मंसिर १४ को उपनिर्वाचन : कांग्रेसमा १०, नेकपामा १६
भक्तपुर : उम्मेदवार बन्ने नेताको लर्को लागेसम्म भक्तपुरमा सत्तारुढ पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले सर्वसम्मत उम्मेदवार टुंग्याउन सकेका छैनन्।
मंसिर १४ गते भक्तपुर क्षेत्र १ (क) को प्रदेशसभाका लागि उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनको लागि कांग्रेसभन्दा सत्तारुढ नेकपाका आकांक्षी धेरै देखिएका छन्। कांग्रेसमा १० जनाले उम्मेदवारी दाबी गरेका छन् नेकपामा २२ जनाले दाबेदारी गरे पनि अहिले १६ जनामा झरेको छ।
अघिल्लो निर्वाचनमा यस क्षेत्रमा सत्तारुढ नेकपाका उम्मेदवार हरिशरण लामिछाने निर्वाचित भएका थिए। एक वर्षअघि हृदयाघातका कारण उनको मृत्यु भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।
कास्कीबाट स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई टिकट दिएसँगै भक्तपुरमा दिवंगत प्रदेश सांसद हरिशरणकी पत्नी निर्मला लामिछानेले पनि टिकटमा दाबी गरेकी छन्। पहिले नेकपाले जितेको र अहिले सत्तामा भएकाले पनि फेरि जित्ने सम्भावनाले उम्मेदवारी दाबी गर्नेको संख्या बढेको नेकपाकै नेताहरू बताउँछन्।
त्यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत नेकपाले नै जितेको थियो। त्यस हिसाबले यसपटक सजिलै निर्वाचन जितिने आकलन नेकपाका उम्मेदवारले गरेको उनीहरू बताउँछन्।
नेकपाबाट स्व. हरिशरणकी पत्नी निर्मलासँगै मोहनवीर श्रेष्ठ, डीपी ढकाल, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदर दंगालले दाबेदारी प्रस्तुत गरेका छन्। त्यस्तै रामबहादुर श्रेष्ठ, रवि खड्का, ईश्वर खड्का, राष्ट्रशमशेर थापा, सावित्री थापा, सुचित्रा श्रेष्ठ, राजु अधिकारी, राजु सुवेदी, कृष्णराम गेलाल र रामभक्त खत्रीले टिकटमा दाबी गरेका छन्।
केन्द्रले तीनजनाको मात्रै नाम सिफारिस गर्न भने पनि नेकपा र कांग्रेसमा आकांक्षीको संख्या बढेको हो। नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले टिकटको लागि धेरै आकांक्षी देखिएकाले पार्टीले निर्णय गरिनसकेको जानकारी दिए। उनले जिल्ला कमिटीको बैठक बसेर सहमतिमा तीन जनाको मात्रै नाम सिफारिस गरेर पठाउने बताए। ‘अबको एक÷दुई दिनमै केन्द्रको निर्देशनानुसार सहमतिमा तीन जनाको नाम सिफारिस गरेर पठाउँछौं’, अध्यक्ष देउजाले भने।
उम्मेदवारका दाबेदार धेरै अघि सरेपछि देउजासहित चार जना जिल्ला नेतालाई तीन जनाको नाम सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। जसमा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र जिल्ला सचिव डीपी ढकाल रहेका छन्।
कांग्रेस जिल्ला समितिले भने प्रदेश समितिबाट सिफारिस भएर आएको १० जना आकांक्षीकै नाम रायसहित केन्द्रमा सिफारिस गरेर पठाएको छ। केन्द्रमा टिकटको लागि नाम सिफारिस गरिएका कांग्रेस नेतामा कृष्णलाल भडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोदप्रकाश कायस्थ, रुपा थापा, उद्धव खड्का रहेका छन्। त्यस्तै किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्लेको नाम पनि टिकटका लागि जिल्लाबाट सिफारिस गरिएको छ।
अघिल्लो निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा रहेको थियो। निर्वाचन नेकपाका स्व. हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मत ल्याएर जीत हात पार्दा कांग्रेसका उम्मेदवार जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए। यस वर्ष पनि नेकपा र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने निश्चितप्रायः देखिएको छ। उपनिर्वाचनको लागि कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन तोकिएको छ।