पहाडी समुदायको बढ्दो आकर्षण
चितवन : चितवनको नारायणी किनारामा २०२२ सालतिर छठपूजा सुरु भएको मानिन्छ। नारायणगढको लीलाचोकमा तराईबाट आएका सात जनाले छठ पूजा सुरुवात गरेका थिए।
केही वर्षयता छठमा नारायणगढस्थित नदी किनारमा दसौं हजारको संख्यामा श्रद्धालुको उपस्थिति हुने गरेको छ। पूजा गर्नेको संख्या बर्सेनि बढ्दो छ। चितवनमा छठपूजा सुरु गर्नेमध्येका एक तराई सामुदायिक सेवा समितिका संस्थापक उपाध्यक्ष राजकुमार गुप्ता हुन्। ‘त्यति बेला छठी माईको महिमा नबुझ्दा संख्या कम थियो’, उनले भने, ‘बर्सेनि संख्या बढ्दो छ। अहिले सबैको पर्व भएको छ।’
अस्ताउँदो सूर्यलाई अर्घ दिन नारायणगढको नारायणी नदीकिनारमा ठूलो संख्यामा भक्तजन भेला हुन्छन। तिहार सकिएलगत्तै चितवनमा छठको उल्लास बढेको छ। पहाडी समुदायबाट विधिपूर्वक पूजा गर्नेको संख्या भने अझै कम छ।
गुञ्जनगरकी ७० वर्षीया पूजन घिमिरे विगत १० वर्षदेखि छठ पूजा गर्दै आएकी छन्। भाकल पूरा भएपछि बर्सेनि पूजा गर्न थालेको उनले बताइन्। ‘भाकल माग गरी छठीमाईको पूजा गर्दा मनोकामना पूरा भएपछि मलाई छठीमाईप्रति विश्वास लागेको छ’, घिमिरेले भनिन्, ‘कठोर नभए पनि चोखो बसेर दर्शन गर्न आउँछु।’
नारायणगढमा पूजा व्यवस्थापन तराई सामुदायिक सेवा समितिले गर्दै आएको छ। सहभागी बढेपछि यसपटक क्षेत्र फराकिलो बनाइएको छ। नदी किनारमा टेन्ट टाँगिएको छ। ‘भक्तजनको भीड लागेपछि व्यवस्थापन चुस्त पारिएको छ’, तराई सामुदायिक सेवा समिति नारायणगढका अध्यक्ष गोपालजी गुप्ताले भने, ‘अहिले कुनै समुदायमा मात्रै सीमित रहेन यो पर्व सबैको भएको छ।’