बंगलादेशी राष्ट्रपति हमिद भक्तपुरमा (फोटो र भिडियो)
भक्तपुर : नेपालको चारदिने भ्रमणमा आएका बंगलदेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार सांस्कृतिक नगर भक्तपुर नगर पुगेका छन् ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी मंगलबार नेपाल भ्रमण आएका थिए । नेपाल भ्रमणको पहिलो दिन नै राष्ट्रपति हमिद भक्तपुर नगर पुगेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमा उनी भक्तपुर पुगेका थिए । नेपाली सेनाले सञ्चालन गर्दै आएको सैनिक आवासीय महाविद्यालयमा हेलिकप्टरबाट ओर्लेर करिब एक किलोमिटर गाडी चढेर उनी भक्तपुर दरबार क्षेत्र पुगेका हुन्।
उनको भक्तपुर दरबार क्षेत्रको भ्रमणको क्रममा नेपाली सेनाको हेलिकप्टरले स्कर्टिङ गरेको थियो । भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उनलाई स्वागत गरेका थिए ।
राष्ट्रपति हमिद विश्वसम्पदा स्थल भक्तपुर दरबार क्षेत्रबाट पैदल अर्को विश्व सम्पदा क्षेत्र टौमढी पुगेका थिए । उनको सम्मानमा भक्तपुर नपाले दरबार क्षेत्रमा यहाँको मौलिक नाच माक प्याखँ (बाँदर नाच) र टौमढीमा देवी नाच प्रदर्शन गरेको थियो ।
राष्ट्रपति हमिदको लागि टौमढीस्थित न्यू न्यातापोल क्याफेमा खाजाको व्यवस्था गरिएको थियो । त्यहीं बसेर उनले देवी नाच अवलोकन गरेका थिए । त्यस्तै मंगलबार परेको सकिमना पूर्णिमाको अवसरमा स्थानीय आकाशभैरव गुठीले भुटेको अन्न तथा गेडागुडीले बनाइएको बिस्का जात्राको प्रतीक भैरवनाथको रथ र ५५ हाते लिंगोको चित्र राष्ट्रपति हमिदले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।
उनले दरबार क्षेत्रमा बाल कलाकारहरुले प्रस्तुत गरेको माक प्याखँ अवलोकनपछि कलाकारहरुलाई उत्साहित गर्न तालीसमेत बजाएका थिए ।
भ्रमणमा क्रममा राष्ट्रपति हमिदलाई भक्तपुर नपाका प्रशासन प्रमुख दामोदर सुवालले बिफ्रिङ गरेका थिए । राष्ट्रपति हमिदले दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, वत्सला मन्दिर, सिद्धिलक्ष्मी मन्दिर र पशुपति मन्दिरको अभिरुचिपूर्वक अवलोकन गरेका थिए।
त्यस्तै टौमढी क्षेत्रका सम्पदाहरु पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको पनि अवलोकन गरेका थिए ।
मंगलबार साँझ ४ बजे भक्तपुर पुगेका उनी करिब एक घन्टा भक्तपुर बसाइपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नै काठमाडौं फर्केका थिए । भक्तपुर भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुरका सम्पदाहरुको मौलिक विशेषता र यसमा प्राकृतिक विपत्तिले परेको प्रभावबारे चासो राख्नुभएको भक्तपुर नपाका प्रशासन प्रमुख सुवालले जानकारी दिए ।
उनका अनुसार भक्तपुरका सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक सम्पदाको संरक्षणबारे समेत उनले चासो व्यक्त गरेका थिए ।
‘उहाँ (राष्ट्रपति हमिद) ले भक्तपुरको आर्थिक गतिविधि, पर्यटन, हस्तकला, परम्परागत कृषि पेसालगायतका विषयमा जिज्ञासा राख्नुभयो’, प्रशासन प्रमुख सुवालले भने, ‘भूकम्पले भक्तपुरका सम्पदामा पारेको प्रभावबारे चासो व्यक्त गर्नुभयो ।’
भक्तपुरको कलाकृति, सम्पदा एवं मौलिक नाच देखेर राष्ट्रपति हमिद प्रभावित भएको उनको भनाइ थियो ।
बंगलादेशका राष्ट्रपति हमिदको साथका उनकी श्रीमती, भौतिक पूर्वाधार सडक तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्र, नेपालका लागि बंगलादेशी राजदूतलगायतको उपस्थिति थियो ।