पद्मसम्भवको गुम्बामा भीड
जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ स्थित मराङको घरगुम्बा नेपालकै पुरानो गुम्बा मानिएको छ। गुम्बा ८औं सेन्चुरी अर्थात् १३ सय वर्षअघि गुरु रिम्पोछे अर्थात् पद्म्मसम्भवले निर्माण गरी छाडेका हुन्।
मराङस्थित ‘घर’ गुम्बा नेपाल र तिब्बतमा गुम्बा निर्माण हुनुअगावै बनेको कागबेनी छोदे गुम्बाका खेम्बो तेन्जिङ साङ्वोले जानकारी दिए। निकै पुरानो र प्राचीन यस गुम्बाको संरचनाले ढुंगा र माटोले निर्माण भएको छ। दुई तले यस गुम्बामा पद्मसम्भवको ठूलो मूर्ति प्रतिस्थापन गरिएको हो। यहाँ निङ्पा लामाहरूले दैनिक पूजापाठ गर्छन्।
घर गुम्बा धार्मिक तथा ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको साङ्वोले बताए। उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकले यस गुम्बाको अध्ययन र अवलोकन गर्ने गरेको पाइएको छ। बौद्ध ग्रन्थअनुसार गुम्बा निर्माणको ऐतिहासिक कथा छ। गुरु रिम्पोछे अर्थात् पद्मसम्भव भारतीय थिए। उनको जन्म कमलको फूलबाट भएको थियो। उनी निकै शक्तिशाली र पराक्रमी थिए। जस्तोसुकै चुनौती र अवरोधलाई पन्छाउन सक्ने सामथ्र्यता उनमा थियो।
पद्मसम्भव बुद्ध धर्मका एक पूर्ण अभियन्ता भिक्षु नै थिए। गुम्बाको कथाअनुसार टिबेटमा सबैभन्दा पुरानो गुम्बा ‘सम्य’ गुम्बा हो। तर यो गुम्बा अघि नै मराङमा गुम्बा बनिसकेको बौद्ध किंवदन्तीमा उल्लेख छ। टिबेटको ‘सम्य गुम्बा त्यसबेलाका राजा सोङचोङ गुम्बाको पालामा निर्माण भएको हो। राजा स्रङच्रङ गम्पोले त्यसबेला नेपालकी चेली भृकुटीसँग वैवाहिक सम्बन्ध जोडेका थिए। तिब्बतमा ‘सम्य’ गुम्बा निर्माण गर्नुअघि बुद्ध धर्मका विरोधीले विभिन्न प्रकारका बाधा अड्चन र अवरोध पुर्याएको बुझिन्छ।
ती अवरोध गर्ने विरोध शक्तिलाई ग्रन्थमा राक्षसको संज्ञा दिइएको छ। गुम्बा निर्माणमा राक्षसी शक्तिले अवरोध र दुःख दिने गरेपछि राक्षसलाई बध गर्न तिब्बतका राजा स्रङच्रङले पद्मसम्भवलाई तिब्बतमा झिकाइएको साङ्वोले सुनाए। पद्मसम्भवलाई पूजापाठ गरी राक्षस विस्थापित गर्न रिम्पोछेलाई झिकाइएको थियो। राक्षस शक्तिले राम्रा कुरालाई बाधा पुर्याउने गथ्र्यो।
त्यहाँ अवरोध गर्ने दुईजना सिंगो (राक्षस) थिए। टिबेटमा बौद्ध धर्म स्थापना गर्न दुई राक्षस शक्ति बाधक बन्थे। राजाको निमन्त्रणामा पद्मसम्भव राक्षस धपाउन तिब्बत पुगे। रिम्पोर्छेले ती राक्षसलाई धपाउँदै मुस्ताङको जोमसोम ल्याएका थिए। थासाङ २ स्थित कोवाङको धौलागिरी बेस क्याम्पनजिकै गुरु साङ्वो गुफा छ। जुन गुफा राक्षससँग सामना गर्दा उपचार कक्षको रूपमा प्रयोग गरिएको थियो। त्यहाँ रिम्पोछेको जीवनीसँग जोडिएको गुरु शंखु अर्थात् गुफा छ।
राक्षस धपाउने क्रममा लुप्रा पान्डा खोलामा वारीपारीका २ पहाडलाई जोडेर पद्मसम्भवले घेराबन्दी गर्न खोजिएको भन्ने भनाइ छ। तर त्यहाँ पनि पद्मसम्भवको जालोबाट फुत्किएर पुनः राक्षसमाथि लागेको ग्रन्थमा उल्लेख छ। लुप्रा पान्डा खोलाको भित्तातिर पद्मसम्भवको टाउको छाप अझै जीवितै छ भने त्यहाँ सानो पूजा गर्ने गुम्बा निर्माण भएको छ। कतिपय बुझाइमा गुरु रिम्पोछेले डोल्पाबाट राक्षसलाई लखेट्दै आएको भन्ने भनाइ पनि छ।
राक्षस लखेट्ने क्रममा उनले बारागुङ मुक्ति क्षेत्रको तेताङमा नुन निकालेको हुनाले त्यस ठाउँमा नुन खानी उत्पन्न भएको जनविश्वास छ। सिङरवो (राक्षस) उकालो लागेपछि पछ्याउने क्रममा रिम्पोछे चुङ्सी गुफामा ध्यान गरे। त्यहाँ रिम्पोछेका खजाना र पाइलाका डाम छन्। लोघेकर दामोदर कुण्डको घमी खोला पारी दुई राक्षस पक्रन रिम्पोछे सफल भए। त्यहाँ राक्षसको आन्द्रा निकालेर फालेकाले पद्मसम्भवले रिम्पोछेले छोर्तेन बनाएर छाडे। त्यसपछि ढाक्मरमा पुग्दा राक्षसको कलेजो र रगत निकालेर पद्मसम्भवले भित्तामा फाल्दा भित्ता सबै रातो हुन पुगेको ग्रन्थमा लेखिएको छ।
यसपछि पद्मसम्भवले राक्षसको अन्तिम समाधि मराङमा गरेका थिए। राक्षसको मुटु निकालेर नियन्त्रणमा लिएकाले त्यहाँ गुम्बा बनाइएको हो। पद्मसम्भवले राक्षसको बध गरेको स्थानमा कुनै बाधाअड्चन नहोस् भनेर घर गुम्बाको निर्माण गरेका थिए। मराङस्थित घर गुम्बापछि टिबेटको सम्य गुम्बा बनेको हो। हाल उपल्लो मुस्ताङमा दर्जनौं गुम्बा निर्माण भइसकेको छ। गुरु रिम्पोछे आगमनपछि मुस्ताङमा बौद्ध धर्म बिस्तार भएको साङ्वोले जानकारी दिए। यस्तै बौद्ध धर्म विस्तारमा आमापालको पनि देन छ।