विपन्नलाई जस्तापाता
गुल्मी : दुईछाक खाना जुटाउनै मुस्किल पर्ने मालिका गाउँपालिका–६ अर्जैका पदमबहादुर विकलाई घरको छानो फेर्ने सपनाजस्तै थियो। ५० वर्षीय विक जन्मेदेखि खरकै झुपडीमा जीवन बिताइरहेका थिए। ‘यही खरको छानोमुनि नै मरिने हो की भन्ने चिन्ता थियो’ उनले भने, ‘गाउँमा जस्तापाता हालेपछि मात्रै हुनेखाने मान्छन्, अहिले वडा कार्यालयले जस्ता लगाएदेखि परिवारमा खुसी छाएको छ।’
बर्खाभरी पानी चुहिएर बस्नै नसकिने घरमा जस्तापता लगाएपछि दुःखीका पनि दिन आउनेमा विश्वस्त रहेको उनले बताए। उनीजस्तै वडाका विपन्न, गरिब र असहाय परिवार यो कार्यक्रमबाट लाभाम्वीत भएका छन्। वडा कार्यालयले २६ विपन्नको घरको छानामा जस्तापाता लगाइदिएको छ। वडाका सबै घरधुरीमा जस्तापता उपलब्ध गराएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वडालाइ घरको छानामुक्त वडा घोषणा गरे।
घोषणा कार्यक्रममा मन्त्री विष्टले गरिब र असाहयका लागि वर्तमान सरकार सहारा बनेको जिकिर गरे। उनले स्थानीय, प्रदेश र संघीय गरी तीन तहकै सरकारले जनमुखी कार्यक्रमहरू गरिरहेको दावी गरे। गाउँपालिकाकै पहिलो र जिल्लाकै दोस्रो वडाका रूपमा अर्जैलाइ खरको छानामुक्त वडा घोषणा गरिएको वडाध्यक्ष शोभाखर गिरीले बताए। ‘कतिपय जनता जीवनभर खरको छाना फर्ने अवस्थामा देखिँदैनन्’, उनले भने, ‘पहिलो आवश्यकता आवास नै हो, जनताको आवासीय सुरक्षाका लागि यो कार्यक्रमलाई प्राथमिकता दिएका हौं।’
जनजिविकाका सवाललाई प्रमुख प्राथमिकतामा राखेर वडाले वार्षिक, नीति, कार्यक्रम तथा बजेट ल्याउने गरेको उनले बताए। गाउँपालिका प्रवक्तासमेत रहेका गिरीले अन्य वडाका विपन्न परिपवारका घरमा पनि जस्तापाता लगाउन पालिकाले दुई करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरे। यससँगै गाउँपालिकाका एक हजार एक सय घरमा जस्तापाता लगाइएको छ। चालु आर्थिक वर्षमा झण्डै ६ सय घरका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन भएकोसमेत गिरीले जानकारी दिए।
यस्तै, खरको छाना हटाउने अभियान जिल्लाभरी चलिरहेको छ। यसअघि धुर्कोट गाउँपालिकाले वडा नम्बर २ पिपलधारालाई घोषणा गरिसकेको छ। धुर्कोटले अन्य वडाकासमेत घरधुरीमा जस्तापाता लगाएर खरको छानामुक्त बनाउने अभियानलाई तिव्र बनाएको छ। जिल्लाका १२ वटै स्थानीय तहले यस कार्यक्रमलाइ प्राथमिकतामा राखेका छन्। खरका छाना हटाएपछि वर्षौंदेखि खरको छानामा बसेका विपन्न परिवार सुरक्षित महशुस गर्नेछन्।