सुदूरपश्चिम सरकारले सीमा विवादमा कुटनीतिक पहल गर्ने
धनगढी : भारतले जारी गरेको नयाँ नक्सामा सुदूरपश्चिम प्रदेशको दार्चुलाको ब्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र विम्पीयाधुराले सबैतिर चर्चा छाएको छ । मुलुकका विभिन्न क्षेत्रमा आ-आफ्नै तरिकाले विरोध भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले भने बल्ल आफ्नो धारणा सार्वजनिक गरेको हो ।
सोमबार प्रदेश मन्त्री परिषद् बैठकले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतले आफ्नो नक्सामा राखेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सीमा विवादलाई कुटनैतिक माध्यामबाट यथासीघ्र समाधानाका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
यस्तै बैठकले कालापानीलगायत सुदूरपश्चिम प्रदेशको भारतसँग सीमा जोडिएका सीमा नाकामा आवश्यकताअनुसार प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।
बैठकले दार्चुला व्यास गाउँपालिका २ तुम्लिगंदेखि टिकंर सागेंसम्म घोरेटो बाटो संघीय सरकारको सहकार्यमा प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए।