खरिद गरेको ३ महिनापछि १६ एम्बुलेन्स स्वास्थ्य संस्थालाई हस्तान्तरण
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका एम्बुलेन्स स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । ३ महिना अगाडि खरिद गरेका एम्बुलेन्स बुधबार धनगढीमा हस्तान्तरण गरेको हो । गएको साउन अन्तिम साता अत्याधुनिक १६ वटा एम्बुलेन्स प्रदेश सरकारले खरिद गरिएको थियो ।
एम्बुलेन्स हस्तान्तण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा एम्बुलेन्स अभावले बिरामी ज्यान गुमाउनु नपर्ने बताए । उनले एम्बुलेन्सको रेखदेखदेखि सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई नै दिएको बताए । 'एम्बुलेन्स प्रदेशका सम्पति हुन्, 'उनले भने, 'रेखदेख र पालनपोषणको काम स्थानीय तहको हुने छ।'
सुरुमा प्रदेशका पहाडका १६ वटा निर्वाचन क्षेत्रलाई दिने भने पनि हाल आएर हेरफेर गरिएको छ । प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको हो । प्रदेशको सामाजिक मन्त्रालयले भन्सार छुट गरी सवा ६ करोडमा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो ।
३९ लाख ७ हजारका दरले 'बी ग्रेड' का एम्बुलेन्स खरिद गरेको सामाजिक मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । सरकारी प्रयासमा पहिलो पटक 'बी' ग्रिडका एम्बुलेन्स खरिद गरेको कार्कीले जानकारी दिए । 'बी ग्रेड' को एम्बुलेन्समा सबै आकस्मिक उपकरण सँगै ट्राभलिङ भेन्टिलेटर, अटोमेटेड एक्सटर्नल डिफ्राइब्रिलेटर, चेस्ट ड्रेनेज ट्युब, हेमो स्टेटिक सेटबाहेक ‘ए ग्रेड’का सबै उपकरण र सुविधा रहेको छ ।
एम्बुलेन्स चालक पनि तालिम प्राप्त हुने छ । सुविधायुक्त उक्त एम्बुलेन्समा स्वास्थ्यकर्मी पनि संगै हुने छन् । गर्भवती र ७० बर्ष भन्दा माथिका बृद्धलाई ५० प्रतिशत छुट हुनुपर्ने सम्झौता गरिएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।
सामाजिक मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले दिएको जानकारी अनुसार बाजुरा बढीगंगा नगरपालिका टाटेँ स्वास्थ्य चौकी, दार्चुला दुहु गाउँपालिका हिकिला स्वास्थ्य चौकी, नौगाड गाउँपालिका खार स्वास्थ्य चौकी, बैतडी पञ्चेश्वर गाउँपालिका कुलाउ स्वास्थ्य चौकी, डिलासैनी गाउँपालिका डिलसैनी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।
बझाङ छविसपाथि भेरा मटेला स्वास्थ्य चौकी, केदारस्युँ गाउँपालिका रायल स्वास्थ्य चौकी, डडेल्धुरा परशुराम नगरपालिकाको जोगबुढा अस्पताल, नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हुन् ।
त्यस्तै डोटी जिल्ला अस्पताल, अछाम जिल्ला अस्पताल र साफेँ नगरपालिकाको बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी गाउँपालिकाको बान्नीगढी स्वास्थ्य चौकी, कमलबजा प्राथमिक स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । यस्तै तराईका दुई जिल्लाका कञ्चनपुर महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पातललाई हस्तान्तरण गरिएको हो ।