गहुँ छर्ने बेला मलको गोदाम रित्तै

गहुँ छर्ने बेला मलको गोदाम रित्तै

धनगढी/महेन्द्रनगर : सधैं झैं यसपाली पनि कैलाली र कञ्चनपुरका किसान रसायनिक मलको अभावमै गहुँ छर्ने भएका छन्। गहुँ छर्न पहिले प्रयोग गरिने डिएपी मल कृषि सामग्री कम्पनी धनगढीको गोदाममा एक दाना पनि छैन।

कार्यालयमा मल लिन किसान दिनहुँ पुगेपछि रित्तै घर फर्किने गरेका छन्। कैलालीको कैलारी गाउँपालिका–७ का किसान प्रदेश चौधरीले दैनिक मल वितरण गर्ने सहकारी संस्थामा पुगे पनि मल नपाएको गुनासो गरे। ‘गहँु, तोरी, मसुरो, आलुलगायत हिउँदे बाली लगाउने समयमा कहिले पनि समयमा मल पाइँदैन’, उनले गुनासो गरे, ‘कसरी खेतीकिसानी गर्ने हो। राज्यको अनुदान रसायनिक मल दिए पनि समयमा नपाउने समस्या छ।’ कैलालीमा राज्यबाट पाइने अनुदानको मल सहकारीमार्फत बिक्री वितरण हुने गरेको छ।

किसानलाई राज्यले सेवासुविधा दिन नसकेको किसानको गुनासो छ। रसायनिक मलको अभाव हँुदा खेती गर्न समस्या भइरहेको दुखेसो अत्तरियास्थित दिदीबहिनी महिला कृषि सहकारी संस्थाका पदाधिकारी दुर्गा शाहले बताइन्। ‘धान रोपाइँका बेला पनि मल नहुँदा समस्या भयो’, उनले भनिन्, ‘मल दिने निकायका गोदाम रित्तै छन्। दैनिक सहकारीमा किसान मल लिन पुग्छन्। के भनेर फर्काउने हो ? ’ तिहारपछि एक बोरा पनि मल लिन नपाएको उनको गुनासो छ।

कैलाली र कञ्चनपुरमा किसानको आवश्यकताअनुसार मल आपूर्ति नहुँदा मलको हाहाकार हुने गरेको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए। ‘सहकारीमार्फत किसानलाई मल वितरण हुन्छ’, उनले भने, ‘चाहिनेभन्दा बढी मल लिएर घरमा राख्नाले पनि अभाव देखिने गरेको छ।’ असोज र कात्तिकमा कार्यालयबाट यूरिया २५ सय मेट्रिक टन र डिएपी २३ सय मेट्रिक टन बिक्री भइसकेको छ।

‘मल नआएको होइन। हप्ता १५ दिनमा मल पुग्ने गरेको छ’, उनले थपे, ‘गोदाममा राख्न पाएको हँुदैन। गाडीबाटै वितरण हुने गरेको छ।’

सुदूरपश्चिममा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिक टनभन्दा बढी मल आवश्यक पर्ने भए पनि करिब १७ हजार मेट्रिक टन मात्र आपूर्ति हुने गरेको बोगटीले बताए। सुदूरपश्चिमका लागि यूरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन आवश्यक भएको बोगटीले बताए। ‘हामीलाई चाहिने जति मल कहिल्यै आएन’, उनले भने। यूरिया एक हप्ताभित्र र डिएपी अर्को महिनासम्म आउने उनले दाबी गरे। सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा रसायनिक मल खपत हुन्छ।

कञ्चनपुरमा पनि अभाव उस्तै

वेदकोट नगरपालिका ७ का मसर डगौराले विगत झै यसपटक पनि गहुँ खेती गर्ने बेला रसायनिक मलखाद पाएका छैनन्। ‘गहुाको बिउ घरमा राखेर के गर्नु मलखाद आएको भए गहुँ छर्न हुन्थ्यो’, डगौराले भने, ‘सरकारले दिने अनुदानको मल न धानखेतीको बेला पाइयो न गहुँ छर्ने बेला।’

धान खेतीको बेलामा पनि मलखादको अभाव खेपेका कञ्चनपुरका किसानले गहुँखेतीमा पनि डिएपी मल पाउने टुंगो लागेको छैन। कृषि सामाग्री महेन्द्रनगरले डिएपी मलको अभाव रहेको जनाएको छ। ‘हामीसँग डिएपी नहुँदा किसानलाई मल वितरण गर्न सकिएको छैन’, कृषि सामाग्रीका प्रमुख बलबहादुर शाहले भने। मल आउन अझै १५÷२० दिन लाग्न सक्ने उनले बताए। गहुँ छर्ने बेला डिएपी मलको प्रयोग हुने भए पनि मल नहुँदा किसान मर्कामा परेका छन्।

कञ्चनपुरमा दुई हजार पाँच सय मेट्रिक टन यूरिया र दुई हजार मेट्रिक टन डिएपी मल वार्षिक रूपमा खपत हुने गरेको छ। शाहले डिएपी मल भारतको कलकत्ताबाटै नआएकाले मुलुककै समस्या भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.