खाद्य संस्थानमा अनियमितताको हद
काठमाडौं : नेपाल खाद्य संस्थानले समर्थन मूल्यभन्दा निकै सस्तोमा किसानमार्फत व्यापारीलाई धान खरिद गर्न लगाएर अवैध रूपमा किनेको तथ्य बाहिरिएको छ। संस्थानले कानुनतः सीधै किसानसँगै खरिद गर्नुपर्नेमा साँठगाँठमा व्यापारीसँग किनेको भेटिएको छ।
राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट संस्थानले किसानको ‘ढाड सेक्ने’ गरी व्यापारीलाई पोस्ने काम गरेको देखिएको छ। छानबिनबाट किसानसँग मात्रै धान खरिद गर्नुपर्नेमा आपसी साँठगाँठमा व्यापारीसँग खरिद गरेको पाइएको हो। किसानले उत्पादन गरेको धानले उचित मूल्य प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले प्रत्येक वर्ष धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ। तर, किसान सरकारले दिएको सहुलियतलाई दुरुपयोग गर्दै संस्थानका कर्मचारी र व्यापारीको मिलेमतोमा धान खरिद–बिक्री हुने गरेको तथ्य बाहिरिएको छ।
सतर्कता केन्द्रले गरेको छानबिन एउटै व्यक्ति (व्यापारी)सँग १० हजारभन्दा बढी धान खरिद गरेको भेटिएको छ। धान बिक्री गर्ने व्यक्तिको नाम दोहोरिएको र परिमाण पनि धेरै देखिएको छ। सतर्कता प्रतिवेदनअनुसार संस्थानका अञ्चल कार्यालय लहानले एउटै व्यक्तिबाट ठूलो परिमाणमा धान खरिद गरेको देखिएको छ।
एउटै किसानले ठूलो परिमाणमा धान उत्पादन गरी बिक्री गर्न सक्ने र वास्तविक किसान हुन् भन्ने आधार नदेखिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ। यति धेरै परिमाणमा धान खरिद गर्ने व्यक्ति किसान नभएर व्यापारी भएको सतर्कताको ठहर छ।
उता, अञ्चल कार्यालय विराटनगर खरिद रजिस्टरमा उल्लेख व्यक्तिमध्ये केहीलाई फोनमा सम्पर्क गर्दा उनीहरू धान व्यापारी भएको पुष्टि भएको केन्द्रले जनाएको छ। ‘खाद्य संस्थानले वास्तविक किसानसँग मात्र धान खरिद गरेको हो भन्ने देखिएन’, प्रतिवेदनमा भनिएको छ। अञ्चल कार्यालय लहानले २५÷२६ दिनमा ७० हजार क्विन्टल धान खरिद गरेको छ।
मन्त्रिपरिषद्ले ०७५ साउन २३ मा किसानले उत्पादन गरेको धान उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले वर्षे धान रोपाइँ हुँदाकै समयमा न्यूनतम समर्थन मूल्य तोकेको थियो। यो निर्णय कार्यान्वयनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १५ मा मात्र खाद्य संस्थानलाई निर्देशन दिएको थियो।
संस्थानले सरकारी निर्णय कार्यान्वयनका लागि व्यवस्थापन समितिको बैठक राखेर धान खरिद तथा कुटानी सम्बन्धमा कार्यविधि निर्देशिका तयार गरी आफू मातहतका कार्यालयलाई निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ।
सतर्कताले धान खरिदमा अनियमितताको उजुरी छानबिन गरी प्रतिवेदन पेस गर्न गठित छानबिन टोलीको सुझाव कार्यान्वयन गर्न निर्देशन दिएको छ।
