सडक दुर्घटनाको ग्राफ बढ्दो

सडक दुर्घटनाको ग्राफ बढ्दो

काठमाडौं : सिन्धुपाल्चोकस्थित सुनकोसी नदीमा आइतबार बस खस्दा १७ जनाले ज्यान गुमाए। दोलखाको मागा देउरालीबाट काठमाडौं फर्किएको बस दोलखाको मुडेमा पत्ता मर्मत गरेर हुइँकिएको थियो। बसका यात्रुले थप यात्रु नकोच्न आग्रह गर्दासमेत चालकले अटेरी गरे। तीव्र गतिमा गुडेको बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना भयो। उद्धारकर्मीले ५१ जना घाइतेको उद्धार गरेका थिए।

म्याग्दीको मालिका गाउँपालिकामा पनि आइतबार नै बस दुर्घटना भयो। चार जनाले ज्यान गुमाए। लुरवाङको गलघण्टी घुम्तीबाट बस भीरबाट दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा १५ जना घाइते भएका थिए। साँखुको फेदीमा गत बिहीबार बस दुर्घटना भयो। क्षमताभन्दा बढी यात्रु बोकेर सिन्धुपाल्चोक मेलम्चीबाट हुइँकिएको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा ५७ जना घाइते भए।

यी प्रतिनिधिमूलक घटना मात्रै हुन्। नेपालमा बर्सेनि सडक दुर्घटनाबाट दुई हजारभन्दा बढीको मृत्यु हुँदै आएको तथ्यांकले देखाउँछ। प्रहरी प्रधान कार्यालयका अनुसार ०७४÷७५ मा १० हजार नौ सय ६५ वटा सडक दुर्घटना भएका थिए। दुर्घटनामा दुई हजार पाँच सय ४१ जनाको मृत्यु भएको थियो। ०७५÷७६ मा १३ हजार ३ सय ६६ वटा सडक दुर्घटना भएका थिए। दुर्घटनामा २ हजार ७ सय ८९ जनाको मृत्यु भएको थियो। दुर्घटनाको संख्यासँगै मृत्युदर बढ्दै गरेको आँकडाले पुष्टि गरेको छ।

यस आर्थिक वर्षको असोजसम्म ७ हजार ३ सय २ वटा दुर्घटना भएको प्रहरी मुख्यालयले जनाएको छ। दुर्घटनामा ९ सय ४० जनाले ज्यान गुमाएका थिए। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै हो। गत आर्थिक वर्षको कुल दुर्घटनामध्ये ९ हजार ९ सय १९ वटा दुर्घटना चालककै लापरबाहीबाट भएको देखिन्छ। दुर्घटनाको दोस्रो कारण तीव्र गतिमा सवारी हाँकेर भएको आँकडाले देखाउँछ। गत आर्थिक वर्षको कुल दुर्घटनामध्ये दुई हजार एक सय ७१ वटा दुर्घटना तीव्रगतिकै कारण भएको देखिन्छ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुर्घटना बर्सेनि बढ्नुको कारण चालककै लापरबाही रहेको बताए। ‘चालककै लापरबाहीले तीव्र्र गतिमा बस हुइँकाउने, ओभरटेक गर्ने, सवारी हाँक्दा फोन गर्ने, ओभरलोड यात्रु राख्ने समस्या देखिएका छन्,‘ उनले भने,‘ सवारी साधन र बाटोको अवस्थाले पनि दुर्घटना निम्त्याएको देखिन्छ।’ पटक-पटक कक्षा लिएर चेतनामूलक शिक्षा दिए पनि चालकमा परिपक्वता नआउँदा दुर्घटना बढेको पोखरेलले जानकारी दिए। उनले यात्रु, सवारी व्यवसायी र चालकबीच त्रिपक्षीय सचेतना हुँदा दुर्घटना न्यूनीकरणमा ठोस बल पुग्ने बताए।

रोड ट्राफिकविज्ञ आशिष गजुरेलले दुर्घटना खासगरी चार वटा कारणले हुँदै आएको बताए। उनले भने, ‘सडकको अवस्था, पुराना सवारी साधन, सडक प्रयोगकर्ता (यात्रु, चालक र पैदलयात्री) मा लापरबाही र भएका नियम, कानुनको फितलो कार्यान्वयनले दुर्घटना निम्त्याएको देखिन्छ।’ गजुरेलले सडकको क्षमताभन्दा बढी जथाभावी सवारी रुट वितरण र सवारीको यान्त्रिक अवस्थाको मूल्यांकन नै नगरी सवारी चल्न अनुमति दिँदासमेत दुर्घटना हुने गरेको बताए। उनले सडक सुरक्षाका लागि सरकारले एउटा काउन्सिल नै गठन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने,‘ हाम्रोमा सडकलाई हेर्ने थुप्रै निकाय छन् तर समन्वय छैन। अब सरकारले बेलैमा सडक सुरक्षा परिषद् बनाएर २४ सै घण्टा सडकलाई नै प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।’

कहिले कति दुर्घटना

आर्थिक वर्ष - दुर्घटना संख्या - मृत्यु संख्या

२०७१÷०७२ - ९१४५ - २००४

२०७२÷०७३ -१००१३ - २००६

२०७३÷०७४ -१०१७८ - २३८४

२०७४÷०७५ -१०९६५ - २५४१

२०७५÷०७६ -१३३६६ - २७८९

२०७६÷०७७ -७३०८ असोजसम्म - ९४०


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.