पुस्तक सर्वेक्षणबाट उठेका सवाल
नेपालको सामाजिक सांस्कृतिक इतिहास लेखनको इतिहास लामो छैन। विशेष गरी मल्लकालको उत्तरार्ध र शाहकालको प्रारम्भिक समयताका विदेशी विद्वान्हरूबाट नेपालको सामाजिक-सांस्कृतिक इतिहास लेखनको थालनी भएको तथ्य विद्वान्हरूले स्वीकार गरेका छन्। राणाकालको अन्त्य र प्रजातन्त्रको उदयसँगै विदेशी विद्वान्हरूका साथसाथै स्वदेशी विद्वान्हरूबाट नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहास लेखनमा स्वाभाविक रूपमा वृद्धि भएको देखिन्छ। २००९ सालमा स्थापना भएको संशोधन मण्डल इतिहासको खोज अध्ययन र अन्य विद्वान्हरूबाट इतिहास लेखनमा भएका त्रुटिहरूको संशोधनमा आजपर्यन्त अनवरत रूपमा लागिपरेको छ।
सामाजिक सांस्कृतिक इतिहास लेखनको लगभग तीन सय वर्षको अवधिमा प्रकाशित पुस्तकहरू समग्र नेपालको ऐतिहासिक अध्ययनमा अपुग नै प्रतीत हुन्छ। तीन सय वर्षको अवधिमा पनि विशेषगरी पछिल्ला सत्तरी वर्षमा पुस्तक लेखन र प्रकाशनमा अधिक वृद्धि भएको देखिन्छ। पचास र साठीको दशकपछि भने पुस्तक लेखन र प्रकाशनको साथसाथै पुस्तकले उठाएका विषयमाथि आलोचना समालोचना पनि उत्तिकै मात्रामा हुन थालेको देखिन्छ, विगतका वर्षहरूमा भन्दा। प्रजातन्त्रको आगमनसँगै आमसञ्चारको विकासले इतिहासको विवेचना र विश्लेषणमा प्रभावकारी भूमिका निर्वाह गरेको देखिन्छ। विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थापनासँगै इतिहासको आलोचनात्मक विश्लेषणमा योगदान दिएको देखिन्छ। प्रकाशनगृहको स्थापना र त्यसमार्फत हुने पुस्तक प्रकाशनको अधिकताले पठन संस्कृतिको विकास भएको देखिन्छ। पत्रिकाहरूको परिशिष्टांकमा प्रकाशित हुने खुला बहसले एकातिर नयाँ प्रतिभालाई स्थान दिएको छ भने अर्कोतिर ओझेलमा परेका कतिपय स्रष्टालाई प्रकाशित गरेको छ।
यसै क्रममा गत शनिबार (२०७६ कात्तिक १६) अन्नपूर्ण पोस्ट्को फुर्सद परिशिष्टांकमा प्रकाशित पुस्तक सर्वेक्षण सूचीले सामाजिक विषयमा लेखिएका गैरआख्यान किताबहरूमाथि प्राज्ञिक बहस उठाएको छ। साहित्यिक पुस्तकहरूबारे विभिन्न सर्वेक्षण र ती पुस्तकले उठाएका विषयमाथि यदाकदा बहस हुने गरेको परिचर्चा सुनिन्छ तर समाजपरक विषयमाथि पहिलोपटक भएको यस सर्वेक्षणले सामाजिक सांस्कृतिक चिन्तनका विविधतामाथि प्रकाश पारेको छ। अन्नपूर्ण पोस्ट्मार्फत पुस्तक सर्वेक्षणमा सहभागी भएका छनोटकर्ताहरू मानविकी विषयमा विविध क्षेत्रमा विशिष्टता हासिल गरेका छन्। यसकारण छनोटकर्ताले छनोट गरेका पुस्तकहरू प्राज्ञिक आधिकारिकताको समग्र प्रतिनिधित्व गर्ने पुस्तक हुन् भन्न सकिन्छ। छनोटकर्ताको चयन गर्नु आफैंमा कठिन कार्य हो। तथापि योग्य छनोटकर्ताहरूको चयन भएको छ, धेरै हदसम्म समावेशिताको प्रतिनिधित्व गरेको देखिन्छ तर पुस्तक छनोटमा सूचीकृत हुनुपर्ने धेरै विद्वान् छुट्न गएको पनि देखिन्छ।
