सिन्धुलीको घ्यांगलेखमा विद्युत
सिन्धुली : सिन्धुलीको विकट घ्याङलेख गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा पुगेको छ । जिल्लाका अन्य स्थानीयतहमा वर्षौं अघि राष्ट्रिय प्रशारण लाइन पुगेपनि सिन्धुली सदरमुकामसँगै जोडिएको घ्याङलेख गाउँपालिकामा भने सोमबारबाट मात्र राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा सूचारु भएको हो।
दशकौंको प्रयासपछि बल्ल विद्युत सेवा गाउँमा आएपछि गाउँपलिकाले एक भव्य कार्यक्रमको आयोजना गरेर विद्युत सेवाको उदघाटन समेत गरेको छ । गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडामा विस्तार गरिएको राष्ट्रिय प्रशारण लाइनको सोमबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्घाटन गरेर सुरु गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रको सहयोगमा गाउँपालिकाको चारवटा वडामा पहिलो चरणमा विद्युत सेवा पुरयाइएको हो। प्रमुख जिल्ला अधिकारी गौतमले कार्यक्रमको उद्घाटन गरेर उपभोक्ताको घरघरमा विद्युत बालिएको उक्त गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जनाए ।
घ्याङ्गलेखमा विद्युत विस्तार गर्न ५० करोड रुपैयाँ बढी लाग्ने अनुमान गरिएको थियो । तर, गाउँपालिकाले पहिलो चरणमा झण्डै ५ करोडको लागतमा चारवटा वडामा विद्युत सेवा पुर्याउन सफल भएको भोलनले जनाए ।
गाउँपलिकाका जनप्रतीनिधि, कर्मचारी र स्थानीय बासिन्दा निस्वार्थ भावना लिएर सुशासन र पारदर्शिता कायम गर्दै विकास निर्माणमा जुटे धेरै काम गरे देखाउँन सकिने उदाहरण विद्युत सेवा विस्तारका क्रममा देखिएको पनि उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले गाउँपालिकामा विद्युत सेवा पुग्नु भनेको विकासका थुप्रै सम्भावनाको ढोकाहरु खुलेको धारणा राखे । गाउँपालिका ५ मा अब विद्युत सेवा पुग्न बाँकी छ । उक्त वडामा पनि विद्युत सेवा विस्तारका लागि आवश्यक ९० लाख रुपैयाँको टेण्डर भइसकेको बताइएको छ ।
गाउँपालिकामा १७ किलोमिटर विद्युत प्रशारण लाइन विस्तार गरिएको अध्यक्ष भोलनले जनाए। गाउँपालिकाका बासिन्दालाई विद्युत सेवा घरमा जडान गर्न विशेष सहुलियत दिने समेत उनको भनाई छ।