नेताको मालामोह

नेताको मालामोह

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहट बौधीमाई नगरपालिकामा एक सय एकाउन्न केजीको सयपत्रीको माला धारण गरे। उनी माला लगाउँदा मक्ख परे। उनका छेउमा हुनेहरूले पनि तानतुन पारेर मालाभित्र अटाउने प्रयास गरे। उनले यो माला किन लाए ? किन लगाइयो ? यसको कुनै उत्तर नै छैन। यसको अर्थ मात्र चाकरी गराउने र चाकरी गर्ने हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू पनि लालबाबु राउतभन्दा भिन्न छैनन्। यहाँका नेतालाई माला लाउन उत्सव, पर्व, चाडबाड केही चाहिँदैन। यतिसम्मकि जेल जाँदा होस् वा जेलबाट निस्कँदा सयपत्री फूलको माला लगाएर जगत् हँसाउन पछि पर्दैनन्। यस्तो आचरण र व्यवहारले फूलको बर्बादी, समयको बर्बादी मात्र हुन्छ। देश र जनताका लागि काम नगर्ने तर अनावश्यक रूपमा यस्ता कुरामा मात्र रमाउने यहाँका नेताको दिनचर्या भएको छ। जसले जनतामा निराशा छाएको छ।

विश्वका शक्तिशाली नेताहरू डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, भ्याादिमिर पुटिन, सी चिनफिङ आदि जस्ता विश्वचर्चित र शक्तिशाली नेताको घाँटीमा कहिल्यै कुनै किसिमकोे माला देखिँदैन। नेपालमा नेताहरूलाई कार्यकर्ताले फूलको मालाले पुर्ने गरेको देखिन्छ। विकसित र गरिब देशको भिन्नता हो यो। विकसित देशमा काममा विश्वास गरिन्छ तर हाम्रो जस्तो देशमा यस्तै अनावश्यक काममा श्रम र शक्ति खर्च गरिन्छ।

नेता त्यस्तो हुनुपर्र्छ जसलाई प्रेमले आदरपूर्वक सम्मानसाथ माला लगाउन पाइयोस्। घाँटीभरि माला लगाउन पाउँदा गर्वले छाती फुलोस्। तर दुर्भाग्य नेताहरू काममा केही लछारपाटो लाउँदैनन्। जनताको पिरमर्का बुझ्दैनन्। नेताले जनतालाई भजन गाउन मात्र सिकाएका छन्। नेता कस्ता छन् भने माला लाउन टाउको नै निहुर्‍याउँदै आउँछन्। आफ्ना हनुमानहरूले सयपत्री फूलको माला ल्याएर लगाई दिएन भने रिसाउनेसम्म गर्छन्।

कार्यकर्तालाई फूलको माला लगाउन लगाएर जयजयकार गर्न मात्र सिकाएका छन्। जतिसुकै मिठो स्वरमा नेताको भजन गाए पनि जनतालाई केही गर्दैनन्। आफू, आफ्नो परिवार, भाइभतिजा, सालासाली, सासुससुरा र आसेपासेबाहेक कसैको काम गर्दैनन्। राज्यसत्तालाई आफ्नो मात्र हितमा प्रयोग गर्छन्। हिजो चप्पल लगाएर लुखुरलुखुर हिँड्नेहरू आज लाखौंको गाडीमा सयर गर्छन् र जताततै महल खडा गरेका छन्।

वरपरका मान्छे हप्काउँदै हिँड्छन्। अधिकांश कमाउ घन्दामा मात्र लागेका छन्। जनताले रचनात्मक आलोचना गर्दासमेत आफ्नो विरोध गरेको ठान्छन्। कोहीसँग तर्कपूर्ण व्यवहार गर्दैनन्। यसम्यान मात्र उत्पादन होस् भन्ने चाहन्छन्। नेताहरू कहिल्यै उत्तरदायी, जिम्मेवार र विवेकी बन्न सकेनन्। तर, उनकै अपेक्षा हुन्छ, घाँटीले थाम्न नसक्ने माला। त्यसैमा खुसी, आनन्द र सफलताको अनुभूति गर्छन्।

