पहिलो युद्धस्थल होलेरीमा शान्ति स्मारक

पहिलो युद्धस्थल होलेरीमा शान्ति स्मारक

(होलेरी) रोल्पा : तत्कालीन जनयुद्धको पहिलो निशानामा परेकोे रोल्पाको होलेरीस्थित इलाका प्रहरी चौकीको भग्नावशेषलाई शान्ति स्मारक स्थानका रूपमा विकास थालिएको छ। तत्कालीन विद्रोही नेकपा माओवादीले २०५२ फागुन १ गते मध्यरातमा यही स्थानसहित तीनवटा चौकीमाथि फौजी आक्रमण गरी ‘दीर्घकालीन जनयुद्ध’ को घोषणा गरेको थियो।

उतिबेला बन्दुक र बमबारीको आवाजले रन्थनिएका होलेरीवासी यतिबेला शान्तिको सास फेरिरहेका छन्। गोलीको पर्र्रा छुटेको स्थलमै शान्ति स्मारक बन्दै गर्दा स्थानीयमा खुसी छाएको छ। होलेरीमा शान्ति प्रक्रियापछि विस्थापित इलाका प्रहरी चौकी पुनःस्थापित भएको छ। पुरानो भत्किएको घरदेखि पाँच सय मिटर पारीको अग्लो थुम्कामा नयाँ सुविधा सम्पन्न इलाका प्रहरी चौकी भवन बनिसकेको छ। युद्धको पहिलो तारो बनेपछि चर्चामा रहेको होलेरी चौकी २०५८ असार २७ गते दोस्रो आक्रमणमा परेको थियो।

दोस्रो आक्रमणमा ७१ जना प्रहरीलाई माओवादीले अपहरण गरेर लगेका थिए। त्यतिबेला सेना परिचालनका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रस्ताव गरेका थिए। राजा वीरेन्द्रले प्रस्ताव अस्वीकार गरेपछि कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा समेत दिएका थिए। त्यसकारण पनि होलेरी निकै चर्चामै रह्यो। विगतकोे स्मरण र शान्तिको सन्देश पैmलाउन प्रहरी चौकीको भग्नावशेषमाथि नै शान्ति स्मारक बनाउन थालिएको हो।

रुन्टीगढी गाउँपालिकाको सक्रियतामा गत आर्थिक वर्षदेखि स्मारक निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले जानकारी दिए। ‘युद्धको अवधिमा रुन्टीगढी गाउँपालिकाबाट ज्यान गुमाएकाको विवरण सहितको स्मारक बनाउँदै छौं’, उनी भन्छन्, ‘राज्य र विद्रोही पक्षबाट मारिएका सबैको विवरण तयार भइसकेको छ।’ लघु पार्क सहितको शान्ति स्मारक बनाउन विस्तृत परियोजना बनाउने लक्ष्य गाउँपालिकाले लिएको पर्यटन फोकल पर्सन दिपक डिसी बताउँछन्।

‘प्रहरीको स्वामित्वमा रहेको जग्गा वरीपरीको सार्वजनिक भूभाग समेटेर पार्क बनाइनेछ’, डिसीले भने, ‘रुन्टीगढीको समग्र पर्यटन विकासका लागि पहल भइरहेको छ।’ युद्ध थालनी भएको होलेरीमा शान्ति स्मारक बनाउँदा युद्ध पर्यटनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। गत आर्थिक वर्षको १० लाख बजेटबाट स्मारक निर्माण थालिएको हो। स्मारक परिसरमा पहिलो र दोस्रोपटक चौकी आक्रमण हुँदाको झलक दिने संरचना (डेमो) बनाउने सोच अघि सारिएको छ। आउँदो फागुन १ गतेसम्म स्मारकको उद्घाटन गर्ने तयारीसहित निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ।

सहिद मार्गको सुरुआत हुने केन्द्र नै होलेरी हो। पार्कमा सहिद मार्ग परिचयसमेत राखिनेछ। युद्ध चलिरहेकै बेला तत्कालीन माओवादीले मानिसलाई निःशुल्क परिचालन गरी सहिद मार्ग खनाएको थियो। शान्तिकालमा सहिद मार्गको ट्रयाक होेलेरी हुँदै थबाङ र पुर्वी रुकुमसम्म खनिएको छ। अध्येता र आन्तरिक पर्यटक होलेरी आउने गरेको स्थानीय बताउँछन्। सहिद मार्ग हुँदै अध्ययन र अवलोकनका लागि जिल्ला आउँदा शान्तिको आभाससहित विगतको स्मरण दिलाउने स्मारक बन्न थालेको भन्दै स्थानीय खुसी छन्।

रुन्टीगढीकै समग्र पर्यटकीय क्षेत्रको विकास गरी अघि बढ्नुपर्ने स्थानीय ऋषिराम श्रेष्ठले बताए। छिमेकी दाङ घोराहीबाट २९ किलोमिटरमा होलेरी पुग्न सकिन्छ। एशियाकै ठूलो उपत्यका घोराहीको उखरमाउलो गर्मी छल्न होलेरी गतिलो गन्तव्य बन्नेमा स्थानीय विश्वस्त छन्। घोराहीबाट ४५ मिनेटमा पहाडी होलेरी पुग्दा चिसो हावाको अनुभव हुन्छ। प्यूठानको स्वर्गद्वारी पुग्ने प्रवेशद्वार मानिने होलेरीमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.