सम्वृद्धिको कामना गर्दै भैरहवामा मनाइयो मोहम्मद जयन्ती
भैरहवा : मुस्लिम सामुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९४ औं जन्मोत्सव मुलुकभरका साथै भैरहवामा पनि हर्षोउल्लासका साथ मनाइएको छ। मुलुकको सम्वृद्धिको कामना गर्दै भैरहवामा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोउल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा रुपन्देहीको भैरहवामा आइतबार र्याली निकालिएको छ ।
मुस्लिम सामुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिदलगायतको आयोजनामा गल्लामण्डीबाट सुरु भएको र्याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैंक रोडलगायतका स्थानमा परिक्रमा गरिएको छ।
हजारौंको संख्यामा निकालिएको र्यालीमा प्रदेश नम्बरमा ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेय, पूर्व भूमीसुधार राज्यमन्त्री हकिकुल्लाह खाँ, पूर्व संविधानसभा सदस्य इस्तियाक अहमद खानलगायतको सहभागिता रहेको थियो।
र्यालीमा सहभागीले प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झण्डा, राष्ट्रिय झण्डा सहित जन्मोत्सवको खुशीयालीमा नारा लगाएका थिए । बजारमा र्यालीको परिक्रमा सकिएपछि भैरहवास्थित गल्लामण्डीको रहमानिया मस्जिदमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले सरकारसँग मोहम्मद जयन्तीको दिनमा सार्वजनिक विदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवा सुविधा दिनुपर्ने लगायतका माग गरे ।
सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुस्लिम संयुक्त संघर्ष समितीसँग केही वर्षअघि सम्झौता गरेपनि कार्यान्यवन नगरेकोमा मुस्लिम वेलफेयर सोसाइटीका सचिव मोहम्मद अकिलले दुःख व्यक्त गरे।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीले संयुक्तरुपमा मुलुकको सम्वृद्धिका लागि प्राथना गरेका छन्। हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी सम्वतको रबीउल औवल महिनामा साउदी अरबको मक्कमा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा सउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणिको स्मरण गर्ने गरिन्छ । जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन्नबी (रबीउल औवल) को रुपमा मनाउने गर्दछन्।