बेलायती मौरीविज्ञ जाजरकोटमा
जाजरकोट : जिल्लामा उत्पादन हुने मह र मौरीका विषयमा अध्ययन गर्न विदेशी मौरी विज्ञ जाजरकोट आएका छन्। नलगाड नगरपालिका–१ कल्पत उनीहरूले कृषकसँग अनुभव आदानप्रदानसँगै सीप हस्तान्तरण गरिरहेका छन्।
विभिन्न प्रजातीका रैथाने मौरीको बासस्थान र महको गुणस्तरका विषयमा अध्ययन केन्द्रित छ। बेलायतका मौरी विज्ञ रुडी रेप्का र लिडिया अनियला रेप्काले जिल्लाको नलगाड नगरपालिकाको कल्पतका मौरी किसानसँग अन्तरक्रिया गरिरहेका छन्। बेलायतका उत्कृष्ठ मौरी व्यवसायी रुडीको जोडीले जिल्लाको पाली, कल्पत र चिउरीलगायत गाउँका करिब ६० भन्दाबढी किसानसँग मौरीपालनबारे अन्तरक्रिया गरेर अनुभव आदानप्रदान गरेका छन्।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पहलमा उनीहरू अध्ययन भ्रमणका लागि जाजरकोट पुगेका हुन्। उनीहरूले मह खरिदको अभिलेखीकरण व्यवस्थापन, मह प्रशोधन विधि, मह भण्डारणमा तापक्रमको व्यवस्थापन, महमा एचएमएफ बढ्ने अबस्था र त्यसको मात्रा मिलाउने तरिका, मूल्य निर्धारण, मह लेबलिङ गर्ने तरिका र रानी मौरी उत्पादन गर्ने तरिकाका विषयमा किसानसँग छलफल गरेका छन्।
३५ वर्षदेखि सफल मौरी व्यवसायी रुडीले उत्पादन गरेको महले विश्व पुरस्कार जित्न सफल भएको छ। मेलिफेरा प्रजातिको मौरीपालन उद्योग सञ्चालन गरिरहेका ७३ वर्षीय बेलायती नागरिक रुडीले कल्पतमा रैथाने सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको वासस्थान र महको अवलोकन गरेका छन्।
जिल्लाका किसानसँग छलफलपछि सेराना मौरीसँगै कठ्यौरी र पुतुका मौरीको उपयुक्त वासस्थान भएको पाली र कल्पतको पारस्थितिकीय प्रणाली सन्तुलित रहेको मौरी विज्ञ रुडीले बताए। जिल्लामा मौरीमैत्री वातावरण बनाइराख्न तथा मौरी बचाइराख्न उनको सुझाब छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विभाग अन्तर्गत किट विकास केन्द्रका प्रमुख तथा सहसचिव हरिहर अधिकारीले जिल्लाका किसान र बेलायतका मौरी व्यवसायीबीच अनुभव आदानप्रदान गर्न पाउनु सौभाग्यको भएको बताए। सहसचिव अधिकारीले नेपालमा मौरीको सम्भावना धेरै रहेको भन्दै यहाँको महलाई विश्व बजारमा पुर्याउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए।
नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले अन्तर्राष्ट्रिय बजारको मापदण्ड पूरा गर्न सके महको बजारीकरणमा कुनै समस्या नहुने तर्क गरे। सरकारले चालु आर्थिक वर्षदेखि प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत जाजरकोटको नलगाड, भेरी, कुशे र छेडागाडलाई समेटेर मौरी जोन क्षेत्र स्थापना गरेको छ।