तीन दशकपछि बंगलादेशी राष्ट्रपति आउँदै

तीन दशकपछि बंगलादेशी राष्ट्रपति आउँदै

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा आउँदै छन्। तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो।

सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो। त्यसलाई द्विपक्षीय भनिँदैन। बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गरेका थिए। अर्सदले एकदिने सद्भावना भ्रमण गरेको तत्कालीन राजदूत प्रा. मोहन लोहनीले बताए। अर्सद नदी जोड्ने परियोजनाअन्तर्गत सहकार्यका विषयमा छलफल गर्न काठमाडौं आएका थिए। परिवार र मन्त्रीसहित आएका उनले पाँच घण्टा नारायणहिटी दरबारमा बिताएका थिए। अध्ययन अगाडि बढाउने सहमतिसहित उनी फर्किएका थिए।

उनी राजा वीरेन्द्रको निम्तो स्वीकार गरी काठमाडौं आएका थिए। सोही साता वीरेन्द्रले बंगलादेशको औपचारिक भ्रमण गरेका थिए। उनी सार्क सदस्य मुलुकको राजधानी पुग्ने निर्णयअनुसार ढाका गएका थिए।

सार्क र बिम्स्टेक शिखर सम्मेलनमा बंगलादेशबाट कार्यकारी तहमै उपस्थिति छ। त्यस क्रममा साइडलाइनमा द्विपक्षीय कुराकानी हुने गरेको छ। त्यस क्रममा प्रधानमन्त्री शेख हसिना दुईपटक नेपाल आइन्। उनले सार्क र बिम्स्टेक शिखर सम्मेलनमा सहभागिता जनाइन्।

बंगलादेशसँग नेपालको अन्तक्र्रिया र सहकार्य न्यून रहेकाले उच्चस्तरीय भ्रमणको पहल भएको परराष्ट्र अधिकारीको भनाइ छ। दूरीका हिसाबले नजिक रहे पनि त्यति सहकार्य हुन नसकेको बंगलादेशमा राजदूत रहिसकेका हरिकुमार श्रेष्ठले बताए। दुवै मुलुक लामो समय राजनीतिक अस्थिरतामा रहँदा सहकार्यमा ढिलाइ भएको उनको भनाइ छ।

‘भारत र चीनपछिको निकट मित्र बंगलादेश हो। त्यसपछि बल्ल भुटान आउँछ’, उनले भने, ‘अब सहकार्यतर्फ अग्रसर हुनुपर्छ।’ यी चार मुलुकको सहकार्य बीबीआईएनलाई अगाडि बढाउनुपर्नेमा उनको जोड छ। श्रेष्ठको नेतृत्वमा बिना (भुटान, भारत, नेपालका राजदूतहरूको सहकार्य) समूहले भुटानको फुन्चोलिङ (जयगाउँ माथि) अनि नेपालको काँकडभिट्टासम्मको सडक अनुगमन गरेको थियो। त्यसमा लबिङ गरेपछि उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) को अवधारणा बनेको हो।

पाकिस्तानबाट छुट्टिएपछि बंगलादेशलाई समर्थन गर्ने आठौं मुलुक हो, नेपाल। लगत्तै नेपालसँग उसको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसले गर्दा दुई देशको सम्बन्ध ‘आत्मीय’ छ। विगतमा ‘गरिबको भूमि’ भनेर चिनिएको उक्त देश उच्च आर्थिक वृद्धि गर्नेमा पर्छ। उसको अर्थतन्त्र गत वर्ष ८ प्रतिशतले वृद्धि भएको थियो। एक दशकमा १ सय ८८ प्रतिशतले बढेको छ। भारतको वृद्धिभन्दा ११ प्रतिशत बढी हो यो। नेपालभन्दा अघि अल्प विकसित मुलुकको सूचीबाट माथि उठेको छ। नेपालले सन् २०३० को लक्ष्य लिएको छ।

