डाक्टर लिएर सेना पुग्यो बस्तीमा
लाल (बारा) : निजगढ नगरपालिका १० लालस्थित गुम्बामा लामा भाषा पढ्दै गरेका केही बालबालिकाको टाउकोमा अचानक अनौठो रोग देखा परेपछि लामागुरु साङगे छिरिङ चिन्तित भए। उनले निजगढको स्वास्थ्य केन्द्रमा आफ्ना शिष्यको उपचार समेत गराए ।
तर उपचारबाट टाउकोमा देखिएको घाउ पूर्णरुपमा ठिक नभएपछि उनको चिन्ता बढ्दै गयो । घाउ पाक्ने र पिप निस्कने समस्या गुम्बाका अन्य बालबालिकामा पनि देखिन थाल्यो । सरुवा रोगझैं अनौठो प्रकृतिको घाउ सबैमा देखिन थालेपछि छिरिङ तीन महिनादेखि उपचारको खोजिमा भौतारिए।
घाउ फैलदै जानुको कारण समेत उनले थाहा पाउन सकेनन् । गुम्बामा अध्ययनरत २५ बालबालिकालाई एकैसाथ उपचार गराउन छिरिङका लागि असम्भव थियो । लामा पोशाक लगाएर गुम्बामै पढ्न बसेका बालबालिकाको स्वास्थ्यप्रति चिन्तित छिरिङले गाउँमै पुगेको नेपाली सेनाको टोलीलाई आफ्ना समस्या सुनाए ।
छिरिङले समस्याबारे बताएपछि नेपाली सेनाको टोली बिहीबार चिकित्सक लिएर लाल पुग्यो । सेनाले लालमै स्वास्थ्य शिविरको आयोजना गरेर गुम्बाका बालबालिकाको टाउकोमा आएको घाउ जाँच गरे । जाचँपछि इन्फेक्सनका कारण घाउ भएको बताउँदै चिकित्सकले सुझावसहित औषधि दिए ।उपचारपछि लामागुरु छिरिङले राहत महसुस गरे।
'ठूलै समस्या हो कि भन्ने चिन्ता थियो, तर आज डाक्टरले जाँचेर रोग नभई इन्फेक्सनका कारण भएको र आवश्यक सुझाव दिएपछि राहत मिलेको छ, ' छिरिङले भने, 'अब चिकित्सकले भनेजस्तै खाना, पानीमा ध्यान दिनेछौं। त्यसपछि पनि कम नभए पुनः सम्पर्क गर्न भन्नुभएको छ, त्यसै गर्छौं।'
शिविरमा सेनाले बालबालिकासँगै अन्य स्थानीयको समेत स्वास्थ्य जाँच गरेको छ । ग्रामीण भेगमा रहेको लालमा प्राथमिक स्वास्थ्य सेवा मात्रै उलपब्ध छ। स्वास्थ्यमा गम्भीर समस्या देखिए उपचारका लागि स्थानीय निजगढ, वीरगन्ज जान बाध्य छन् ।
गाउँमै आएको शिविरमा स्वास्थ्य जाँच गराउन स्थानीयको भीड् देखियो । बालबालिकासँगै स्थानीयले स्वास्थ्य जाँच गराए । अधिकांशमा छालाको समस्या देखियो । चिकित्सकले औषधि र आवश्यक सुझाव दिए र पिउने पानीका कारण समस्या देखिएको हुनसक्ने भन्दै उमालेर पिउन आग्रह गरे । खाना र सरसफाईमा ध्यान दिन सचेत गराए ।
स्थानीयलाई लक्षित गर्दै सेनाले बस्तीमै पुगेर शिविरको आयोजना गरेपछि स्थानीय खुशी देखिएका थिए । शिविरमा स्थानीय संघसंस्था समेत साथ दिए । शिविर नेपाली सेनाको २८ नम्बर बाहिनी अड्डा जीतपुर, सिद्धिबक्स गण आधाभार, चन्दननाथ गण कलैया, द्रुतमार्ग सडक निर्माण कार्यदल बेसक्याम्प निजगढले संयुक्त रुपमा आयोजना गरेको थियो ।
निजगढ नगरपालिका, क्लिन सोसाइटी नेपाल सिमरा र योङ स्टार युनाइटेड क्लबले शिविरलाई सफल बनाउन स्थानीय स्तरबाट सहयोग गरेका थिए। शिविरमा उपसेनानी डा. रक्षा भण्डारी राणासहित स्थानीय अस्पतालका फिजिसियन अभिषेक पटेल, नेपाली सेनाको मेडिकल टिम, निजगढ नगरपालिकाको स्वास्थ्यकर्मीलगायतले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा चार सयभन्दा स्थानीयले स्वास्थ्य जाँच गरे । ठूलो संख्यामा स्थानीय उपस्थित भएपछि सिद्धिबक्स गणका प्रमुख सेनानी प्रकाश थापाले शिविरले राहत पुगेको आफू विश्वस्त रहेको बताए ।
गाउँमा शिविरको आयोजना हुने सुनेपछि ढाडको समस्या देखाउन आएका जिल्लप वाईवा सेनालाई देखेपछि अचम्मित बने । 'सेनाले बन्दुक चलाउँछ भन्ने त थाहा थियो तर मान्छे पनि जाँच्दो रहेछ,' वाइवाले सुनाए । गाउँमा शिविरको आयोजना गरेपछि स्थानीयलाई धेरै राहत मिलेको वाइवाले बताए ।
'सुरुमा गुम्बाका बालबालिकाको समस्याबारे थाहा पाएपछि चिकित्सक लिएर आउने योजना बनायौं। तर स्थानीयलाई पनि लक्षित गरेर शिविर नै आयोजना गर्यौं,' प्रमुख सेनानी थापाले भने, 'धेरै संख्यामा स्थानीय आउनुभएको छ । पक्कै पनि शिविरले केही राहत पुग्यो भन्नेमा विश्वस्त छौं ।'
शिविरमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने सेनाले नागरिकको स्वास्थ्यप्रति देखाएको चासोको प्रशंसा गरिन् । सेनाले शिविरमै स्कुले बालबालिकालाई लक्षित प्रकृति संरक्षण सम्बन्धी चेतनामुलक कक्षा समेत संचालन गरेको थियो। सिद्धिबक्स गणका सेनानी योगेश महत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनलगायतले स्कुले बालबालिका र स्थानियलाई वन र वन्यजन्तु संरक्षणमा स्थानीयको भूमिकाको विषयमा सहजीकरण गरेका थिए।