कपिलवस्तुमा गोली चल्यो, स्थानीयको मृत्युपछि कर्फ्यु आदेश
कपिलवस्तु : लक्ष्मी पूजाको बिसर्जन गर्ने विषयमा दुई समूहबीचको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु लगाइएको छ। झडपलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु घोषणा गरेको हो।
लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको थियो।
स्थानीय सुरज पाण्डेको गोली लागि मृत्यु भएको छ। उपचारका क्रममा मन्नत क्लिनिकका डा.दिलिप कुमार अग्रहरीले पाण्डेको मृत्यु भएको पुष्टी गरे।
विवादले उग्ररूप लिएपछि स्थिति नियन्त्रणका क्रममा स्थानीयसँग प्रहरी पनि घाइते भएका छन्। बुधबार साँझदेखि सुरु भएको विवादले आज विहानसम्म ठूलो रुपम लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यु जारी गरेको हो।