यससम्बन्धी मोबाइल एप्स निर्माण गरी किसानसँग धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र खाद्य संस्थानमा निर्देशन दिइ उजुरीको लगत कट्टा गर्ने निर्णय गरेको छ। एप्समा किसानले धानको मूल्य थाहा पाउने र के कति धान बिक्री गर्न सक्ने हो भन्ने एप्समार्फत खाद्य संस्थान र किसानले जानकारी पाउन सक्ने खालको बनाउन निर्देशनसमेत दिएको छ।
६ कार्यालयको अनियमितता छानबिन
सतर्कता केन्द्रले नेपाल खाद्य संस्थान, भृकुटीमण्डपमा सञ्चालनमा रहेको सटर तथा स्टल भाडा, सहिद गंगालाल हृदय रोग केन्द्र, कपिलवस्तुको सार्वजनिक जग्गा, फार्मेसी अधिकृतको स्तरवृद्धि, कोसी अञ्चल अस्पतालमा कर्मचारी भर्नासम्बन्धी छानबिन गरेको छ। केन्द्रले बिहीबार ती कार्यालयको छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ।
केन्द्रले समाजकल्याण परिषद्अन्तर्गत भृकुटीमण्डप प्रदर्शनीस्थलमा रहेका साना–ठूला पसल एवं स्थल सस्तो मूल्यमा भाडा दिएको सम्बन्ध छानबिन गरेको छ। पसल एवं स्थल एक लाखदेखि ५० लाखसम्म र चनाचट्पटे एवं पानीपुरी बिक्री गर्ने स्थान ५ लाखसम्म कर्मचारीको मिलेमतोमा खरिद–बिक्री हुने गरेको उजुरी परेपछि केन्द्रले छानबिन गरेको सूचना अधिकारी डालनाथ आर्यालले जानकारी दिए।
बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा औषधि र भल्ब खरिदमा मूल्यभन्दा २ हजार ७ सय गुणा बढीसम्म मनोमानी तरिकाले बिक्री मूल्य तोकेर अर्बौं रकम भ्रष्टाचार गरेको सम्बन्धी छानबिन भएको छ। छानबिनमा हृदय केन्द्रले खरिद मूल्यभन्दा बढीमा औषधि बिक्री गरेको पाइएको छ। सतर्कताले निर्देशिका संशोधन गरी औषधिको मूल्य समायोजन गर्न निर्देशन दिएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वीरपुरको सार्वजनिक विद्यालय जग्गा व्यक्तिको नाममा गरिएको सम्बन्धमा केन्द्रले छानबिन गरेको छ। वीरपुरस्थित जनज्योति आधारभूत विद्यालयले उपभोग गरेको राजकुडा सामुदायिक वनको करिब ५ कठ्ठा जग्गा मिलेमतोमा स्थानीय मोहनसिंह पोखरेललाई २५ लाखमा बिक्री–वितरण गरेको भन्दै परेको उजुरी सम्बन्धमा केन्द्रले छानबिन गरेको छ। छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पठाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सातौं तहमा समायोजन भएका निकेश श्रेष्ठ, किरण बज्राचार्य, विकेक श्रेष्ठ र मुकेन्द्र पञ्जियारको चार फार्मेसी अधिकृतको स्वास्थ्य मन्त्रालयले गरेको स्तवृद्धि सम्बन्धमा केन्द्रले छानबिन गरेको छ।
०७५ पुस ११ पछिका स्तरवृद्धि गैरकानुनी रहेका भनी सामान्य प्रशासन मन्त्रालयले खारेज गरे पनि उनीहरूले आठौं तहको तलब सुविधा लिइहरको भन्दै उजुरी परेको थियो।
