उम्मेदवार छान्न कांग्रेसलाई सकस

उम्मेदवार छान्न कांग्रेसलाई सकस

काठमाडौं : उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ। उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन। उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता २१ गतेका लागि तोकिएको छ। प्रतिनिधिसभाअन्तर्गत कास्की २ र प्रदेशसभामा भक्तपुर, बागलुङ र दाङमा एकएक निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ।

कांग्रेस क्षेत्रीय समितिले विधानविपरीत ठूलो संख्यामा आकांक्षीको नाम केन्द्रमा पठाएपछि उम्मेदवार चयनमा ढिलाइ भएको हो। कांग्रेस विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्पm बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ।

प्रतिनिधिसभातर्फ कास्की २ बाट १६ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ४ र दाङबाट ११ जनाको नाम सिफारिस गरिएको छ।

‘हामीले विधानअनुसार तीन जनाको मात्र नाम पठाउन भनेका थियौं। क्षेत्रीय समितिले विधानभन्दा बढी आकांक्षीको नाम पठाएपछि छलफलमा छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संयन्त्र बनाएर सर्वसम्मत रूपमा टुंगो लगाउँछौं।’ कांग्रेसले विधानभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेपछि क्षेत्रीय समितिलाई ध्यानाकर्षण गराउँदै पत्रसमेत पठाएको थियो।

थोरै समय भएकाले क्षेत्रीय समितिले केन्द्रमा सिफारिस गरिएका उम्मेदवारको नाम परिमार्जन नगरेको कांग्रेसले जनाएको छ। ‘हामीले विधानविपरीत नाम पठाएकोबारे क्षेत्रीय समितिलाई ध्यानाकर्षणसहितको पत्र पठाएको थियौं’, प्रवक्ता शर्माले अन्नपूर्णसँग भने, ‘समय कम भएकाले केन्द्रबाट सिफारिस गरिएका नामको टुंगो लगाउँछौं।’

कांग्रेसले उम्मेदवारका आकांक्षीको संख्या धेरै भएकाले पदाधिकारी बैठकबाट अनौपचारिक सहमति खोज्ने तयारी गरेको छ। पदाधिकारी बैठकले नाम टुंगो लगाएपछि केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘पदाधिकारी बैठक बसेर अनौपचारिक सहमति गर्छाैं। त्यो सहमति केन्द्रीय समितिले अनुमोदन गर्छ।’ उनले उम्मेदवार चयनमा ढिलाइ नहुने दाबी गरे। ‘एकदुई दिनमै टुंगो लाग्छ,’ उनले अन्नपूर्णसँग भने, ‘शीर्ष तहमा सबैको सहमति गरेर चयन गर्छाैं।’

कांग्रेस पदाधिकारी बैठक बिहीबार बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलालाई बोलाइएको छ। पदाधिकारीसहित शीर्ष नेता सम्मिलित बैठकले उपनिर्वाचन हुने क्षेत्रमा पार्टीको अवस्थाबारे जागरण अभियानका क्रममा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गर्ने प्रवक्ता शर्माले बताए।

‘पहिलो र दोस्रो चरणको जागरण अभियानका क्रममा केन्द्रबाट खटिएका प्रतिनिधिसँग पार्टीको अवस्थाबारे छलफल हुन्छ। केन्द्रबाट हचुवाका भरमा उम्मेदवार तय हुँदैन,’ उनले भने, ‘सिफारिस गरिएका नेताहरूको प्रभाव कस्तो छ ? कसलाई टिकट दिँदा चुनावी परिणाम हाम्रो पक्षमा हुन्छ ? भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुन्छ।’ कांग्रेसको दुई चरणको जागरण अभियानमा उपनिर्वाचन हुने क्षेत्रमा नौ जना प्रतिनिधि खटिएका थिए।

अघिल्लो साता बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गर्न उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने निर्णय गरेको थियो। तर यसअघि केन्द्रीय समितिको बैठक बस्दै–नबसी स्थगित भएपछि संयन्त्र गठन हुन सकेन। पदाधिकारीसहित वरिष्ठ नेता पौडेल र सिटौला सम्मिलित संयन्त्र गठन गर्ने नेताहरूबीच सहमति भएको थियो। कांग्रेसमा उम्मेदवार चयन गर्न विधानमा संसदीय बोर्डको व्यवस्था छ। तर दुई वर्षअघि सम्पन्न प्रदेश र संघको निर्वाचनमा पार्टी पराजित भएपछि संसदीय बोर्ड नै खारेज गरिएको थियो। संसदीय बोर्ड नहुँदा पार्टीका शीर्ष नेताहरू बसेर उम्मेदवार टुंग्याउन लागेका हुन्। केन्द्रीय समिति बैठक १५ कात्तिकमा बोलाइएको छ।

पार्टीभित्रको गुटको प्रभाव उम्मेदवार सिफारिसमा परेको हो। क्षेत्रीय समितिले उम्मेदवारका आकांक्षी सबैको नाम छलफलबिनै केन्द्रमा पठाउँदा उम्मेदवारको संख्या धेरै भएको छ भने गुटकै आधारमा केन्द्रले उम्मेदवार चयन गर्न खोज्दा ढिलाइ भएको नेताहरू बताउँछन्।

कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे समयमै निर्णय नगर्ने पार्टीको परम्परागत शैलीको परिणाम उम्मेदवार चयनमा ढिलाइ भएको बताउँछन्। ‘हाम्रो निर्णय प्रक्रिया परम्परागत भयो। विषयको प्राथमिकता हेरेर समयमै निर्णय गर्ने अभ्यासको विकास भएन,’ घिमिरेले भने, ‘अर्काे कुरा नेताहरूबीच समझदारी नभई पार्टीले कुनै निर्णय नगर्ने अर्काे समस्या छ।’

उनले कांग्रेसले पार्टीको उम्मेदवार चयन गर्दा गुटको नभई उम्मेदवारको लोकप्रियतालाई ध्यान दिनुपर्ने सुझाए। ‘हामीले यो काम एक महिनाअगाडि नै गर्नुपथ्र्याे। कार्यदल बनाएर पार्टीको प्रभाव अनि सम्भावित उम्मेदवारबारेछलफल गर्नुपथ्र्याे,’ उनले भने, ‘विपक्षी उम्मेदवार र पार्टीको अवस्थाबारे ध्यान दिनुपर्छ।’ कांग्रेसमा अन्तिम चरणमा गुटका आधारमा टिकट भागबन्डा गर्ने प्रवृत्ति रहँदै आएको छ। गुटका आधारमा टिकट भागबन्डा हुँदा कांग्रेसभित्र निर्वाचनमा अरू पार्टीभन्दा अन्तरघात बढी हुने टिप्पणी हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.