपालो' का सवालमा कुनै पनि सहमति नभएको उनको भनाइ थियो । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग बोल्दै नेकपा नेता पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष 'आलोपालो' गरेर चलाउने भन्ने विषयमा पार्टीमा अहिलेसम्म कुनै छलफल समेत नभएको बताए ।
'दुई पार्टीबीच एकता भएर नेकपा बनेको हो । अलग-अलग पार्टी एक भएकाले काम गर्ने क्रममा सामान्य असन्तुष्टि रहन सक्छन्,' उनले भने, 'तर एकताका क्रममा एकजनाले पार्टीको नेत्रृत्व गर्दा अर्कोले प्रधानमन्त्री चलाउने भन्ने कुनै सहमति भएको छैन । यस विषयमा आजसम्म पार्टीमा कुनै औपचारिक छलफल पनि चलेको छैन ।'
नेकपाभित्र 'आलोपालो' को सवालमा खोजी गर्ने हो भने संस्थागत रुपमा सहमति भएको कहीं पनि फेला नपर्ने उनको दावी प्रधानमन्त्री र पार्टी अध्यक्ष 'आलोपालो' चलाउने भन्दा पनि पार्टीले आवश्यकताअनुसार जिम्मेवारी हेरफेर भने गर्नसक्ने पोखरेलको दाबी छ ।
अर्को प्रशंगमा उनले सभामुख चयन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको जानकारी दिए । नेकपाले चीनका राष्ट्रपति सी चीन फिङको विचारधारा लागू गर्न लागिएको हो भनेर संचारकर्मीले प्रश्न सोध्दा उनले भने, 'हामी अरुको नक्कल गर्दैनौं । आफ्नो खुट्टा हेरेर जुत्ता निर्धारण गर्छौ ।'
आवश्यकता र जनताको चाहनाअनुरुप अघि बढ्ने बताउँदै पोखरेलले भने, 'नेपालमा हाम्रो आफ्नै विशेषता छ ।त्यही आधारमा नेकपा अघि बढ्छ ।' एकअर्को प्रशंगमा सर्वोच्च अदालतको आदेशअनुसार सांसद अफ्ताव आलम पक्राउ परेको पोखरेलले बताए । 'आलममाथि अहिले छानबिन र अनुसन्धान जारी छ,' उनले भने, 'तथ्यगत रुपमा बाहिर आए विगतमा भएका जुनसुकै अपराध र गलत कुराको निस्पक्ष छानबिन एवं दोषीमाथि कारबाही हुन्छ ।'
मन्त्री पोखरेलले तत्कालिन नेकपा माओवादीले गरेको जनयुद्धलाई भने अपराधका रुपमा लिन नहुने बताए । उनले हत्या, हिंसा र जवरजस्ती छाडेर आए मात्रै नेत्रविक्रम चन्द 'विप्लव' सँग वार्ता हुने बताए ।