कोसी अञ्चल अस्पताल विराटनगरमा बिनाविज्ञापन, बिनाप्रतिस्पर्धा आफूखुसी ढंगले नातेदार नियुक्त गरेको विषयमा सतर्कताले अनुसन्धान गरेको छ। उसले ०७४÷७५ र ०७५÷७६ मा नातेदार नियुक्ति गरेको उजुरी परेको थियो। छानबिन गर्दा नियुक्त कर्मचारी नातेदार पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।
छड्केमा २२८ कर्मचारी अनुपस्थित
उपत्यकाका १६ स्थानीय तहमा गरेको छड्के अनुगमनमा २२८ कर्मचारी अनुपस्थित भएका छन्। सतर्कता केन्द्रको अनुगमनमा कार्यालय खाली गरी कर्मचारी अनुपस्थित रहेको भेटिएको हो।
एक सय ६९ जना अनुपस्थित÷समय पालना नगरेको पाइएको छ। केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालका अनुसार १८ जना अघिल्लो मितिमा बिदा स्वीकृत नगराई अनुपस्थित भएको भेटिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका महानगरपालिका, नगरपालिकामा सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा ४१ कर्मचारी तोकिएको पोसाकबिनै कार्यालय आएको पाइएको छ। नागार्जुन नगरपालिकाको कार्यालयमा २२ जना कर्मचारी अनुपस्थित÷समय पालना नगरेको भेटिएको छ।
नागार्जुनकै वडा नम्बर ४ को वडा कार्यालयमा १ कर्मचारी बिदा स्वीकृत नगराई अनुपस्थित थिए। कीर्तिपुर नगरपालिकाको कार्यालयमा २४ कर्मचारी अनुपस्थित÷समय पालना नगरेका, ३ जनाले तोकिएको पोसाक नलगाएका तथा कीर्तिपुर–६ को वडा कार्यालयमा १ जना कर्मचारी अनुपस्थित भेटिए भने १ जनाले पोसाक नलगाएको पाइएको छ। सूर्यविनायक नगरपालिकामा १० जना, ५ जना तोकिएको पोसाक नलगाएको, त्यस्तै सूर्यविनायक नगरपालिका–५ को वडा कार्यालय र स्वास्थ्य चौकीमा छड्के अनुगमन गर्दा ६ जना अनुपस्थित थिए भने ३ जनाले पोसाक नलाएको पाइएको थियो।
त्यस्तै, मध्यपुर थिमी नगरपालिकामा २४ कर्मचारी अनुपस्थित थिए भने उपस्थित ७ जनाले पनि तोकिएको पोसाक लगाएका थिएनन्।मध्यपुर थिमीको ६ नम्बर वडा कार्यालयमा ४ जना अनुपस्थित थिए। तारकेश्वर नगरपालिकामा २३ जना अनुपस्थित÷समय पालना नगरेको पाइएको छ भने ७ जना तोकिएको पोसाकमा थिएनन्। तारकेश्वर नगरपालिका–६ को कार्यालयमा १ जना कर्मचारीले तोकिएको पोसाक नलगाएको भेटिएको छ। ललितपुर महानगरपालिकाका ३० जना कर्मचारी अनुपस्थित थिए भने ४ जना स्वीकृतिबिनै अनुपस्थित रहेको भेटिए भने ४ जनाले तोकिएको पोसाक लगाएका थिएनन्। ललितपुर महानगरको वडा नम्बर ४ को कार्यालयमा १ जना कर्मचारी अनुपस्थित थिए।
बूढानीलकण्ठ नगरपालिकामा ९ जना कर्मचारी अनुपस्थित भेटिए भने १० बिदा स्वीकृत नगराई अनुपस्थित पाइए भने ८ जना तोकिएको पोसाकमा थिएनन्। बूढानीलकण्ठ नगरपालिका–९ को कार्यालयका १ जना अनुपस्थित थिए भने १ जना बिदा स्वीकृतिबिनै अनुपस्थित थिए। शंकरापुर नगरपालिकामा १४ जना कर्मचारी अनुपस्थित थिए भने २ जनाले तोकिएको पोसाक लगाएका थिएनन्। २ जना नै स्वीकृतिबिना बिदामा बसेका थिए। शंकरापुर नगरपालिका–७ को वडा कार्यालयमा पनि सतर्कता केन्द्रले अनुगमन गरेको छ।