'सुशासन कायम गर्ने जिम्मा उप-प्रमुखको'
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रिया, भुमिका र स्थानको विषयलाई ध्यानमा राखेर काम गर्न उपप्रमुखलाई सुझाव दिएका छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावास, उद्योग वाणिज्य महासंघ र उद्योग संगठन मोरङको सहकार्यमा स्थानीय सरकारका पदाधिकारीका लागि विराटनगरमा सुरु सुशासनसम्बन्धी तालिमको उद्धघाटन गर्दै मुख्यमन्त्री राईले आफ्नो भूमिका बुभ्न उपप्रमुखलाई सुझाए ।
'उप-प्रमुखको भूमिका के हो ? के काम गर्दा तहमा सुशासन हुन्छ ? भन्ने विषयमा जानकारी राख्नुपर्यो र नागरिकको काम के गर्दा चाँडो हुन्छ ध्यान दिनुपर्यो,' उनले भने । अझैंपनि उपप्रमुख आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा अलमलमा रहेको तर्फ संकेत गर्दै मुख्यमन्त्री राईले सुशासन कायम गर्न उपप्रमुखकै भूमिका महत्वपूर्ण हुने बताए ।
झण्डै डेढ दशकसम्म जनप्रतिनिधिबिहीन रहेका स्थानीय सरकारमा केही वर्षअघि मात्र निर्वाचित भएका जनप्रतिनिधिको क्षमता अभिवृद्धि र सुशासनको प्रबद्र्धनका लागि अमेरिकी सरकारले गरिरहेको सहयोग प्रशंसायोग्य रहेको बताए ।
उद्घाटन समारोहमा अमेरिकी राजदूतावासका निर्देशक सुलभ भट्टले नेपाल र अमेरिकाबीचको सम्बन्ध वर्षौं पूरानो रहेको बताउँदै प्रदेश र स्थानीय सरकारसँग पनि अमेरिकाको सहयोग रहने उल्लेख गरे ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सुशासन कायम गर्न स्थानीय तह र उद्योग वाणिज्य क्षेत्र सहकार्य गरे समयमा लक्षमा पुगिते धारणा राखे । तीन दिनसम्म सञ्चालन हुने तालिममा प्रदेश १ का २२ स्थानीय तहका उप-प्रमुखहरुको सहभागिता रहेको छ ।