निजगढका शर्मालाई अमेरिकामा स्वर्ण
सिमरा : अमेरिकाको न्यू जर्सीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट खेलमा नेपालका दिनेश शर्माले स्वर्ण पदक जितेका छन्। सिनियर उमेर समूहको फाइनलमा शर्माले अमेरिकाका एण्ड्रिउ सुतेलाई ५-४ ले पराजित गर्दै स्वर्ण जितेका हुन्। न्यू जर्सीमा अक्टोबर २५ देखि २७ सम्म भएको प्रतियोगितामा स्वर्ण जितेका शर्मा नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव समेत हुन्।
तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शर्मा बारा सिंगौल निवासी हुन्। उनी नेपाल तेक्वान्दो महासंघका अध्यक्षसमेत रहेका छन्। तेक्वान्दो खेलको प्रशिक्षकको रुपमा व्यस्त रहँदै आएका शर्माले लामो समयपछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएका थिए। शर्माले यसअघि नेपालका लागि थुप्रै देशको प्रतियोगितामा सहभागिता जनाउँदै पदक हात पारेका छन्।
यसैगरी शर्माले मार्शल आर्टको प्रसिद्ध अन्तर्राष्ट्रिय अवार्डसमेत हात पारेका छन्। अमेरिकामा प्रत्येक वर्ष आयोजना हुने लिजेन्ड अफ दि मार्शल आर्ट हल अफ फेममा शर्मालाई ‘एक्ट्रा अर्डिनरी मास्टर ईन्ट्रक्टर’ अवार्डबाट सम्मान गरिएको हो। मार्सल आर्टको विभिन्न विधामा विश्वभरिबाट छनोट भएका प्रशिक्षक, मास्टर र ग्राण्ड मास्टरमध्ये एकलाई प्रदान गरिने उक्त सम्मान शर्माले पाएका हुन्। शर्मा लिजेन्ड अफ दि मार्शल आर्ट हल अफ फेमका गुडविल एम्बेसडरसमेत हुन्।
यसअघि मार्शल आर्ट खेलको विस्तारमा सक्रियता देखाएको भन्दै शर्माले एक साताअघि ब्राजिलमा सम्मानसमेत गरिएको थियो। ब्राजिलमा सम्पन्न विश्व कराते प्रतियोगितामा शर्मा एप्रिसेसन अवार्डबाट सम्मानित भएका थिए।