बंगलादेशी राष्ट्रपतिको चार दिने बसाइ तालिका यस्तो छ
काठमाडौं : मंगलबार काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद उच्चस्तरीय भेटवार्तासँगै पर्यटकीयस्थलको भ्रमण गर्नेछन्।
विमानस्थलबाट होटल सोल्टीमा पुगेर केहीबेर आराम गरेपछि उनी सिधै भक्तपुरको घुमघाममा निस्कने कार्यक्रम छ। राष्ट्रपति हमिदको इच्छाअनुसार मंगलबार अपरान्ह ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन्।
भक्तपुरबाट फर्किएपछि राष्ट्रपति हदिमले परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीसँग शिष्टचार भेटघाट गर्ने कार्यतालिका छ।
भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्नेछन्। सोही दिन राष्ट्रपतिले हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोजको व्यवस्था गरेकी छिन्। हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेताहरु पनि भेट्ने कार्यतालिका रहेको छ।
भ्रमणका अवसरमा बिहीबार उनी पोखरा जाने पनि कार्यतालिका छ। शुक्रबार चन्द्रागिरी केबल कारको अवलोकन गर्ने छन्। बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए। ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा छन्।