पर्यटकको रोजाइमा कोइलाहा ताल (फोटो फिचर)
धनगढी : कैलालीको कैलारी गाउँपालिका-९ मा रहेको कोइलाहा ताल पर्यटकको रोजाइमा पर्ने गरेको छ। धनगढीबाट ४० किलोमिटर र पूर्वपश्चिम राजमार्गअन्तर्गत राजिपुर बजारबाट ९ किलोमिटर दक्षिणमा ताल पर्दछ।
९ अगाडि सुनसान रहने तालमा अहिले दैनिक ५ सय पर्यटक घुम्न पुग्ने गरेका छन्। ‘तिहार सकिए लगत्तै पिकनिक खान र ताल अवलोकन गर्नेहरूको संख्या बढ्छ’, स्थानीय चम्फा मगरले भनिन्, ‘तालसम्म पुग्ने बाटोको स्तरोन्नति भएमा अझै पर्यटको संख्या बढने पक्का छ।’
कोइलाहा ठूलो ताल व्यवस्थापन तथा परिचालन समितिले तालको रेखदेख गर्ने गरेको छ। जंगलको मध्य भागमा अवस्थित ताल जिल्लाकै एक रमणीय ठाउँ बन्न सक्ने स्थानीयको भनाइ छ।
‘तालको संरक्षण गर्न सकेमा धेरै पर्यटक पुग्ने र कतिपयको आम्दानीको स्रोत पनि बन्ने छ’, ताल क्षेत्रमा व्यवसायी गर्दै आएका दिनेश तारामी मगरले भने, ‘दुई वर्ष अगाडिको तुलनामा अहिले व्यवसाय फस्टाएको छ।’ उनी खाजा पसल सञ्चालन गर्दै आएका छन्। कोइलाहा ताल अवलोकनका लागि आउँने पर्यटकमध्ये धेरै डुंगा चड्न पुग्ने गरेका छन्।
ताल क्षेत्रमा पर्यटकको सुविधाका लागि दुइटा पिकनिक घर, खाना पकाउँने तथा मासु पोल्ने भाडा, शौचालय, ताल वरिपरि ग्राभिल बाटो निर्माण गरिएको छ। तालमा सयरका लागि चारवटा डुंगाको व्यवस्था गरिएको छ भने तालको बीचमा शिव मन्दिर निर्माण गरिएको छ।
बोटिङको व्यवस्था, चिल्ड्रेन पार्क तथा पिक्निक स्पोट व्यवस्था गरेसँगै आकर्षक गन्तव्य बन्न सफल भएको हो। कोइलाही ताल क्षेत्र छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सफल भएको कैलालीको गोदावरी नगरपालिका-१३ का हरिचन्द वलीले बताए।
नेपाल सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेको बेला यस्ता तालको संरक्षण र प्रचारप्रचार गर्न सकेमा धेरैको आन्तरिक तथा बाह्य पर्यटक पुग्ने स्थानीयको अपेक्षा छ।
कैलारी गाउँपालिकाको स्वामित्वमा रहेको ७२ हेक्टर क्षेत्रफलमा फैलिएको कोइलाहा तालमा माछा पालनसमेत हुने गरेको छ। ताल क्षेत्रमा कोइलाहा नामका दुइटा ठूला ताल, जोगिनियालगायतका आठवटा प्राकृतिक ताल रहेका छन्।
कैलारी गाउँपालिकामा ७३ वटा प्राकृतिक ताल तलैया रहेका छन्। ताल तलैयाको स्थानीय क्लब, विद्यालय र समूहले आ-आफ्नै ढंगले उपयोग गरिरहेका छन्।