शव लुकाउन खोज्ने बाबु-छोरा पक्राउ
राजविराज : विद्युतीय धरापमा परी मृत्यु भएको घटना लुकाउन खोजेको आरोपमा बाबु-छोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटना गोप्य राख्न र शव लुकाउन खोजेको अभियोगमा पक्राउ परेका ४५ वर्षीय श्रीलाल सरदार र उनका कान्छा छोरा १९ वर्षीय विजय सरदारलाई सार्वजनिक गरेको हो।
उनीहरुमाथि कञ्चनरुप नगरपालिका ५ पिप्रा टोलका अजयकुमार मुखियाको बँदेल मार्न थापेको पासोमा परी मृत्यु भएको घटना लुकाउन खोजेको आरोप छ। श्रीलाल, उनका छोरा र गाउँकै रमेश सरदारसहितका युवाले बँदेल मार्न कात्तिक १ गते राति थापेको विद्युतीय धरापमा अजय परेका थिए।
अजयलाई घरबाट श्रीलाल र रमेशले लगेपछि फर्केर नआएको मृतककी श्रीमती मीनाले प्रहरीलाई जानकारी दिएपछि गाउँमा सोधपुछ गर्दा अजय बेपत्ता भएको केही दिनपछि श्रीलाल, उनका छोरा र रमेशसमेत गाउँमा देखा नपरेको कुरा प्रहरीले पत्ता लगाएको थियो।
श्रीलालको मोबाइल लोकेशन ट्रयाक गरी उदयपुरको कटारीबाट प्रहरीले पक्राउ गरेपछि उनले धान खेत छेउको जंगलमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएका अजयको शव कसैले थाहा नपाउने गरी गाडेको स्वीकार गरेका छन्।
श्रीलालले बताएको स्थानमा मृतक र रमेशको ज्याकेट, रगतको टाटा फेला परेपनि शव फेला नपरेपछि श्रीलालको छोरासँग सोधपुछ गर्दा शव गाडिएको स्थानबाट सारिएको पत्ता लागेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार श्रीलाल पक्राउ परेपछि उनका छोरा १९ वर्षीय विजयसहित तीन जनाले शव गाडिएको स्थानबाट निकाली बेग्लै स्थानमा लागि पाँच फिट मुनी खाडल खनेर पुरेको खुलेको छ।
शवलाई कञ्चनरुप र सप्तकोशी नगरपालिकाको सिमामा पर्ने कमलदहस्थित त्रियुगा नदीको किनारबाट उत्खनन गरी निकालिएको छ।
धान खान जंगलबाट आउने बँदेललाई पासो थापेका थिए। पासोमा मान्छे परेपछि मृतकको अनुहारमा पेट्रोल छर्किएर आगोले जलाइएको र शव गाडेको डीएसपी मिश्रको भनाइ छ।
पासोमा परी घाइते मुखियालाई सरदार परिवारले हत्या गरी शव लुकाउन खोजेको भन्दै मृतकका काका हर्दिलाल मुखियाले आशंका गरेका छन्। ‘अनुहार जलाइएको तथा हात र पिठयु काटिएको अवस्थामा फेला परेकोले अजयको हत्या गरी शव लुकाइएको देखिन्छ’, उनी भन्छन्।
पासोमा परेर मृत्यु भएपछि शव लुकाउने प्रयास गरिएको वा पासोमा परी घाइते भएपछि हत्या गरी शव लुकाउन खोजिएको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईंले बताए। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।