सुनकोशीमा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो
सिन्धुपाल्चोक। दोलखा : सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा खस्दा छ बालबालिकासहित १८ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।सोमबार बिहान नेपालथोकमा एक बालिकाको शव भेटिएको हो।
बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको छ । सोमबार बिहानसम्म १७ जनाकै सनाखत भएको छ । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार मृत्यु हुने अन्यमा काभ्रेको रोशी गाउँपालिका–५ की सजिना तामाङ, पूरा ठेगाना नखुलेकी दोलखाकी उर्मिला मोक्तान, अर्का वतन नखुलेका तीनमहिने शिशु रोशन तामाङ र शैलङ–४ का दिल लामा रहेका छन् । बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ–४ की ६ वर्षीया बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो ।
घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ । गम्भीर दुईजनालाई काठमाडौं रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन् ।
स्काभेटरले नदीबाट बस निकालेपछि घाइतेको उद्धार गरिएको थियो । उद्धारका लागि रिसोर्टका र्याफ्टिङ बोट पनि प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।
उद्धारका लागि स्थानीय, र्याफ्टिङ गाइड, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका थिए । नदीमा केही यात्रु बेपत्ता भएको आशंकाले सोमबारपनि नदी किनारमा खोजी कार्य जारी राखिएको छ ।
बगाएपछि मात्र होस आएछ
मुडेमा आइपुग्दा बस बिग्रियो । पत्ता भाँचिएको भन्दै मर्मत गरी बस गुडेको थियो । गाडीको अवस्था भने त्यति ठिक थिएन । टायरको नट खुस्केको हल्ला चलिरहेको थियो । पछिल्लो सिटमा बस्नेले यात्रु नथप्न आग्रह गरिरहेका थिए । तर ठाउँ ठाउँमा रोकेर यात्रु चढाइएको थियो । बसको गति तीव्र्र नै थियो । अँधेरीमा आएर खाना खायौं ।
खाना खाएर हिँडेको १० मिनेट नबित्दै बस नदीमा खस्यो । नदीको छालले बगाएपछि मात्र होस आएछ । होस आउँदा गाह्रो भइरहेको थियो । भाग्यले बाँचियो जस्तो लाग्छ । हामी पाँचजना दोलखा घुम्न गएका थियौं । एकजना साथीको अवस्था गम्भीर भएर काठमाडौं रिफर गरिएको छ । विजय तामाङ भन्ने साथी कहाँ छ सम्पर्क हुन सकेको छैन । हामी तीनजना चाहिँ धुलिखेल अस्पतालमा उपचार गराइरहेका छौं ।
(दुर्घटनाका घाइते निरक श्रेष्ठसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस !