पढाइसँगै गायन
अधि श्री कसपाल १३ वर्षका भए। उमेरले सानो भए पनि गीतसंगीतको क्षेत्रमा उनले ठूलो चर्चा कमाएका छन्। बोल्न सिकेदेखि नै गुनगुनाउँदै आएका अधि श्रीको पहिलो एल्बम ‘सुवासमा अधि श्री’ कात्तिक १५ गते श्रोतामाझ आएको छ।
उनको एल्बममा जम्मा पाँचवटा गीत छन्। तीमध्ये एउटा गीतमा उनकी दिदी सर्व श्रीले उनलाई गायनमा साथ दिएकी छन्। एल्बमका लागि उनले गाएको पहिलो गीत ‘छोरी अन्माउँदा’ हो। एउटा छोरीलाई विवाह गरेर अन्माउँदाको क्षण बाबुका लागि कति पीडादायी हुन्छ भन्ने सन्देश यस गीतले दिन खोजेको छ। गीत गाउनुपूर्व आफ्ना बाबु अनिल कसपालले सम्झाउँदै भनेको वाक्य उनले यसरी दोहो¥याए, ‘बाबु तिमीले यो दिन गाउँदा आफ्नो दिदीलाई सम्झनु। उसलाई अन्माउँदा मेरो हालत कस्तो होला त्यही सोचेर गाउनु।’
अरूलाई होच्याएर आफू ठूलो हुनु हुँदैन। अरूलाई जति सम्मान दियो आफूले पनि त्यति नै सम्मान पाइन्छ। उनको अर्को गीत ‘अरूलाई निचो’ले यस्तै भाव बोकेको छ। एल्बमको लोकप्रिय गीत ‘चोट के हो’ गाउँदा उनलाई हल्का गाह्रो त भयो। तर पनि लोकप्रिय गायक अरुण थापाको यो गीत गाउँदा निकै रमाइलो अनुभूति गरेको उनले सुनाए।
अधि श्रीले पाँच वर्षकै उमेरमा स्टेज सोमा पहिलो पटक गाएका थिए। उनी पढ्ने विद्यालय मोर्डन स्कुलको वार्षिकोत्सव कार्यक्रम थियो। ठूला कक्षामा पढ्ने दाइदिदीहरू लाइभ ब्यान्ड प्रस्तुतिका लागि रिहर्सल गर्दै थिए। उनी पनि त्यही रिहर्सलमा गएर गीत गाउने र बजाउने जिद्दी गर्न थाले। त्यसपछि उनकी आमा शशिले अनुरोध गरेर उनलाई त्यहाँ पु¥याइन्।
वार्षिकोत्सव कार्यक्रममा पनि आफूले गीत गाउने भनेर छोराले जिद्दी गर्न थालेपछि उनले रातारात संगीत शिक्षकलाई बोलाएर कुरा गरिन्। भोलिपल्ट अधि श्रीलाई करिब एक घण्टा अभ्यास गराइयो। त्यसैको भरमा उनले ‘आमा तिम्रो माया आँसुमै डुब्यो’ बोलको गीत गाउँदा कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी एवं शिक्षकले उनको प्रशंसा गरेका थिए।
उनले बेलाबेलामा धेरै कार्यक्रममा गीत गाएका छन्। तर एल्बम निकाल्ने सोच रचनाकार सुभाषचन्द्र ढुंगेललाई भेटेपछि मात्रै भयो। एक दिन ढुंगेलसँग उनको भेट एउटा मेडिकल पसलमा भयो। उनले सुन्दर स्वरमा गीत गाएर ढुंगेललाई सुनाए। त्यसपछि ढुंगेलले अरुण थापाको चोट के हो बोलको गीतलाई पुनः रेकर्ड गराउन मन थियो, तिम्रै आवाजमा गराउँछु भने। अधि श्रीकै स्वरमा चोट के हो को चाइल्ड भर्सन तयार पारियो। अनि अरू गीतलाई पनि राखेर जन्मियो उनको एल्बम। एल्बमका सबै गीत ढुंगेलकै हुन्। संगीत सुरेश अधिकारी, राजु सिं, महेश खड्का, हरि लम्साल र अरुण थापाका छन्।
कक्षा ८ मा पढ्ने अधि श्रीको विद्यालयमा पनि संगीतको प्रशिक्षण हुन्छ। योबाहेक उनले सुरशाला एकेडेमीमा पनि संगीत सिकेका छन् भने हाल घर नजिकै साताको एक दिन संगीत सिक्न जान्छन्।
पढाइ उनको राम्रो छ। कक्षामा प्रायः दोस्रो हुने अधि श्रीले संगीतकार संघ नेपालले दिएको याङ्सु बालप्रतिभा पुरस्कार, एनटीसीको भिडियो अवार्डमा विशेष प्रतिभा पुरस्कारलगायत पुरस्कार र थुप्रै सम्मान पाएका छन्। क्विक लिटिल च्याप्समा सेकेन्ड रनर अप भएका अधि श्रीले मस्ट पपुलर, बेस्ट पर्सनालिटी र मस्ट ट्यालेन्टेड अवार्ड पनि हात पारेका थिए।
उनलाई पुराना र नयाँ दुवै गीत मन पर्छ। विशेषगरी उनी अर्जित सिंह र सोनु निगमको गीत सुन्ने गर्छन्। नेपालीमा नयाँ आएका गीत सबै सुन्ने उनको बानी छ।
उनका आमा शशिका अनुसार सानामा उनी निकै चकचके स्वभावका थिए। तर हुर्कंदै जाँदा ज्ञानी र बुजक्की हुँदै गए। घरमा उनी ज्ञानी नातिका रूपमा चिनिन्छन्। संयुक्त परिवार भएकाले भाइबहिनी धेरै छन्। सबै उनीसँग झुम्मिन्छन्।
एल्बम निस्किएको दिन उनका हजुरबुवा बाबुकाजी कसपालको आत्मकथा ‘कृपा’को पनि लोकार्पण गरिएको थियो। त्यस दिन उनको गीतको समीक्षा संगीतकार राजु सिंले गरेका थिए भने उनले कार्यक्रममा गाएको गीतको उपस्थित धेरैले प्रशंसा गरेका थिए।
फुर्सदको समय उनी संगीतमै खर्चन्छन्। मोबाइल, टीभी त्यति हेर्दैनन्। हेरे पनि गीत हेरेर त्यसबाट केही सिक्ने प्रयास गर्छन्। उनलाई गितार, किबोर्ड र हार्मोनियम बजाउन आउँछ। हरेक बर्थ डे गिफ्टमा उनलाई परिवार र आफन्तले यस्तै वाद्ययन्त्र उपहारका रूपमा दिने गरेका छन्।
पढाइसँगै गीतसंगीतलाई पनि अगाडि बढाउने उनको चाह छ। मनमा लागेको कुरा गर्नुपर्छ र आफ्नो प्रतिभा देखाउनुपर्छ भन्ने सुझाव उनी आफ्ना साथीहरूलाई दिन चाहन्छन्।