‘हरेकलाई हतार हुने अचम्मको शहर हो यो’

‘हरेकलाई हतार हुने  अचम्मको शहर हो यो’

आरामै हुनुहुन्छ, सर?

आरामै छु । 

ट्राफिक प्रहरी भएर सेवा गर्न थालेको कति भयो ?

पाँच वर्ष भयो। 

सरको घर कता पर्‍यो?
पोखरा। 

दशैँ कसरी मनाइयो?
यही ब्यारेकमा सरहरूको हातबाट टीका लगाएर मनाइयो। 

चाडपर्वमा घर जान नपाउँदा कत्तिको दुःख लाग्छ?
पहिला–पहिला अरूको निधारमा रातो टीका र आफ्नो निधार खाली हुँदा दुःख लाग्थ्यो। अहिले त खासै फरक पर्दैन। बानी परिसक्यो । 

कति कक्षासम्म पढ्नुभएको छ?
एमबीएस गरिसकेँ। 

एमबीएस गरेको मान्छे, ट्राफिक प्रहरी कसरी बन्नुभयो?
पहिलादेखि नै फोर्समा काम गर्ने रहर थियो। त्यही रहरले यता डोर्‍यायो।

ट्राफिक प्रहरीमा आउनुअघि पनि केही काम गर्नुहुन्थ्यो कि?
प्लस टू सकेर केही समय बोर्डिङ स्कुलमा पढाएँ। मास्टर्स गर्दा मार्केटिङको काम गरेँ।

कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
एकदमै सन्तुष्ट छु। सरकारले योग्य ठानेर छानेको छ। आफूले सकेजति गरेकै छु। खानलगाउन पुगेकै छ। खुशी छु। 

कोटेश्वर एरियामा ड्युटी गर्न कत्तिको गाह्रो छ?
अलि गाह्रै छ। 

किन?
यहाँ सवारीको चाप एकदमै धेरै हुन्छ। एक मिनेट फुर्सद हुँदैन। पैदलयात्रीदेखि चालक सबैलाई हतार हुन्छ। हरेकलाई हतार हुने अचम्मको शहर हो यो। एकदमै व्यस्त चोक हो। लेन मिलाउन र जाम खुलाउनै गाह्रो हुन्छ। पैदल यात्री जहाँ पायो, त्यहीँ बाटो काटिदिन्छन्। दुर्घटना हुने डर त्यति नै हुन्छ। एकदमै चनाखो भएर ड्युटी गर्नुपर्छ।

अहिले मापसेले गर्दा सवारी दुर्घटना हुन्छ कि नाइँ? 
दिनमा तीनचार वटा मापसेका केस आउने गर्छन्।

मापसेबाट हुने दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीबाट के कस्ता काम भएका छन्?
त्यसका लागि मापसे चेकिङमा कडाइ गरेका छौँ। 

कोटेश्वर प्रभागले हेर्ने कुन–कुन ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिएको छ?
बानेश्वर, बिजुलीबजार, सुविधानगर, तीनकुने, जडीबुटी आदि ठाउँमा क्यामेरा जडान गरिएको छ। 

क्यामेरा जडान हुँदा र नहुँदा के कस्तो फरक छ?
धेरै फरक छ। क्यामेरा जडान गरेपछि चालक जानी–जानी गल्ती गर्न डराउँछन्। ‘हिट एन्ड रन’को केसमा काम गर्न सहज भएको छ। 

ट्राफिक प्रहरी बिरामी हुँदा के कस्तो उपचार सुविधाको व्यवस्था छ?
फोर्सको आफ्ै अस्पताल छ महाराजगञ्जमा। त्यहीँ गएर उपाचार गरिन्छ। 

ट्राफिक प्रहरीमा कस्ता गुण हुनुपर्छ?
एकदमै सहनशील हुनुपर्छ। कसैको दबाबमा नपर्ने हुनुपर्छ ट्राफिक प्रहरी। 

तालिमको अनुभव कस्तो रह्यो? 
तालिमताका म र मेरो साथी सधैँ भाग्ने योजना बनाउँथ्यौँ। हामीले भाग्ने तयारी गरिसकेपछि एक जना साथीले सम्झाए। हामी कामका लागि नभई देशसेवाका लागि तालिम गरिरहेको भनेर सम्झाए। त्यसपछि हामीले कहिल्यै भाग्ने सोच बनाएनौँ। 

ट्राफिक प्रहरीले ड्रेसमा सार्वजनिक यातायात चढ्दा कस्तो महसुस हुन्छ?
ट्राफिक प्रहरी भएर पनि सार्वजनिक गाडी चढेको भन्दै अरूले कस्तो–कस्तो ठान्छन्। 

सडकपेटीबाट मोटरसाइकल चलाउनेलाई कारबाही गरिन्छ?
मज्जाले गरिन्छ। लापर्बाहीको दफाअनुसार कारबाही गरिन्छ। 

सडकमा छोडिएका गाईबस्तुले कत्तिको दुःख दिन्छन्?
एकदमै दुःख दिन्छन्। गाईबस्तु जथाभावी बसिदिन्छन्, सवारीसाधनको गति उस्तै हुन्छ। सडकमा ड्युटी गर्दा गाईबस्तु धपाउनु कि जाम खुलाउनु, तनाव हुन्छ।

फुर्सदमा के गर्नुहुन्छ?
परिवारलाई समय दिन्छु। 

घुम्न कत्तिको मन पराउनुहुन्छ?
घुम्न त एकदमै मन पराउने मान्छे हुँ म। तर, खासै फुर्सद हुँदैन। 

जान  मन लागेको ठाउँ कतै छ कि?
जान रहर लागेको ठाउँ मुस्ताङ हो। 

प्रस्तुतिः आशक्ति फुयाल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.