फुलेन सयपत्री फूल
सिरहा : गतवर्ष आफ्नै बारीमा उत्पादन गरेका सयपत्री फूल बेचेका सिरहाका पुष्प व्यवसायी यतिबेला चिन्तित बनेका छन् । उनीहरुले खेतमा लगाइएको फूल समयमा राम्ररी फुल्न सकेको छैन् । खेतमा फूल नफुलेपछि उनीहरु भारतीय बजारबाट फूल आयात गरी तिहारमा बिक्री गर्ने तयारीमा छन्।
किसानले वर्षाका कारण समयमा सयपत्री लगाउन सकेको थिएनन् । यस वर्ष तिहार गत वर्षभन्दा अगाडी परेको छ। खेतमा लगाइएको सयपत्री फूल राम्रोसँग फुल्न नसकेको धनगढीमाई नगरपालिका १० जिरोमाइलका पुष्प व्यवसायी रामकुमार चौधरीले सुनाए । 'वर्षाले खेतमा लगाइएको फूलमा असर गर्यो । गतवर्ष कात्तिक तेस्रो साता तिहार थियो । फुल्नुभन्दा पहिले तिहार आयो,'उनले भने, 'बारीमा फूल पर्याप्त छैनन्। यसवर्ष भारतबाटै मगाउनुपर्छ।'
'एक लाख रुपैयाँ खर्च गरी खेती लगाएका थिए । गतवर्षसम्म राम्रो कमाई हुन्थ्यो । यसपाली भएन,' चौधरीले भने, 'यहाँ कोल्ड स्टोरको सुविधा छैन् । तिहार नजिकिएपछि खेती गर्नुपरेको छ । स्टोर भएको भए पहिलेदेखि उत्पादन गरी राख्थे । तिहारमा सहज हुन्थ्यो ।'
पारी(भारत)का व्यावसायीले पहिले उत्पादन गरी तिहारमा कोल्ड स्टोरबाट फूल बेच्ने गरेको उनीहरुले बताए । 'गतवर्ष आफ्नो खेतको बढी र भारतीय फूल थोरै ल्याउनु परेको थियो । यसवर्ष त त्यहीबाट मगाएर बेच्नुपर्छ,' रामकुमारले भने, 'भन्सार र ढुवानी लाग्छ । आयात गरेको फूलको माला महगिने देखिन्छ ।'
पोहोर २० देखि ४० रुपैयाँ प्रति गोटा माला बिक्री भएको थियो । तर, यो तिहारमा ५० देखि ७० रुपैयाँ प्रति सयपत्रीको माला बिक्री हुने अनुमान पुष्प व्यवसायीहरुले गरेका छन् । उनी गएको वर्ष ८ हजार माला पारी(भारत)बाट मगाएका थिए ।
व्यवसायीले उत्पादन गरेको फूल धेरै दिन जोगाएर राख्न नसकिने भएकाले भारतीय बजारबाट आयात गर्नुपरेको बाध्यता भएको उनीहरु बताउँछन् । 'दिनदिनै मजदुरी, लगानी बढिरहेको छ । अनेकौँ कठिनाई भोगेर खेती गर्छौ तर, कोल्ड स्टोर अभावले राख्न सक्दैनौँ,' सुरेशले भने, 'कोल्ड स्टोरको व्यवस्था भए फूलमा आत्मनिर्भर बन्न सकिन्छ।'
सरकारले फूल उत्पादक किसानलाई अनुदान र प्रोत्साहनमा चासो लिनुपर्ने उनीहरुको माग छ।हामीले उत्पादन गरेको फूलको बजार पनि अभाव देखिएको पुष्प व्यवसायी कपिलदेव चौधरीले बताए । 'व्यापारीले भारतीय बजारको फूल तिहारमा मगाइहाल्छ, 'हामीले मेहनत गरेर उत्पादन गरेको फुल बेच्न कठिन पर्छ । उनीहरुले रेट सस्तो गर्छ । हामी सक्दैनौँ सस्तोमा बेच्न । लगानी पनि बचाएर बेच्छौँ ।'
यहाँका मठ, मन्दिरमा स्थानीय उत्पादनकै फूल किन्न थालेपछि व्यवसायी पुष्प खेतीतर्फ आकर्षित हुने उनको भनाई छ ।