दुर्गन्ध फैलाउनेलाई ३६ हजार जरिवाना
ललितपुर : ललितपुर महानगरले जनवारको हड्डी, रौँ र छाला बालेर दुर्गन्ध फैलाउने तीन जनालाई ३६ हजार जरिवाना गरेको छ। महानगरले कार्तिक १८ गते राति हड्डी पोल्दै गर्दा पक्राउ परेका तीन जनालाई जनही १२ हजारका दरले जरिवाना गरेको हो।
महानगर प्रहरीका इन्स्पेक्टर सुवर्ण व्यञ्जन्कारका अनुसार अब उप्रान्त त्यस्ता कार्य नदोहोर्याउने सर्तमा छोडिएको हो। ‘फेरि पनि यस्ता काममा संलग्न भएमा ५० हजार भन्दा धेरै जरिवाना लिने सहमति भएको छ’, उनले भने।
नखिपोटस्थित बुद्ध मार्ग युवा क्लबले उजुरीका आधारमा प्रहरीले राजेश शेर्पा, भारतीय नागरिक साजीत मुस्लिम, फेसल मुस्लिमलाई सातदोबाटो प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।
वातावरण सम्बन्धि मुद्धा आफ्नो मातहतमा नभएको भन्दै सातदोबाटो प्रहरीले कात्तिक १९ गते महानगरपालिकालाई बुझाएको थियो।
किन पोलियो राँगाका हड्डी र रौं ?
ललितपुरको कुम्भेश्वरमा राँगाका हड्डी संकलन केन्द्र वषौंदेखी चलिआएको छ। उक्त केन्द्रमा विभिन्न ठाउँका वधशालाबाट राँगाका हाडखोर एकैठाउँ राखेर भारत पठाउने गरिन्छ।
नेपाल राष्ट्रिय खड्गी समाजका महासचिव नन्दकिशोर शाहीका अनुसार भारतले करिब तीन सातादेखि राँगाको हड्डी निर्यातमा रोक लगाएको छ।
भारतले निर्यात रोक लगाएपछि संकलन केन्द्रमा हाडखोर राख्ने ठाउँ नपुगेपछि नख्खु खोलाको छेउमा लगेर पोलिदै आइएको थियो। उनले भने, ‘पक्राउ पर्नेहरु संकलन केन्द्रमा हड्डी अनलोड गर्ने काम गर्थे। तर केहीदिनदेखि उनीहरुलाई हड्डी पोल्ने काममा लगाइएको थियो।’
उपत्यकामा दैनिक ६ सय राँगा काटिन्छन्। यसरी काटिएका राँगाका हड्डी पाटनको कुम्भेश्वरको संकलन केन्द्रमा राखिन्छ। निर्यात ठप्प भएपछि संकलन भएका हड्डी नख्खु खोला किनारमा लगेर जलाइएको उनीहरुको भनाइ छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईका अनुसार बिहीबार र शुक्रबार बयान लिएपछि जरिवाना गरेर उनीहरुलाई छोडिएको हो।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डाक्टर नारायण श्रेष्ठका अनुसार खड्गी समाजले विगत लामो समयदेखि राँगाको हाडखोर सुकाएर हेटौंडा लैजाने गरेको छ। हेटौंडा पुरयाएपछिमात्र हड्डी भारत पठाउदै आएको थियो।
खड्गी समाजले हड्डी निर्यातका लागि वातावरण मिलाइदिन तथा व्यवस्थित नष्ट गर्न पाउनुपर्ने माग गरेको छ। पक्राउ परेका कामदार मात्र भएको महासचिव शाहीको भनाइ छ।