उपनिर्वाचन : भक्तपुरमा १० स्वतन्त्र उम्मेदवार

उपनिर्वाचन : भक्तपुरमा १० स्वतन्त्र उम्मेदवार

भक्तपुर : मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशको उपनिर्वाचनको लागि बिहीबार २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा ११ जना दलका र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

अघिल्लो निर्वाचनमा जीत हात पारेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देवीप्रसाद (डीपी) ढकालको उम्मेदवारी परेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट भने कृष्णलाल भडेलले उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले अघिल्लो निर्वाचनमा पराजित निरज लवजूलाई नै दोहोर्‍याएर उम्मेदवार बनाएको छ।

त्यस्तै सत्तारुढ समाजवादी पार्टीले सुदर्शनकुमार मुनंकर्मीको उम्मेदवारी दर्ता गराएको छ। कमल थापा नेतृत्वको राप्रपाले श्यामप्रसाद नेपालको उम्मेदवारी दर्ता गर्दा राप्रपा संयुक्तबाट रामशरण लामिछानेको उम्मेदवारी परेको छ।

नेकपा मालेले सुदर्शन लामिछानेलाई उम्मेदवार बनाएको छ। साझा पार्टीले युवा उद्यमी सुरज प्रधानको उम्मेदवारी दर्ता गरेको छ। नेपाली कांग्रेस बीपीबाट मधुसूदन न्यौपानेको उम्मेदवारी पर्दा आमूल परिवर्तन पार्टीले डिल्लीप्रसाद चौलागाईं र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मिङमार लामाको उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै स्वतन्त्र रुपमा कृष्णप्रसाद ह्योंगो, जीवन नेपाली, कृष्णराम पोतामाहाँ, अर्जुन काफ्ले, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द्र अधिकारी, संगीता पौडेल आचार्य र सुजता देउजाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानले जानकारी दिए।
उम्मेदवारी दर्ता गर्न राजनीतिक दलहरु बाजागाजासहित भक्तपुर दरबार क्षेत्रस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

प्रमुख दलहरु नेकपा, नेपाली कांग्रेस, नेमकिपा र राप्रपा संयुक्तले भक्तपुर नपा १० कमलविनायकबाट जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। त्यस्तै राप्रपा, समाजवादी, साझा पार्टी पनि बाजागाजासहित दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए। स्वतन्त्र उम्मेदवार र केही साना दलहरु भने सुटुक्क निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न जाने र फर्कने छुट्टाछुट्टै बाटाको व्यवस्था गरेकाले दलहरुबीच घम्साघम्सी हुन पाएन। महानगरीय प्रहरी परिसर भक्तपुरले दलबलसहित आएका राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ता गर्न उम्मेदवारसहित पाँचपाँचजनालाई निर्वाचन अधिकृतको कार्यालयमा जाने व्यवस्था गरेको थियो।

यस्तो छ विगत
गएको निर्वाचनमा पूर्व एमाले र पूर्वमाओवादीको बाम गठबन्धनविरुद्ध वागी उम्मेदवारी दिने पूर्वएमाले नेता हरिशरण लामिछाने निर्वाचित भएका थिए। बाम गठबन्धनको तर्फबाट पूर्वमाओवादी देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो। पछि ढकालको उम्मेदवारीलाई निष्क्रिय गरेर लामिछानेको उम्मेदवारीलाई बाम गठबन्धनको उम्मेदवार बनाइएको थियो।

फलस्वरुप लामिछाने १२ हजार सात सय ८९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका जीवन खत्री नौहजार नौ सय ७७ मत ल्याएर दोस्रो भए।
त्यस्तै नेमकिपाका निरज लवजूले सात हजार १९ मत ल्याएर तेस्रो स्थानमा रहे।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई पशुपति शमशेर जबरा नेतृत्वको तत्कालीन राप्रपा लोकतान्त्रिकले समर्थन गरेको थियो। तर उपनिर्वाचनमा उक्त दलले रामशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको छ। उनी दिवंगत प्रदेश सांसद हरिशरण लामिछानेका सहोदर दाजु हुन्।

अघिल्लो निर्वाचनमा उम्मेदवारी निष्क्रिय गरिए पनि डीपी ढकालले आठसय ८४ मत ल्याएका थिए। जुन मतगणनामा चौथो स्थान हो। यसपटक नेकपाले पुनः ढकाललाई उम्मेदवारी दिएको छ। उनलाई उम्मेदवारी दिने नेकपा सचिवालयले निर्णय गरेको भोलिपल्टै पूर्वएमालेहरुले नेकपा भक्तपुरको पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए।

त्यस्तै विवेकशील साझाका उम्मेदवार कालीचरण कार्कीले सातसय ८३ मत ल्याएर पाँचौं स्थान ओगटेका थिए। विवेकशील साझा पार्टी फुटेर साझा र विवेकशील भएपछि यसपटक साझा पार्टीले मात्रै उम्मेदवारी दिएको छ। त्यस्तै कमल थापा नेतृत्वको राप्रपाका मुकुन्द कार्कीले चारसय ८५ मत ल्याएका थिए।

मतदाता ४५ हजार १५
यस निर्वाचन क्षेत्रमा कूल ४५ हजार १५ मतदाता रहेका छन्। निर्वाचनको लागि २२ वटा मतदान केन्द्र तोकिएका छन्। त्यस्तै २२ वटा मतदान केन्द्रमा ५४ वटा मतस्थल रहने व्यवस्था गरिएको छ।

यस निर्वाचन क्षेत्रमा सिंगो चाँगुनारायण नपा र भक्तपुर नपाको वडा नं १० का मतदाताले मतदान गर्नेछन्। चाँगुनारायण नपामा मात्रै ४० हजार तीनसय १० मतदाता रहेका छन्। भक्तपुर नपा १० मा भने चार हजार सातसय पाँच मतदाता रहेका छन्।

चाँगुनारायण नपामा प्रमुख र उपप्रमुखसहित चारवटा वडा अध्यक्ष नेकपाले जितेको थियो भने चार वटा वडा कांग्रेस र एउटा वडा नेमकिपाले जितेका थिए। भक्तपुर नपा १० वडामा नेमकिपाले जितेको थियो।

उम्मेदवारी दर्ता गर्न दलबलसहित आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता। तस्बिर : ईश्वरकाजी खाइजू
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.