भक्तपुर प्रदेशसभा उपनिर्वाचन : कांग्रेसका १०, नेकपाका १६ उम्मेदवार !
भक्तपुर : उम्मेदवार बन्ने नेताको लर्को लागेसम्म भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार टुंग्याउन सकेका छैनन्।
मंसिर १४ गते भक्तपुर क्षेत्र नम्बर १ प्रदेश क को उपनिर्वाचन हुँदैछ। निर्वाचनको लागि नेपाली कांग्रेसमा भन्दा सत्तारुढ नेकपाका आकांक्षी धेरै देखिएका छन्।
नेपाली कांग्रेसमा दस जनाले उम्मेदवारी दाबी गरेका छन् नेकपामा भने २२ जनाले आआफ्नो दाबेदारी गरे पनि अहिले १६ जनामा झरेको छ।
अघिल्लो निर्वाचनमा यस क्षेत्रमा सत्तारुढ नेकपाका उम्मेदवार हरिशरण लामिछाने निर्वाचित भएका थिए। एकवर्षअघि उनको हृदयाघातका कारण मृत्यु भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।
कास्कीबाट स्वर्गीय रवीन्द्र अधिकारीकी श्रीमतीलाई टिकट दिएसँगै भक्तपुरमा दिवंगत प्रदेश सांसद हरिशरणकी श्रीमती निर्मला लामिछानेले पनि टिकटमा दाबी गरेकी छन्।
पहिले नेकपाले जितेको र अहिले नेकपा सत्तामा पनि भएकाले पुनः जित्ने सम्भावनाले उम्मेदवारी दाबी गर्नेहरुको संख्या बढेको नेकपाकै नेताहरु बताउँछन्।
त्यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत नेकपाकै उम्मेदवारी जितेका छन्। त्यस हिसाबले यसपटक सजिलै निर्वाचन जितिने आँकलन नेकपाका उम्मेदवारले गरेको उनीहरु बताउँछन्।
नेकपाबाट स्व. हरिशरणकी श्रीमती निर्मलासँगै मोहनवीर श्रेष्ठ, डीपी ढकाल, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदर दंगालले टिकटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। त्यस्तै रामबहादुर श्रेष्ठ, रवि खड्का, ईश्वर खड्का, राष्ट्रशमशेर थापा, सावित्री थापा, सुचित्रा श्रेष्ठ, राजु अधिकारी, राजु सुवेदी, कृष्णराम गेलाल र रामभक्त खत्रीले टिकटमा दाबी गरेका छन्। केन्द्रले तीनजनाको मात्रै नाम सिफारिस गर्न भने पनि नेकपा र कांग्रेसमा आकांक्षी बढेको हो।
नेकपा (नेकपा) भक्तपुरका अध्यक्ष बचन देउजाले टिकटको लागि धेरै आकांक्षी देखिएकाले पार्टीले निर्णय गरिनसकेको जानकारी दिए। उनले जिल्ला कमिटीको बैठक बसेर सहमतिमा तीनजनाको मात्रै नाम सिफारिस गरेर पठाउने बताए।
उम्मेदवारका दाबेदार धेरै अघि सरेपछि देउजासहित चारजना जिल्ला नेतालाई तीनजनाको नाम सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। जसमा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, सहइन्चार्ज एवं चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्र र जिल्ला सचिव डीपी ढकाल रहेका छन्।
कांग्रेस जिल्ला समितिले भने प्रदेश समितिबाट सिफारिस भएर आएका दसजना आकांक्षीकै नाम रायसहित केन्द्रमा सिफारिस गरेर पठाएको छ।
केन्द्रमा टिकटको लागि नाम सिफारिस गरिएको कांग्रेस नेतामा कृष्णलाल भडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोदप्रकाश कायस्थ, रुपा थापा, उद्धव खड्का रहेका छन्।
त्यस्तै किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्लेको नाम पनि टिकटका लागि जिल्लाबाट सिफारिस गरिएको छ।
अघिल्लो निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा रहेको थियो। निर्वाचन नेकपाका स्व. हरिशरण लामिछानेले १२ हजार सात सय ८९ मत ल्याएर जीत हात पार्दा कांग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार नौसय ७७ मत ल्याएका थिए। यस वर्ष पनि नेकपा र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।
उपनिर्वाचनको लागि कार्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन तोकिएको छ।