नेता नै गतिला नभएपछि कार्यकर्ता गलिता हुने कुरै भएन। नेताको अघिल्तिर एक शब्द बोल्दैनन्। कुनै पनि विषयवस्तुमा प्रतिवाद गर्दैनन्। तर्क र सत्य प्रस्तुत गर्दैनन्। आफ्नो बुद्धि विवेकको प्रयोग गर्दैनन्। नेताको अघि दिमागशून्य हुन्छ। सर्पले गरुड देखेजत्तिकै गर्छन्। कुनै कुरा जाने पनि नजाने जस्तो गर्छन्। नेतालाई भगवानकै अवतारको रूपमा पूजा गर्छन्।

जनताले नै नेता बनाएको हो भन्नेसम्म हेक्का राख्दैनन्। बरु सयौं चोटी स्वर सुकुन्जेल घाँटी दुखुन्जेल जयजयकार मात्र गर्छन्। स्तुति गाउँछन्। त्यसपछि आफ्नो सानोतिनो केही स्वार्थ हुन्छ त्यो पूरा गर्छन् र त्यसमा नै खुसी हुन्छन्। त्यसपछि फूलको मालाले आफ्नो काम भयो भन्ने ठानेर साष्टांग गर्छन्। प्रभुको इच्छा ठान्छन्। कार्यकर्ताको त्यस्तो व्यवहार हेर्दा लाग्छ कि उनीहरूले चाकडीमा विद्यावारिधि गरेका छन्। अनि, त्यो उपाधि नेतामा समर्पण गर्छन्।

यस्ता तमाम प्रवृत्ति समाज निर्माणका बाधक हुन्। सयपत्रीको माला मोहले राजनीति नै विकृत भएको छ। चाकरी गर्न सयौं शब्द खर्च गरेर घोक्रो सुकाउनुभन्दा फूलको माला ल्याएर लाइदियो भने सम्पूर्ण काम पूर्ण हुन्छ भन्ने गलत मानसिकता हावी छ। यो साह्रै सजिलो उपाय भएको छ। चाकरीको नाममा घाँटी भाँच्चिने गरी पच्चीस केजी, पचास केजी, एक सय केजीको माला लगाइदिने होडबाजीले यहाँको राजनीति कता जाँदैछ भन्ने छर्लङ पारेको छ।

कुनै अदभुत् काम नगरी त्यत्रो माला लगाउनु चाकरीको अपेक्षाबाहेक अरू केही हुनै सक्दैन। यस्तो व्यवहार, आचरण र प्रवृत्तिले कहिलै देश विकास हुँदैन। आउँदो पुस्ताले धिक्कार्नेछ। यस्तो कार्य र प्रवृत्तिले समाजका अलिकति बचेखुचेका सभ्य र स्वावलम्बी नागरिकलाई मानसिक आघात पर्ने गर्छ। नेताका घाँटी भर्न मात्र करोडौं मूल्यबराबरको फूल खर्च भइरहेको छ। यसले देशलाई आर्थिक रूपमा फाइदा पुगेको छैन। व्यापारघाटा मात्र बढाएको छ। फूलमा राज्यको करोडांै रुपैयाँ त्यत्तिकै बिदेसिएर गएको छ।

मालाद्वारा गरिने चाकरी प्रथालाई सदाको लागि बन्द गरिनुपर्छ। चाकरीमा रमाउने यस्तो प्रवृत्तिले गर्दा देश समृद्धशाली बन्दैन। कार्यकर्तालाई चाकरीमा लाउने काम तुरुन्तै बन्द गरेर उत्पादनशील कार्यमा लाग्न प्रोत्साहित गरौं। नेताले जनतालाई रैती र दास नठानी प्रजातान्त्रिक व्यवहार गरौं। कार्यकर्ताले पनि नेतालाई माला लगाएकै भरमा जीवन गुजारा गर्छु भनेर सोच्नु हँुदैन। काम गरेर देखाउन सिक्नुपर्छ। रचनात्मक र आयमूलक काममा लाग्नुपर्छ। योग्यता, क्षमता र दक्षताको विकास गरी जीवनमा गुणस्तरीयता खोज्नुपर्छ। जीवनमा चाकरी हैन श्रम गरेर जिउन सिक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.