आँखा अप्रेसन निःशुल्क

आँखा अप्रेसन निःशुल्क

परासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले स्थानीयवासीको आँखा अप्रेशन निःशुल्क गरिदिने भएको छ। अप्रेशनसँगै जुनसुकै अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगतवापत लाग्ने रकमसमेत गाउँपालिकाले व्यहोर्ने भएको छ।

गाउँपालिकामा बसोबास गर्ने स्थानीयको जुनसुकै प्रकृतिको आँखा अप्रेसन गर्नुपर्ने भए पनि त्यसवापत लाग्ने शुल्क गाउँपालिकाले भुक्तानी गर्ने अध्यक्ष राधेश्याम चौधरीले बताए। त्यसका लागि परासीस्थित डा. विनोद निता आँखा अस्पतालसँग सम्झौता गरिएको छ। जुनसुकै प्रकृतिका बिरामीलाई आवश्यक पर्ने रगतको रकमसमेत गाउँपालिकाले भुक्तानी गर्नेछ। रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी नवलपरासी शाखासँग सम्झौता गरिएको छ।

रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने भए पनि रगत जाँच र ब्यागवापत प्रतियुनिट (एक पोका) ८ सय ५० रुपैयाँ लिँदै आएको छ। दुवै सेवा लिन वडाको सिफारिसका आधारमा गाउँपालिकाले अस्पताल र रेडक्रसलाई निःशुल्कका लागि सिफारिस गर्नेछ। आँखा अप्रेसन र रगतवापत लाग्ने शुल्क अस्पताल र रेडक्रसलाई गाउँपालिकाले वार्षिक रूपमा एक मुष्ठ भुक्तानी गर्नेछ।

विपन्न समुदायलाई लक्षित गरेर गाउँपालिकाले निर्णय गरे पनि यो सेवा सबै स्थानीयलाई लागू हुने प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए। आँखा अप्रेशन गर्न सामान्यत ८ देखि १० हजार रुपैयाँ लाग्ने भएकाले त्यसैको अनुमानमा यस वर्ष गाउँ परिषद्ले अप्रेसनका लागि ५ लाख र रगतका लागि ३ लाख गरी कूल ८ लाख रुपैयाँ छुट्टाएको रेग्मीले बताए। ‘अपुग भए गाउँपालिकाको कोषबाट थप रकम व्यवस्था गरिने छ’, रेग्मीले भने।

विद्यार्थीलाई बैंक खाता

गाउँपालिकाले विद्यार्थीलाई बैंक खाता अनिवार्य गरेको छ। बैंक खाता नखोल्ने अभिभावकलाई सेवा सुविधाबाट समेत वञ्चित गरिने गाउँपालिकाले नीति बनाएको अध्यक्ष चौधरीले बताए। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अभिभावक संरक्षक रहने गरी खाता खोलेपछि मात्र स्थानीय तहबाट सेवा सुविधा पाउनेछन्।

स्थानीय तह र केन्द्रबाट आउने शिक्षा तथा खेलकुदका लागि आउने छात्रवृत्ति, पोशाक, पाठ्यक्रम र खाजा खर्चवापतको रकम सोझै विद्यार्थीको खातामा जम्मा गरिनेछ। रकमको दुरुपयोग हुन नदिन यो नियम लागू गरेको अध्यक्ष चौधरीको भनाइ छ। स्थानीय तहमार्फत विद्यालयमा जाने रकम विद्यालयले अन्य शीर्षकमा खर्च गर्ने र न्यून रकम मात्र विद्यार्थीलाई दिने गरेको गुनासो आएपछि गाउँपालिकाले यस्तो नीति अपनाएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीको भनाइ छ।

‘बैंकमार्फत कारोबार गर्ने र रकम बचत गर्ने बानी विकास गर्न पनि यो नीति प्रभावकारी हुने विश्वास लिएका छौं’, अधिकृत रेग्मीले भने। गाउँपालिकाभित्र १६ सामुदायिक विद्यालयमा ५ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.