भीटेन भन्दा कडा ‘भीटीएम’ खोज्दै प्रहरी
ललितपुर : केही दिन पहिला महानगरिय प्रहरी परिसर ललितपुरमा गायक भीटेनलाई पक्राउ गरिएको विषयमा गुनासो आयो। गुनासो गर्नेले परीसरका प्रमुख टेकप्रसाद राईलाई भने, ‘भीटेनलाई पक्राउ गर्ने तर भीटीएमलाई चाँहि पक्राउ नगर्ने?’
उनीहरुको गुनासो आएपछि मात्र प्रहरीले भीटीएमको बारेमा युट्युबमा हेरेको तथा अनुसन्धान थालेको राईले बताए। राई भन्छन्, ‘भीटेनको भन्दा सयौँ गुणा भल्गर रहेछन् भीटीएमका शब्द।’ हुन पनि उनका गीतमा सुन्नै नसकिने खालका छाडा शब्द छन्।
राईका अनुसार यो विषयको बारेमा प्रहरी प्रमुख कार्यालय साइबर ब्यूराेमा अवगत गराइसकिएको छ। परिसरले पनि आफनो तर्फबाट अनुसन्धान गरिरहेको जनाएको छ। ‘भीटीएम वास्तवमा को हुन र कहाँबाट संचालित छन् यस विषयमा अनुसन्धान भइरहेको छ,’राईले भने, ‘तर कतिपय कुराहरु प्रहरीको बसमा नहुने रहेछ ।’
प्रहरीले अनुसन्धान गर्न चाहे पनि अन्य निकायबाट अनुमती लिनुपर्ने छ भन्ने उनको भनाइ छ । भीटेनले एक खालको प्रसिद्धि कमाएको लोभमा भीटीएमले पनि यस्तो हर्कत गरेको अनुमान प्रहरीले लगाएको छ। राईले भने, 'गीतकाे भ्यू (हेर्नेको संङ्ख्या) बढाउन यस्तो गरेको हुनुपर्छ, शब्दहरु सुन्न सकिने खालका छैनन।’ तर कस्ता गीतसंगीत गाउन पाउने, कस्तालाई युट्युबमा राख्ने जस्ता कुराको उचित नियमन नभएकाले यी समस्या आएको ठम्याई उनको छ।
सञ्चार मन्त्रालयले यस्ता कुरामा नियमन तथा नियन्त्रण गर्न सक्नेछ। तर, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्र गुरुङले गीतसंगीत तथा नाट्य विधा आफनो कार्यक्षेत्रमा नपर्ने बताए। सञ्चार मन्त्रालयले वेवसाइट, युट्युब तथा साइबरसँग सम्बन्धित घटना गृहमन्त्रालय तथा संस्कृति तथा पर्यटन मन्त्रालयको अनुमती लिएर मात्र हटाउन सक्ने प्रावधान रहेको जानकारी दिए।
‘गृहमन्त्रालयले शान्तिसुरक्षाको हिसाबले गलत हो भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ,’ गुरुङले भने ‘पर्यटन मन्त्रालयले पनि गलत हो भनेर लेखीदिएपछि मात्र हटाउने अधिकार हुन्छ।’
भीटेन पक्राउको विषयमा सबैले विरोध गरेपनि एउटा संस्कारको विकास गर्न मात्र पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ। उनलाई पक्राउ गरेपछि अरुले पनि यस्तै नगरोस भन्ने सन्देस दिन चाहेको बताएको र वाक स्वतन्त्रता भन्दैमा जे पायो त्यही गाउन पाइन्न, समाजमा छाडा प्रवृत्तिलाई प्रश्रय दिनुहुँदैन भन्न चाहेको प्रहरीले जनाएको छ।