बंगलादेश खाद्यान्नमा आत्मनिर्भर हुँदै छ। नेपालले बंगलादेशलाई दाल, धान, सागपातलगायत निर्यात गथ्र्यो। नेपाली दाल महँगो भएर निर्यात हुन सकेको छैन। बरु क्यानडा र अस्ट्रेलियाबाट आउँछ। ऊ आफैं पाँचौं ठूलो धान उत्पादक मुलुकमा दरिएको छ। फ्रेसवाटर माछा उत्पादनतर्फ तेस्रोमा आउने बंगलादेशले तयारी पोसाक (गार्मेन्ट)मा विश्व सञ्जाल बनाएको छ।

नेपालमा २०४६ को राजनीतिक परिवर्तनको केही समयपछि राजनीतिक संक्रमण भयो। त्यो २०७२ असोजमा आएर टुंगियो। बंगलादेश पनि राजनीतिक संक्रमणमा परेकाले द्विपक्षीय उच्चस्तरको भ्रमणमा ढिलाइ भएको परराष्ट्र अधिकारीको भनाइ छ। बंगलादेशमा १० वर्षयता केही राजनीतिक स्थिरता देखिएको छ।

यो भ्रमणमा द्विपक्षीय सम्बन्ध, राजनीति, व्यापार र क्षेत्रीय मामिलाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले यसलाई सद्भावना भ्रमण भनेकी छन्। यो स्तरको भ्रमणले नेपाल–बंगलादेश सम्बन्ध थप मजबुत हुने उनको बुझाइ छ।

यो भ्रमणमा पर्यटनसम्बन्धी केही कार्यक्रममा सहकार्य हुनेछ। आर्थिक–सांस्कृतिक सम्बन्धमा नेपाल र बंगलादेशले सहकार्य गर्न सक्ने विज्ञ बताउँछन्। नेपाली विद्यार्थी बंगलादेशमा अध्ययनरत छन् भने बंगलादेशी विद्यार्थी नेपालमा। दुवै मुलुक आन्तरिक राजनीतिक अलमलिएका कारण यसमा काम हुन नसकेको सरोकारवाला बताउँछन्।

फूलबारी–बंगलाबन्ध रुट सुरु भएपछि नेपाल र बंगलादेशबीचको व्यापारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको थियो। तर, त्यसअनुरूप सफलता मिलेन। बंगलादेशसँगको बढ्दो व्यापारघाटा चासोको विषय बनेको छ। सन् २०१६ सम्म बंगलादेश व्यापारघाटामा थियो, नेपाल नाफामा। तर, हाल बंगलादेश नाफा र नेपाल घाटामा छ। उसले गत वर्ष विश्वभरबाट साढे ५७ अर्ब डलरको वस्तु आयात गर्दा नेपालको हिस्सा १ करोड ११ लाखको मात्र थियो। ऊर्जा व्यापारका विषयमा छलफल भए पनि निष्कर्षमा पुगेको छैन। भारतको प्रसारण लाइन वा छुट्टै डेडिकेटेड लाइनबाट मात्र त्यो कार्य सम्भव छ।

दुवै देशले सार्कलाई गति दिन पहल गर्नुपर्छ। सार्क शिखर सम्मेलन पाँच वर्षदेखि हुन सकेको छैन। अन्य संयन्त्रले काम गरिरहेको भनिए पनि राजनीतिक तहमा समझदारीको छुट्टै महत्व हुन्छ। कोलकातापछि नेपालबाट जलमार्गसम्म सबैभन्दा सहज पहुँच स्थापित हुने बन्दरगाह भएको मित्र मुलुक बंगलादेश हो। दुई देशबीच ‘कनेक्टिभिटी’मा हवाईसँगै सडक मार्गमा नेपालले विशेष जोड दिनुपर्ने हुन्छ।

नेपाल र भारतबीच सीमा विवाद रहेको अवस्थामा बंगलादेशबाट सिक्नुपर्ने धारणा विज्ञको छ। उसले भारतसँग सीमा विवाद सल्टाएको विषय सिक्नुपर्ने उनीहरू बताउँछन्। हमिदले यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधि स्तरको द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उनीसँग प्रधानमन्त्री, परराष्ट्रमन्त्री र विभिन्न दलका नेताले शिष्टाचार भेट गर्नेछन्। हमिदको भ्रमण टोली ५२ सदस्यीय रहने जनाइएको छ। उनी भक्तपुर, पोखरा जाने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.