पुस्तक सर्वेक्षणमा छनोटकर्ताहरूलाई दिइएका दसवटा आधारले समग्र प्राज्ञिकताको परिधिलाई समेट्छन्। दिइएका यिनै आधारमा छनोट गरिएका पुस्तक समग्रमा समेटिएका छन्। नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका कारण र त्यसका आधारहरूलाई अन्वेषण गरी विभिन्न समयमा विभिन्न विद्वान्हरूबाट लेखिएका यी पुस्तकहरू तत्कालीन समयका दस्तावेज र ऐतिहासिक आधार हुन्। यी पुस्तकहरूको अध्ययनबाट एकातिर सामाजिक सांस्कृतिक परिवर्तनको अबको दिशा के हुने भन्ने विषयमा निक्र्योल गर्न सकिन्छ भने अर्कोतिर विगतमा भएका ऐतिहासिक गल्तीहरूबाट पाठ सिकेर भविष्यमा हुनसक्ने सम्भावित दुर्घटनाबाट जोगिन सकिने सम्भाव्यताको निर्देश गरेका छन्। वर्तमानका चिन्तक र आलोचकहरूलाई राजनीतिक घटनाहरूको विश्लेषण गर्ने आधारसमेत दिएका छन्। इतिहास, दर्शन, कला, संस्कृति र सभ्यताका दस्तावेजका रूपमा रहेका यी पुस्तकहरू अतीतका ऐना र भविष्यका मार्गनिर्देशक हुन् भन्न सकिन्छ।
यस सर्वेक्षणले प्राज्ञिक वृत्तका धेरै विषयमाथि सांकेतिक बोधार्थ गरेको छ। विशेषगरी हाम्रो प्राज्ञिक चिन्तनको अवस्था कस्तो छ ? समकालीन विद्वान्हरूले के कस्ता विषयका पुस्तकहरू पढ्दै छन् ? आमपाठकको अभिरुचिको विषय के के हुन सक्छन् र अब कस्ता विषयहरूमा पुस्तक लेखिनुपर्छ भन्ने प्रश्नहरूको खोजी गरेको छ।
वर्तमान सन्दर्भमा नयाँ पुस्तामा इतिहास, संस्कृतिलगायत मानविकी विषयको अध्ययन गर्ने अभिरुचि घट्दो दरमा छ। अर्कोतिर सामाजिक सांस्कृतिक परिवर्तनको पानीढलो गतिहीन दिशातर्फ मोडिँदै गर्दा पहिचानको प्रश्न खरो रूपमा उठिरहेको छ। वस्तुतः एकातिर पहिचान बिर्संदै गई सांस्कृतिक प्रभुत्वको सिकार भइरहेको अवस्था छ वर्तमान नेपाली समाजको भने अर्कातिर राजनीतिक नाफा-घाटाको मोलमोलाइमा सांस्कृतिक पहिचानको प्रश्नलाई जोडेर फुटाऊ र शासन गरको सिद्धान्तलाई प्रयोग गरिरहेका छन् बाहिरिया विभाजकहरूले। सांस्कृतिक संक्रमणको यस विसंगत परिस्थितिमा इतिहास र सभ्यताको मर्मलाई बुझेर अगाडि बढ्न र नेपाल चिनाउन सर्वेक्षणमा परेका यी पुस्तकहरूले महत्वपूर्ण भूमिका खेल्नेछन्। वर्तमान इतिहासको घोडालाई हाँकिरहेका नेताहरूले देशको भविष्यलाई कुन दिशातिर मोड्ने हुन्, त्यो भविष्यले बताउला तर इतिहासको मर्म र वस्तुस्थितिको वास्तविकता नबुझ्दा वर्तमान पुस्ताले भोग्नुपरेको समस्याको क्षतिपूर्ति गर्न जन्मिने युगपुरुषको पर्खाइको धैर्य अब टुटिसकेको छ। यसकारण इतिहासको कसीलाई वर्तमान दृष्टिकोणबाट विश्लेषण गरी उचित मार्ग निर्धारण गर्न सके मात्र सुनिश्चित भविष्यको कल्पना गर्न सकिन्छ भन्ने तथ्यलाई यस सर्वेक्षणले प्रमाणित गरेको महसुस हुन्छ।
सर्वेक्षणमा परेका अधिकांश पुस्तकले नेपाली समाजको ऐतिहासिक यथार्थको बोधार्थ गरेका छन्। तर छनोटमा पर्नुपर्ने सामाजिक इतिहासका धेरै पुस्तकमा छनोटकर्ताको ध्यान नगएको हो कि भन्ने प्रतीत हुन्छ। जस्तैः धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ नामक किताब छनोट गर्नेले उनको उत्तिकै कोटिको ‘मध्यकालको अभिलेख’ र ‘पूर्वमध्यकालको अभिलेख’ नामक किताबलाई बिर्सेको प्रतीत हुन्छ। प्रागइतिहास, पौराणिक इतिहास, पूरालेखन र अभिलेख विषयमा कलम चलाएका विद्वान् दिनेशचन्द्र रेग्मी, लिपि विशेषज्ञ हेमराज शाक्य र शंकरमान राजवंशीजस्ता विद्वान्का पुस्तक सर्वेक्षणमा परेनन्। पुरातत्वविद् बाबुकृष्ण रिजाल र तारानन्द मि श्रका कृतिहरू सर्वेक्षणमा परेनन् नै, संस्कृतिविद् सत्यमोहन जोशीको एकल लेखनमा रहेको कुनै पनि पुस्तक सर्वेक्षणमा परेनन्, सिँजा उपत्यकामा लोकसंस्कृति विषयमा गरिएको सामूहिक अध्ययनको पुस्तकबाहेक।
यस तथ्यले अनेक प्रश्नको संकेत गरेका छन्। संशोधनमण्डलका सदस्य दिनेशराज पन्त र ज्ञानमणि नेपालका पुस्तक सर्वेक्षणमा परे तर संशोधनमण्डलकै अत्यन्त ठूला विद्वान् महेशराज पन्तका कृतिहरू सर्वेक्षणमा नपर्दा सर्वेक्षणले मात्र प्रश्नहरूको सही जवाफ दिन सक्दैन कि भन्ने तथ्यको संकेत गरेको छ। नेपाली खस बाहुनका कुलदेवता मस्टो नामक चर्चित पुस्तकलगायत संस्कृतितर्फका दर्जनभन्दा बढी पुस्तकका लेखक कुलचन्द्र कोइराला ओझेलमा परेका छन् भने जातीय इतिहास लेखनमा ख्याति कमाएका विद्वान् इमानसिं चेम्जोङका कृतिहरू छनोटमा परेनन्। इतिहासकार डिल्लीरमण रेग्मी, जगदीशचन्द्र रेग्मी, गौतमवज्र वज्राचार्यका कृतिहरूसमेत सर्वेक्षणमा परेनन्। मुद्राशास्त्र इतिहास अध्ययनको एउटा आधार हो। रमेश ढुंगेलद्वारा लिखित लिच्छविकालीन अर्थव्यवस्था नामक किताब सर्वेक्षणमा परेन। संस्कृति र अध्यात्म पनि समाज विज्ञानको एउटा अंग हो तर यस विषयमा कलम चलाउने खप्तड बाबा, शिवपुरी बाबा, प्रपन्नाचार्य, अंगुरबाबा जोशी र रामानन्द गिरीका धार्मिक तथा आध्यात्मिक पुस्तकहरू छनोटकर्ताको छनोटमा नपरेको देखिन्छ। संशोधन मण्डलबाट प्रकाशित पूर्णिमाका १४४ भन्दा बढी अंकहरू, पुरातत्व विभागबाट प्रकाशित प्राचीन नेपाल नामक जर्नलका २०० जति अंकहरू, त्रिवि सिनासबाट प्रकाशित जर्नलहरूसमेत सर्वेक्षणमा परेको देखिएन। त्यस्तै नयाँ पुस्तालाई रुचिकर हुने विज्ञान-प्रविधि र खेलकुदसम्बन्धी पुस्तकहरू पनि छनोटमा परेनन्।
सर्वेक्षणमा परेका कृतिहरू उत्कृष्ट छन् नै, सर्वेक्षणमा नपरेका कृतिहरू कम महत्वका छन् भन्ने बोधार्थ यस सर्वेक्षणले कदापि गर्दैन। सर्वेक्षणमा नपरेका यी कृतिहरूले नेपालको सामाजिक सांस्कृतिक परिवर्तनमा कुनै भूमिका खेलेका छैनन् भन्ने भावार्थ व्यक्त गर्न खोजिएको पनि कदापि होइन यस तथ्यांकले। तर पाठकहरूको अभिरुचि र अबको प्राज्ञिक आवश्यकतालाई निश्चय नै बहसमा ल्याएको छ। यसप्रकारको सर्वेक्षणको काम प्रज्ञा-प्रतिष्ठान, सिनासलगायतका प्राज्ञिक संस्थाहरूबाट हुनुपर्ने हो तर सरकारी तवरबाट हुनुपर्ने यी कामलाई अन्नपूर्ण पोस्ट् फुर्सद परिशिष्टांकको युवा समूहले सम्पादन गरेर समाज र सरकारलाई सहयोग गरेको छ भने समाजविज्ञानका पाठक र अध्येताहरूलाई अब के पढ्ने भन्ने विषयमा मार्गनिर्देशन गरेको छ।