हात्ती भगाउने तारबार : ९ वर्षमा ३९ मान्छे र ११ हात्तीको मत्यु

हात्ती भगाउने तारबार : ९ वर्षमा ३९ मान्छे र ११ हात्तीको मत्यु

भद्रपुर : जंगली हात्तीबाट जोगिन झापाका पीडितले नयाँ उपाय झिके- विद्युतीय तारबार। त्यसमा साँझ ६ देखि बिहान ५ बजेसम्म करेन्ट छाडिन्छ। यसले स्थानीयलाई राहत त भयो तर मान्छेकै ज्यान पनि जोखिममा देखिएको छ।

बुद्धशान्ति-४ स्थित नवज्योति सामुदायिक वन र बस्तीको सिमानामा शनिबार बिहान मात्रै दुई जना मृत फेला परे। करेन्ट प्रवाह भइरहेको तारमा पर्दा उनीहरूको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ बताउँछन्। मृतकमा स्थानीय १८ वर्षीय अभिनास राई र भोजपुरबाट पाहुना आएका ३५ वर्षीय मणिराम राई छन्। पोखरीमा माछा मार्ने क्रममा उनीहरू बिजुलीको तारमा परेको प्रहरीले जनाएको छ।

हात्तीप्रभावित क्षेत्रका स्थानीयले आआफ्नो जग्गामा तार बिच्छ्याएका छन्। त्यस्तो स्थानमा नजान माइकिङ गरिन्छ। सरकारले केही व्यवस्था नगरिदिएपछि गाउँले मिलेर तारबार लगाइएको नवज्योति सामुदायिक वनका उपाध्यक्ष महेशकुमार लिम्बू बताउँछन्। विद्युतीय बार राख्ने कार्य गैरकानुनी हो भन्ने थाहा पाए पनि राख्न बाध्य रहेको बुद्धशान्ति-४ का कृष्ण न्यौपानेको भनाइ छ। ‘सरकारले जंगली हात्ती गाउँ पस्न रोक्ने अरू उपाय लगाओस् अनि हामी विद्युतीय तारबार हटाउँछौं’, उनी भन्छन्।

विद्युतीय तारबारको करेन्ट लागेर मेचीनगर-९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गंगा थपलियाको साउन ३१ गते ज्यान गएको थियो। हल्दिबारी-३ को रनकाली सामुदायिक वनमा असार १४ गते तीन हात्ती मरेका थिए। वन उपभोक्ता समूहले हात्तीबाट बच्न वन वरिपरि तारबार लगाएको थियो। करेन्ट लागेर अर्जुनधारा-४ दहीझोडाकी २५ वर्षीया अनु लिम्बूको मृत्यु भएको थियो। उनको घर वरिपरि विद्युतीय बार राखिएको थियो। अनुकी बहिनी सुस्मिता घाइते भएकी थिइन्। मेचीनगर-३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको विद्युतीय बारमै परी २०७५ भदौ ६ मा मृत्यु भयो।

बाहुनडाँगीमा हात्ती धपाउन जाँदा उनलाई करेन्ट लागेको थियो। विद्युतीय बारमै परी भद्रपुर-१० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूले २०७४ असोज ९ मा ज्यान गुमाएका थिए। हल्दिबारी-३ की ६० वर्षीया छविमाया खड्काको २०७४ चैत १७ मा मृत्यु भयो। मकै गोड्ने क्रममा तार छुँदा उनलाई करेन्ट लागेको थियो। २०७२ असोज १४ मा हात्ती धपाउने क्रममा करेन्ट लाग्दा बाह्रदशी गाउँपालिका बुट्टाबारीका ५७ वर्षीय कृष्ण नेम्बाङको ज्यान गएको थियो। २०७० असार २१ मा विद्युतीय बारमा परी झापा र इलामको सीमामा पर्ने इरौटार-८ मा पोथी हात्ती म‍र्‍यो।

झापाका विभिन्न क्षेत्रमा डिभिजन वन कार्यालय, प्रहरी, प्रशासन र विद्युत प्राधिकरणको स्वीकृतिबिना हात्तीप्रभावित क्षेत्रका बासिन्दाले विद्युतीय बार लगाउँदै आएका छन्। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार २०६७ सालदेखि हालसम्म विद्युतीय तारबारमा परी ३९ जनाको ज्यान गएको छ। छावासहित ११ वटा हात्ती मारिएका छन्। हात्ती नियन्त्रणका नाममा तारमा करेन्ट प्रवाह गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ।

‘विद्युतीय बार नराख्न सामुदायिक वन र त्यस आसपासका बासिन्दालाई सचेत गराएका छौं’, उनी भन्छन्, ‘विद्युतीय बार मानव र जंगली हात्ती दुवैका लागि काल हो।’

उनका अनुसार जलथलमा सौर्य विद्युतीय तारबार जडान भइरहेको छ। त्यो सञ्चालनपछि वनमा लगाइएको विद्युतीय तारबार हटाइने उनी बताउँछन्। ‘यसले मान्छेलाई करेन्ट लाग्दैन तर हात्तीलाई भने दुई मिटर परैै झड्का दिन्छ’, उनी भन्छन्, ‘त्यसैले सौर्य विद्युतीय तारबार हात्ती र मानव दुवैका लागि एउटै सुरक्षा उपाय हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.