निमोनिया हुन नदेऊ है
भाइबहिनीहरू, अहिलेको समय निमोनिया हुने बेला हो। निमोनिया भन्नाले श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने संक्रमण हो। यसले फोक्सोमा असर गर्छ। डा. झलक शर्मा गौतमका अनुसार फोक्सोमा भएको ससाना हावा भरिने थैलीहरूमा पिप र तरल पदार्थले भरिन्छ। यसले गर्दा सास फेर्न धौ धौ हुन्छ। शरीरलाई अक्सिजन पनि पुग्दैन।
निमोनिया सामान्यदेखि गम्भीर प्रकृतिको हुन्छ। नेपालजस्तो विकासोन्मुख मुलुकमा बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये निमोनिया पनि एक हो। सामान्य ध्यान दिने हो भने यो रोगबाट जोगिन सकिन्छ।
के कारण हुन्छ निमोनिया ?
बाहिरी वातावरणमा रहेका जीवाणु, कीटाणु, ढुसीलगायतले निमोनिया गराउने डा. गौतम बताउँछन्। स्ट्रेप्टोकोकस ब्याक्टेरिया, न्युमोनी, इन्फ्लुएन्जा टाइप बी लगायतका जीवाणु निमोनिया गराउने तत्त्व हुन्। त्यस्तै विभिन्न नाम गरेका विषाणु र ढुसीले निमोनिया गराउँछन्।
कसरी फैलन्छ ?
निमोनिया धेरै तरिकाले फैलन्छ। धेरैजसो बालबालिकाको नाक र घाँटीमा रहेका विषाणु र जीवाणुहरू श्वास फेर्दा वा कुनै माध्यमले फोक्सोमा पुगे भने फोक्सोमा संक्रमण हुन पुग्छ। खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण गराउने सम्भावना रहन्छ।
शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिकालाई निमोनियाले सताउँछ। खासगरी कुपोषित, आमाको दूध राम्रोसँग खान नपाएका, दादुराको संक्रमण भएका बालबालिकामा निमोनियाको संक्रमण बढी हुने जोखिम रहने डा. गौतमको भनाइ छ। त्यस्तै, वातावरणमा भएका धुलो, धुवाँ, धूमपान र भीडभाडमा बसोबास गर्नेहरूलाई पनि निमोनियाले सताउँछ।
लक्षण
खोकी लाग्ने
सास फेर्न गाह्रो हुने
छिटो छिटो सास फेर्नुपर्ने
घाँटी कराउन सक्ने
ज्वरो आउन वा नआउन सक्ने
ससाना बालबालिकाले खानेकुरा खान पनि नसक्ने
शरीरमा कम्पन हुने
शरीरको तापक्रम कम हुने
बेहोस हुने
उपचार
निमोनियाको लक्षण देखिनेबित्तिकै उपचार गर्नेतर्फ ध्यान दिनुपर्छ। आफूखुसी औषधि सेवन गर्नु हुँदैन।
स्वास्थ्यकर्मीको सल्लाहमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि सेवन गर्नुपर्ने डा. गौतमको भनाइ छ। गम्भीर खालको निमोनिया भएको छ भने बिरामी बेहोस हुने हुन्छ। यस्तो बेला अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ।
खोप लगाऔं
डा. गौतमका अनुसार खोप लगाएपछि निमोनियाबाट बच्न सकिन्छ। हेमोफिलस इन्फ्लुएन्जा, न्युमोकोक्कस, दादुरा, लहरे खोकी आदि विरुद्धको खोप लगाउने हो भने पनि निमोनियाबाट जोगिन सकिने डा. गौतमको भनाइ छ। यी खोपहरू जन्मेदेखि १५ महिनासम्मको उमेरमा लगाउनुपर्छ। नेपाल सरकारले यी खोपहरू निःशुल्क उपलब्ध गराएको छ।
त्यस्तै तिमीहरू धुलो धुवाँबाट जोगिन सक्यौ भने पनि निमोनियाबाट बच्न सक्छौ। त्यस्तै कोही धूमपान गरिरहेको व्यक्ति छ भने पनि नजिक नजाऊ है।